फरक विशेष
[फरकधार स्थलगत] निर्मला बलात्कार र हत्या प्रकरण: मृत्युपछि निर्मला र परिवारमाथि गरिएका षडयन्त्र
असोज १३, २०७५

शान्त डडेलधुरे पहाडको फेदीमा फिजारिएर बसेको कञ्चनपुर अहिले अफवाहरुले भरिएको छ ।

चोकचोकमा नयाँ हल्लाहरु जन्मिएका छन्, टायर बालेका ठाउँबाट उड्ने धुँवा र धुलोमा नयाँ हल्लाहरु फिजिरहेका छन् । कैलाली र कञ्चनपुरको सीमा गुलेरिया कटेपछि प्रत्येक चोकमा बालिएका टायको कालो दाग अझै प्रष्ट छ । सडकभर इँटा छरिएका छन्, ढुंगा, फुटेका सिसा र छरिएका बेजोडा चप्पलहरु छन् । अनि सडकमा बाक्लो उपस्थिति छ, प्रहरीको ।

चनाखो बनेर बसेका प्रहरीको हाउभाउबाट प्रष्ट हुन्छ, कञ्चनपुर अहिले शान्त छैन्, आतंकित छ । गत आइतबार १० भदौमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक महिना पुग्यो । यो एक महिना कञ्चनपुरका लागि सहज भएन । गोली, अश्रुग्याँस, लठ्ठी र प्रशासनका वाचा तथा अभियन्ताका अभियानले भरियो कञ्चनपुर । महेन्द्रनगर बजारबाट करिब साढे पाँच किलोमिटर दूरीमा छ उल्टाखाम ।

भीमदत्त नगरपालिका–२ को उल्टाखाममै छ दुर्गादेवी पन्तको घर । दुर्गादेवी पन्त अर्थात् निर्मलाकी आमा । आजभोलि दुर्गादेवी पन्तको घरमा भीड निकै बढेको छ । प्रहरी, पत्रकार तथा गाउँलेहरुले बारम्बार दुर्गालाई भेटिरहेका छन् र अनेक प्रश्न गरिरहेका छन् । यसले अशान्त कञ्चनपुरमा झन् अशान्त बनाएको छ दुर्गाको मनलाई । छोरी गुमाउनुको पीडामा अझै दुर्गाका आँखा ओभाएका छैनन् ।

र, अहिले पनि दुर्गामाथि बर्सिने प्रश्नको उत्तरमा उनको आँसु मिसिएर आउँछ । आँसुको खाटा बसिसके पनि दुर्गा छोरीका हत्यारा तथा बलात्कारी पक्राउ पर्नेछन् र आफूले न्याय पाउनेछु भन्नेमा आशाको मसिनो त्यान्द्रो झुन्ड्याएर बसेकी छिन् । यो दुर्गाको जीवनको सबैभन्दा ठूलो बज्रपात हो । २०५९ सालमा श्रीमान यज्ञराज पन्तले दोस्रो विवाह गरेपछि निर्मलासहित अन्य दुई छोरीलाई लिएर उल्टाखाम बसाइ सरेकी थिइन् । र, बनाएकी थिइन् एउटा सपना छोरीहरु ठूलो हुनेछन् र आफ्ना सपनाहरु पूरा गर्नेछन् ।

तर, १० साउन २०७५ मा दुर्गाले सँगालिराखेका जीवन सपनामाथि नमेटिने बज्रपात पर्यो । त्यो दिन दुर्गादेवी पन्तले अरु दिनभन्दा छिटो खाना तयार पारेकी थिइन् । ७ बजे खाना पकाउन भान्सामा पसेकी दुर्गाले आफूले मात्र होइन, छोरीहरुलाई पनि खाना खुवाएर ८ बजे भान्साको सबै काम सकिन् । त्यसपछि उनी निस्किइन् महाकाली पारीको भारतीय बजार जान ।

दुर्गाले दुई छाक टार्न घरमै सानो चटपट पसल चलाएकी थिइन् । त्यही पसलका लागि आवश्यक सरसामग्री किन्न उनी बनवासा जान्थिन् । महिनाको १२ सय जति कमाइ हुने पसलका लागि सामान किन्न बनवासा जाँदा उनले छोरीहरुलाई भनेकी थिइन्– बाहिर कतै नजाओ है ।

एक महिनाअघिको त्यो दिन सम्झँदै आइतबार दुर्गाले भनिन्, ‘प्रभातै बनवासा गइरईथ्या, मु आउन्ज्या दिनको १ बजिरईथ्यो ।’ बनवासाबाट फर्किएपछि उनले सुरुमै निर्मलाको खोजी गरिन् । किनकि दुर्गा नहुँदा निर्मलाले नै पसलको हेरचाह गर्थिन्, चटपट बनाएर बेच्थिन् । तर, त्यति बेला निर्मला पसलमा थिइनन्, घरमा थिइनन् ।

दुर्गालाई अर्की छोरीले भनिन्, 'निर्मला साथीको घरमा गएकी छिन् ।' त्यसपछि दुर्गा आफ्नै काममा लागिन् । माइली छोरीलाई कुर्दाकुर्दै दुर्गाको दिन बित्यो । साँझ पाँच बजेसम्म पनि निर्मला फर्किइनन् । त्यसपछि दुर्गा छोरीको खोजीमा लागिन् । निर्मला त्यो दिन झन्डै तीन किलोमिटर टाढा साथीको घरमा गएकी थिइन् । निर्मला त्यही घरमा पुगिन् ।

‘दिउँसो २ बजे नै यहाँबाट निस्किएकी हो,’ दुर्गालाई निर्मलाकी साथीले भनिन् । त्यसपछि दुर्गा निर्मलाका अरु साथीको घरमा पुगिन् । तर, निर्मलाको अत्तोपत्तो लागेन । छोरी नभेटिएपछि दुर्गाले आफन्तलाई खबर गरिन् । छिमेकी र आफन्तले केही बेर खोज्दा भेटेनन् । अरु कुनै विकल्पले काम नगरेपछि उनीहरुले प्रहरीमा खबर गर्ने निधो गरे ।

सुरुमा गाउँलेहरु मिलेर वडा नम्बर १८ को प्रहरी चौकीमा फोन गरे । प्रहरी चौकीको फोन उठेन । त्यसपछि उनीहरुले प्रहरी कन्ट्रोल रुमको १०० मा फोन गरे । फोन उठ्यो । विडम्बना ! १०० मा उठेको फोनले दुर्गा र भेला भएका छिमेकीहरुलाई झस्काइदियो । ‘दिउँसो ११ बजे गएकी छोरी खोज्न यो रातीमा फोन गर्ने हामीलाई,’ उनीहरुले पाएकाे जवाफ थियाे ।

दुर्गाले यो सुनाउँदा केही दिनअघि सरकारले बनाएको उच्चस्तरीय छानबिन समिति पनि त्यहीँ थियो । प्रहरीबाट आएको यो जवाफ दुर्गाले उद्धृत गर्दा त्यहाँ उपस्थित सबै आश्चर्यमा परे । सहयोग होला भनेर फोन गरेको प्रहरीले उल्टै थर्काएपछि दुर्गा र त्यहाँ भेला भएका छिमेकी झन् चिन्तित बने । तर, खोजी कार्य रोकिएन । दुर्गासहित छिमेकीहरु फेरि निर्मला गएको साथीको घरमा पुगे । तर, घरको गेट खुलेन । बार्दलीबाट निर्मलाकी साथीले दुर्गा जाँदा दिएकै जवाफ दिइन्– ऊ दिउँसो नै यहाँबाट गएकी हो ।

निर्मलाकी साथीको यो जवाफले दुर्गाका छरछिमेकको मनमा चिसो पस्यो । उनीहरुले प्रहरीलाई फोन गरे– निर्मला आएको घरमा हामीलाई छिर्न दिएनन् । प्रहरीले जवाफ दियो– राती ८ बजेपछि घरमा छापा हान्ने अनुमति छैन, भोलि घर सर्च गरौँला । सँगै प्रहरीको निर्देशन थियो– भोलि बिहान हराएकी किशोरीको फोटोसहित प्रहरी चौकी आउनु । प्रहरीले असहयोग गरे पनि दुर्गाहरुले छोरीको खोजी गर्न छोडेनन् । तर, निर्मला भेटिइनन् । कसैले निर्मलालाई भारततिर लग्यो कि भन्ने आशङ्का उब्जियो पन्तका छिमेकलाई ।

अनि माइती नेपालमा पनि उनीहरुले खबर गरे । भोलिपल्ट बिहानसम्म निर्मलाको कुनै अत्तोपत्तो लागेन । त्यो दिन दिउँसो वडा नम्बर २ र वडा नम्बर १८ छुट्ट्याउने महुलिया खोला किनारमा निर्मलाको साइकल भेटियो । अनि फेरि अर्को शंका जन्मियो– कतै निर्मला खोलामा त बगिनन् ? साइकल छेउमा भेटियो निर्मलाका किताब र उनले साथीको घरबाट ल्याएका अम्बा ।

निर्मलाको साइकल र किताब देखेपछि दुर्गाले सम्झिइन्, कुल देवता । अब उनमा आशाको सन्चार भयो– छोरी पनि भेटिनेछे । तर, दुर्गाको यो आशा निराशामा परिणत भयो । निर्मलाको शव भेटियो । त्यसपछि बग्न थालेका दुर्गाका आँसु अझै रोकिएका छैनन् । त्यसमाथि अनुसन्धानमा प्रहरीले गरेको लापरवाहीले निर्मलाकी आमालाई झन् दुखी बनाएको छ । र, यो अनुसन्धान प्रक्रिया रहस्यले भरिएको छ । 

रहस्यका शृङ्खला

साउन ११ गते जुन ठाउँमा निर्मलाको साइकल र किताब भेटिए, त्यही बाटोमा अघिल्लो रात पन्त परिवार र छिमेकले टर्च बालेर निर्मला भेटिइन्छिन् कि भनेर खोजेका थिए । तर, ११ बजेसम्म त्यो ठाउँमा केही थिएन ।

न साइकल थियाे न किताब ।

अम्बाका दाना त झन् हुने कुरै भएन । उखुबारीको एक सय ५० मिटरभित्र सिसमको रुखसँगै ११ साउनमा निर्मलाको शव भेटियो । त्यहाँ घुँडासम्म पुग्ने पानी र हिलो थियो र अहिले पनि छ ।

तर, निर्मलाको शवको पछाडि भाग भिजेको थिएन, हिलो लागेको थिएन । छोरीको शव भेटिएपछि दुर्गा विक्षिप्त बनिन् । १० साउनको झरीले दुर्गाको जीवनको एउटा महत्वपूर्ण अङ्ग बगायो, महुलिया खोलाको बाढीले दुर्गाको परिवारको खाँबो बगायो । तर, यो सब हुँदा पनि प्रहरीले खासै चासो दिएन । पन्त परिवार र छिमेकको दबाबले प्रहरीले ११ गते निर्मला पन्त गएको साथीको घरमा छापा हान्ने पुर्जी जारी गर्यो ।

जिल्ला प्रशासन कार्यालयको लेटरप्याडमा जारी गरिएको पुर्जीसहित सादा पोशाकका प्रहरी निर्मलाकी साथीको घरमा पुगे । तर, उनीहरुले दुर्गा र अन्यलाई घरभित्र जान दिएनन् । भित्र खानतलासी गर्न गएको प्रहरी रित्तो हात बाहिर निस्कियो । त्यसपछि त्यो घरमा असइको नेतृत्वमा सुरक्षा दस्ता खटियो । अब प्रहरी निर्मला पन्तको हत्यारा खोज्न लागेको थियो ।

प्रहरीले सोधपुछका लागि भन्दै ३ युवालाई पक्राउ गर्यो । तर, ती कोही निर्मलाका हत्यारा थिएनन् । निर्मलाको शव भेटिएको ठाउँमा प्रहरीले मुचुल्का उठाउने काम गरेन । उसले खोला छेउमा भेटिएका तीन फरकफरक पाइलाबारे पनि बेवास्ता गर्यो । प्रहरीले निर्मलाको शव भेटिएको ठाउँमा बेवास्ता गरेपछि स्थानीयवासी सहजै त्यहाँ पुगे, फोटो खिचे र सामाजिक सन्जालमा राखे । यसले प्रहरीलाई खासै मतलब भएन । प्रहरीले निर्मलाका हत्यारा छानबिन गर्न कुनै चासो देखाएन । उल्टै उसले पीडित पक्षलाई हप्कायो ।

रहस्यमयी निर्मलाकी साथीको घर

निर्मला १० साउनमा सँगै पढ्ने साथी रोशनी बमको घर गएकी थिइन । रोशनीको घर वडा नम्बर १८ मा पर्छ । निर्मलाको २ मा । यी दुई वडालाई महुलिया खोलाले सीमा छुट्ट्याएको छ । र, निर्मला र रोशनीको घरबीच करिब ३ किलोमिटरको दूरी छ । निर्मला ११ बजे ९ कक्षाको विज्ञान किताब र नोट कपी बोकेर रोशनीको घरमा पुगेकी थिइन् ।

रोशनी दिदी बबिता (बबिताका अरु दुई नाम पनि छन्– अनिता र आँचल) सँग घरमा बस्थिन् । रोशनीका बुबा र आमा दुवै कञ्चनपुर बाहिर बस्छन् । रोशनीका बुबा माध्यमिक विद्यालयका शिक्षक हुन् भने आमा वडा सचिव ।

रोशनीका बुबाका अनुसार उनीहरु छोरीलाई भेट्न वर्षमा दुई–तीन पटकमात्र कञ्चनपुर आउने गर्थे । रोशनीका दाइ कोहलपुरतिर व्यापार गर्छन् । उनी पनि कञ्चनपुर खासै जाँदैनथे । बम परिवारले २०६० सालमा १ कठ्ठा जमीन किनेर यो घर बनाएको थियो । घर बनाएको ११ वर्षपछि २०७१ सालदेखि दुई छोरीलाई घरमा उनीहरुले एक्लै छोडेका थिए ।

खोला किनारमा निर्मलाको साइकल र किताबसँगै भेटिएका अम्बाका दाना यही घरको कम्पाउन्डभित्रको रुखबाट लगिएको थियो । तर, १७ साउनमा बम परिवारले अम्बाको रुख काट्यो । त्यसपछि घर वरपर स्थानीयले झन् चर्को विद्रोह गर्न थाले । स्थानीयले घरमा प्रहार गरेका ढुंगाका कारण घरका झ्यालका सिसा फुटेका छन् । तर, प्रहरीले सुरुमा किन यो घरमाथि छानबिन गरेन ? ‘त्यो त भगवानले जानून्,’ रोशनीकी आमाले भनिन्, ‘पछि हामीलाई सुरक्षा चुनौति भएपछि चाहिँ प्रहरीले आएर सुरक्षा दिएको हो ।’

१० साउनमा निर्मलाकी आमा दुर्गा छोरीलाई खोज्दै आएको कुरा बबिताले दार्चुला रहेकी आमालाई फोनमा भनेकी थिइन् । ‘छोरी हराएकी भए पुलिसलाई खबर गर, मेरो घरमा नआउ भन,’ रोशनीकी आमाले छोरीलाई भनेकी थिइन् । आमा छोरीबीच भएको कुराकानीको कल डिटेल्स प्रहरीले लिएको बताएको छ । तर, यो सार्वजनिक भएको छैन । स्थानीयले चाहिँ प्रहरीले बम दिदीबहिनी र घरबारे राम्रोसँग अनुसन्धान नगरेको आरोप लगाउँदै आएका छन् ।  

प्रहरीका दबाव

निर्मला पन्तको बलात्कार पछि हत्या भइसकेको थियो । उखुबारीमा शव भेटिएपछि उनको शव महाकाली अञ्चल अस्पतालमा राखियो । तर, निर्मलाका बुबा यज्ञराज पन्तलाई यो घटनाबारे कुनै जानकारी दिइएको थिएन ।

दोस्रो विवाह गरेर कञ्चनपुरकै भाँसीमा बस्दै आएका यज्ञराज त्यति बेला भारत गएका थिए । निर्मलाको शव भेटिएपछि उनलाई छोरी गम्भीर बिरामी भएको भन्दै भारतबाट फिर्ता बोलाइयो । १२ गते बिहान उनी सोझै अञ्चल अस्पताल पुगे । अनि बल्ल आफन्तले उनलाई छोरीमाथि भएका सबै घटना सुनाइयो । त्यसपछि यज्ञराज रनभुल्लमा परे ।

उनलाई आफन्तले सल्लाह दिए– छोरीका हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने । तर, कञ्चनपुर प्रहरी यो पक्षमा थिएन । प्रहरी र प्रशासनले यज्ञराजलाई छोरीको शव बुझ्न दबाब दिन थाल्यो । तर, यज्ञराज टसको मस भएनन् । त्यसपछि भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टलाई प्रयोग गरियो । मेयर विष्टले डोटीका निर्मलाका मामा तीर्थराज भण्डारीलाई प्रयोग गरे ।

लामो दबाबपछि भण्डारीले यज्ञराजलाई भने– शव बुझ्नुभएन भने तपाईं नै अप्ठ्यारोमा पर्नुहुन्छ भिनाजु ! पन्तलाई जिल्ला प्रशासनमा बोलाएर भण्डारीलाई यस्तो भन्न लगाइएको थियो । भण्डारीले यसो भन्दा नगरपालिकाका मेयर, एसपी र सिडिओ नै त्यहाँ थिए । आफ्नै सालाले पनि धम्की दिएपछि यज्ञराज पन्त जिल्ला प्रशासनबाट बाहिरिए । साँझ परिसकेको थियो । जिल्ला प्रशासन कार्यालय (जिप्रका) बन्द भइसकेको थियो । पन्त परिवार जिप्रकाबाट बाहिरिँदै थियो । पन्त गेटमै के पुगेका थिए, कसैले पछाडिबाट उनको कठालो समात्यो ।

उनी मोडिएर हेरे । इन्स्पेक्टर एकेन्द्र बहादुर खड्का रहेछन् । एकेन्द्रले पन्तलाई भने– भित्र एसपी साबले बोलाउनु भएको छ । त्यहाँ पनि पन्तलाई निर्मलाको शव बुझ्न दबाब दिइयो । दबाब बढ्दै गएपछि पन्त आफ्नो घरमा बस्न छाडेर दाइको घरमा जान थाले । दाइको घरमा पनि प्रहरी आउने र दबाब दिन थालपछि उनी कञ्चनपुरको तरकारी बजारमा रहेको साथीको घरमा गएर बस्न थाले । निर्मलाको शव नबुझे पूरै पन्त परिवारलाई जेल हाल्ने धम्की प्रहरीले दिइसकेको थियो । पन्त तरकारीबजार बस्न थालेपछि प्रहरीले उनलाई पछ्याउन थाल्यो ।

तरकारी बजारमा पन्तलाई भेटेपछि प्रहरीले भन्यो– तपाईंलाई सुरक्षा चाहिन्छ, हामीसँग हिँड्नुहोस् । त्यो दिन प्रशासन कार्यालयबाट निर्मलाकी आमा र दिदी पनि घर फर्किँदै थिए । उनीहरुलाई पनि प्रहरीले बाटोमा रोक्यो र भन्यो– तपाईंहरुलाई सुरक्षा चाहिन्छ, हामीसँग हिँड्नुहोस् । तरकारीबजारबाट पन्त र बाटोबाट पन्तकी श्रीमती र छोरीलाई लिएर प्रहरी भ्यान जिल्ला प्रशासन कार्यालय नै पुग्यो ।

त्यसपछि त्यहाँ एसपी डिल्लीराज विष्ट (जो अहिले निलम्बनमा परिसकेका छन्)ले भने– तपाईंहरुले त छोरीको सद्गत गर्नु पर्ने, उसको आत्मालाई शान्ति दिनु पर्ने तर ? एसपीका कुरा पनि मानेनन् पन्त परिवारले । त्यसपछि एसपी विष्टले धम्कीपूर्ण भाषा प्रयो गरे– म यहाँको लोकल मान्छे पनि हो, यतिका दिन भइसक्यो तर पनि मैले तपाईंलाई केही गरेको छैन, मसँग कति पावर छ, त्यो मलाई मात्रै थाह छ । उनले थपे, ‘भोलि बिहानसम्म लाश बुझ्नु भएन भने भोलिदेखि कफ्र्यू लगाउँछु, आन्दोलनकारीलाई गोली ठोक्छु, त्यसको जिम्मेवार तपाईं हुनुपर्छ ।’

कफ्र्यू लाग्ने, आन्दोलनकारीलाई गोली ठोक्ने कुरा गरेपछि पन्त परिवार डरायो । अनि यज्ञराजले शव बुझे सहमति पत्रमा हस्ताक्षर गरे । यो सम्झौता पत्र सादा कागजमा लेखियो, त्यसैमा यज्ञराजलाई हस्ताक्षर गर्न लगाइयो । सहमति पत्रको बुँदामा लेखिएको छ, ‘मृतकको अन्तिम संस्कारका लागि भोलि मिति २०७५/१०/१४ का दिन बिहान ५ः०० बजे आफन्तजन महाकाली अंचल अस्पतालमा उपस्थित भई बिहान ६ः०० बजे भित्र अन्तिम संस्कारका लागि घाटतिर लैजाने ।’

यो बुँदा पढेपछि पन्तले भने, ‘पाँच बजे नै कसरी सम्भव हुन्छ ? मलामी चाहिन्छन्, छिमेक चाहिन्छन् ।’ प्रहरीले उनलाई जवाफ दियो– कति जना मलामी चाहिए ? हामी उपलब्ध गराऔँला । यो सहमति राती ११ बजे गरिएको थियो । त्यसपछि प्रहरीकै गाडीले पन्त परिवारलाई घरसम्म छोडिदियो । त्यो रातभर केही प्रहरी पन्तको घरबाहिर बसे ।

बिहान पाँच बजे उनीहरुले नै पन्त परिवारलाई उठाए, निर्मलाको शव राखिएको अञ्चल अस्पताल पुर्याए । निर्मलाको शव अस्पतालबाट बाहिर ननिकाल्दासम्म प्रहरीले पन्त परिवारसँगै बस्यो । अघिल्लो रात भएको सम्झौतामा लेखिएको थियो– अन्तिम संस्कारको क्रममा हुने शव यात्रामा सुरक्षा निकायले प्रभावकारी सुरक्षाको व्यवस्था मिलाउने, मृतकका आफन्तलाई अवान्छित व्यक्तिहरुबाट विभिन्न खालका धम्की आइरहेको भन्ने सुन्नमा आइरहेकाले त्यस्ता तत्वहरुको खोजी गरि कानुनी कारबाही गर्ने र मृतकका परिवारको आवश्यकता अनुसारको सुरक्षा प्रबन्ध स्थानीय प्रशासनले मिलाउने ।

यो सम्झौता पत्रमा हस्ताक्षर गरे पनि यज्ञराज पन्त अचम्ममा परेका थिए । किनकि त्यति बेलासम्म उनलाई धम्की आएको नै प्रहरीबाट थियो ।

 

सुरुदेखि नै छलछाम

एकातिर निर्मलाको शव परिवारलाई बुझाउन र अन्तिम दाहसंस्कार गर्न प्रहरी र प्रशासनले दबाब दिइरहेको थियो भने अर्कोतिर यो घटनामाथि एसपी विष्टले छलछाम सुरु गरिसकेका थिए । उनले निर्मलाको शव भेटिएको दिन नै ३ जनाले सामूहिक बलात्कार गरेर निर्मलाको हत्या गरेको बताएका थिए । तर, शव बुझ्ने सम्झौता पत्रमा बलात्कारको विषयमा केही उल्लेख गरिएको छैन । जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयले अहिलेसम्म निर्मला बलात्कार पछि हत्याकाण्डबारे जारी गरेका विभिन्न पत्रमा हत्या र मृत्यु शब्दमात्र प्रयोग भएका छन्, बलात्कारबारे सबै मौन छन् ।

८ भदौमा रोशनी बम र बबिता बमको नाममा जारी गरिएको पक्राउ पुर्जीमा चाहिँ करणी शब्द प्रयोग गरिएको छ । त्यो पक्राउ पुर्जीमा रोशनी बमकी दिदी बबिताको नाम स्पष्ट लेखिएको छैन, बबिताको नागरिकतामा भएअनुसारको नाम आँचल बम कतै उल्लेख गरिएको छैन । खैर, बम दिदीबहिनी अनुसन्धानका लागि पक्राउ परिसकेका छन् र अहिले प्रहरी नियन्त्रणमा नै छन् ।

एकातिर प्रहरीले बम दिदीबहिनी र घरप्रति सदासयता देखाएको प्रष्ट छ भने अर्कोतिर उनीहरुमाथि छानबिन होस् भन्ने यज्ञराज पन्तको मागलाई पनि बारम्बार पहिले इग्नोर गरिएको थियो । काठमाडौंबाट गएको सिबिआई अधिकारीलाई यज्ञराज पन्तले बमको घरबारे अनुसन्धान गर्न आग्रह गर्दा उनले जवाफ पाउने गरेका थिए– बाबुले छोरीको बलात्कार गरेको कहिल्यै सुन्नुभएको छ र ? ११ साउनमा निर्मलाको साइकल भेटिएपछि सो स्थानमा पुगेकी बबिताले प्रहरीलाई भनेकी थिइन्– साइकल यहाँ छ भने लाश पनि यतै त होला ।

तर, प्रहरीले बबिताको यो भनाइलाई बेवास्ता गर्यो । तत्कालीन एसपी विष्टले पनि बम दिदीबहिनलाई सोधपुछ गर्दा धेरै दुःख नदिनु भन्ने आदेश आफ्ना जवानलाई दिएको उनकै कार्यालयका कर्मचारी बताउँछन् । त्यसैले पनि बम दिदीबहिनीसँग सोधपुछमा र अन्य कुराकानीमा प्रहरीले आइस्योस्, गइस्योस्, मैसापलगायतका उच्च आदारार्थी शब्द प्रयोग गरेका थिए ।

निर्मलाको शव भेटिएको ठाउँमा पहिले किताब, साइकल र अम्बामात्र भेटिएको थियो । तर, त्यसको २६ दिनपछि ४ भदौमा त्यही ठाउँमा कन्डमको खोल र च्यातिएको कपडाको टुक्रा भेटियो । अर्कोतिर सुरुमा पक्राउ परेका तिनै जनालाई छोडियो । र, प्रहरीले ४ भदौमा नै दिलिपसिंह विष्टलाई अपराधी भनेर सार्वजनिक गर्यो । पहिले सामूहिक बलात्कार भएको निष्कर्ष निकालेका एसपी विष्टले नै त्यसपछि दिलिपलाई मात्र अभियुक्त बनाए । प्रत्येक दिनजसो पन्त परिवारसँग सम्पर्कमा रहेको प्रहरीले दिलिपलाई सावजनिक गर्दा पन्त परिवारलाई बोलाएन ।

प्रहरीको यो छलछाम हो भन्ने निष्कर्ष निकालेर पन्त परिवार र स्थानीय अब आक्रोशित बन्न थाले ।  

कसरी पक्राउ गरियो दिलिप विष्टलाई ?

दिलिपलाई अपराधी बनाउने हेतुले प्रहरी पहिले नै दिलिपको घरमा पुगेको थियो । बाघपाटास्थित उनको घरमा नासपातीको बोट छ । त्यही नासपाती खाने निहुँ बनाएर प्रहरी त्यहाँ पुगेको थियो । सादा पोशाकमा पुगेका प्रहरीले दिलिपको घरमा आफूहरु धनगढीबाट जग्गा हेर्न आएको बताए र नासपाती खान खोजेको बताए । उनीहरुले त्यहाँ ४ किलो नासपाती पनि किने ।

केही प्रहरीले घर अगाडि नासपाती किने भने केही पछाडि गएर दिलिपको सर्ट सुकाएको ठाउँबाट सर्टको गोजी च्याते । त्यही सर्टको गोजीलाई घटनास्थलमा लगेर फालेको र त्यसलाई नै दिलिपलाई अभियुक्त प्रमाणित गर्न प्रयोग गरेको दिलिपको परिवार र स्थानीयले आरोप लगाएका छन् । त्यही दिन बिहान प्रहरीले यज्ञराज पन्तलाई प्रहरी कार्यालय बोलाएको थियो । प्रहरीले उनलाई अपराधी पक्रिएको भन्दै दिलिपको नाममा किटानी जाहेरी दिन लगायो । प्रहरीको अनुरोधलाई यज्ञराजले अस्वीकार गरे । प्रहरीले त्यहाँ अभियुक्त बनाएर उभ्याएको दिलिपको बयान यज्ञराजलाई सुनायो ।

दिलिपको भाषामा प्रहरीले सुनाएको त्यो बयान थियो– साँझपख म त्यही बाटो जाँदै थिएँ । अगाडि अगाडि एउटा केटी साइकलमा जाँदै थिई, अलिक अगाडी पुगेपछि साइकलको चेन फुस्कियो, चेन फुस्किएपछि केटीले पछाडी हेरि, उसले पछाडी हेर्ने वित्तिकै मलाई देखि । त्यहाँ अरु कोही थिएन । अनि उसले मलाई चेन हालिदिनु न भनि । मैल साइकलको चेन राखिदिएँ । मैले बहिनी ह्यान्डल पनि बाङ्गो रहेछ भनेर ह्यान्डल सिधा गर्न थालेँ । त्यतिबेला उसको जिउसँग मेरो जिउ छोयो । मेरो होस उड्यो । मलाई अर्कै अनुभव भयो । अनि मैले त्यो साईकल खोलामा फालेँ । त्यसपछि म साइकल उठाउन पानीमा गएँ, पानीमा मैले साईकल उठाएको बाहाना गरेँ र बहिनी तिमी पनि आउ न भनेँ । ऊ आएपछि मैले बोकेर खोलापारी पुर्याएँ । ऊ ममी ममी भनेर चिच्याउन थाली । मैले उसको मुख च्यापेँ र उसलाई भुइँमा सुताएर करणी गरेँ । मैले पहिले कराँते खेलेको थिएँ, उसलाई मैले घाँटीमा थिचेँ । त्यसपछि उसले हलचल केही गरिनँ । ऊ मरेकी थिई या थिईन मलाई थाह छैन, त्यसपछि मैले उसलाई बोकेर पर सिसमको रुखनेर लगेर फालेँ र उसको सुरुवालको खल्तीबाट २० रुपैँया झिके, त्यो पैसाको मैले पुकार (गुटखा) किनेर खाएँ ।

 प्रहरीले पन्तलाई दिलिपसिंहको बयान त सुनायो तर उनको नाम भनेको थिएन । पन्तले किटानी जाहेरी दिन नमानेपछि प्रहरीले पन्तलाई घटनास्थलमा लग्यो । अनि त्यहाँ च्यातिएको सर्टको गोजी र कण्डमको प्याकेट देखायो । लगातार परिरहेको झरीमा पनि सर्टको गोजी ओभानै थियो, कण्डमको खोलमा माटो लागेको थिएन । यतिका दिनसम्म नभेटिएको प्रमाण प्रहरीले घटना भएको २६ औँ दिनमा घटनास्थल पुगेको दुई मिनेटमै फेला पार्यो ।

घटना भएको २६ औँ दिनमा प्रहरीले घटनास्थलमा अचानक भेटिएका कण्डम र सर्टको गोजीको मुचुल्का उठायो र यज्ञराज पन्तलाई हस्ताक्षर गर्न लगायो ।

अपराधी भनिएका दिलिप विष्टले दिएको बयानमा निर्मलाको सुरुवालको खल्तीबाट २० रुपैयाँ निकालेको भनिएको छ । तर, निर्मलाकी आमा दुर्गा र दिदी मनिषाका अनुसार निर्मलाले त्यो दिन लगाएको सुरुवालमा गोजी नै थिएन । प्रहरीले त्यसरी अचानक अपराधीको प्रमाण भेटाउँदा निर्मलाको एउटा चप्पल र उनको चस्मा भेटिएको छैन ।

प्रहरीले पन्तलाई सुनाएको बयान अनुसार विष्टले खोला तारेर निर्मलाई भुईमा पछारेका छन् । तर निर्मलाको पछिल्लो भागमा कतै पनि हिलो लागेको छैन । उनको शरिरको पछिल्लो भाग सुख्खा थियो । यसमा किन शंका उब्जियो भने बलात्कारको घटनामा अस्थाई साधन कण्डम प्रयोग गरिएको प्रमाण देखाउँदा प्रहरीले अलिकति पनि विवेक प्रयोग गरेन ।

अपराधी भनिएका दिलिप विष्ट मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन । स्थानीयका अनुसार उनी साइकलको घण्टीको आवाज सुन्दासमेत तर्सिएर भाग्ने गर्थे । प्रहरीले उनलाई पक्राउ गरेर उनीमाथि थप अनुसन्धान गर्न र उपचार गर्न १२ भदौमा काठमाडौं त्रिभुवन शिक्षण अस्पतालमा ल्याइसकेको छ ।  

 

स्थानीयवासी भन्छन्– यो घटना चानचुने हाेइन

दुर्गा पन्तका छिमेकी तथा भूतपूर्व सेना मोतीबहादुर नेपाल

११ गते हामी बम दिदीबहिनीको घरमा पुग्दा दुईजना प्रहरी र एकजना शिक्षक बम परिवारको घरमाथि थिए । उहाँहरुले छतबाटै मृतककी आमा (दुर्गा पन्त)लाई तपाईंहरु भित्र नआउनुहोस है भने । मैले ठिकै छ, हामी आउँदैनौँ तर निर्मलाकी साथीलाई यहाँ पठाइदिनुस् न भनेँ । रोशनी गेटमा आइ । मैले उसलाई सोधेँ– नानी तिम्रो साथी खोइ ? उसले आनकानी गरि । मैले दोहोर्याएर सोधेँ ।

उसले भनि– मैले त हिजो होइन, अस्ती बोलाएको हो । अनि मैले फेरि भनेँ– तिम्रो साथी हराएकी छे, कहाँ गइ, तिमीलाई थाहा छ ? उसले भनि– ऊ यहाँ आएपछि हामीले लेख्यौँ, होमवर्क गर्यौँ, अम्बा खायौँ, खेल्यौँ अनि ऊ २ बजेतिर गइ । ‘कता गइ त नि ?’ मैले सोधेँ । मेरो यो वाक्य पूरा भएकै थिइन्, घरभित्रबाट ठूली (बबिता) आइ र भनि– तँ सोध्ने को होस् ? मैले हप्काएँ– के भन्यौ नानी ? उसले भनी– तैँले के गर्ने होस् र ? त्यतिबेलासम्म इन्स्पेक्टर पनि बाहिर आइसकेका थिए ।

उनले भने– हैन, हैन.. बच्चाहरु बोल्न जान्दैनन । उनले रोशनी र बबिता दुवैलाई भित्र पठाए । अनि हामी साइकल भेटिएको किनारमा गयौँ । त्यहाँ खोलापारि बालुवामा तीन वटा पाइला थिए । हामी पनि खोलापारि गयौँ । त्यहाँ मैले एसपी साबलाई सोधेँ– अब यो घटनालाई कसरी अनुसन्धान गर्नुहुन्छ त ? उहाँ झर्किनुभयो– नेपाल प्रहरीलाई अनुसन्धान कसरी गर्ने सिकाउनु पर्दैन ।

त्यसपछि हामी उखुबारीभित्र पस्यौँ । त्यहाँ सिसमको बोट नजिकै निर्मलाको शव भेटियो । ऊ घोप्टो मुखमा थिइ, आधा शरिरमा कुनै कपडा थिएन । लाशमा झिंगा थिएन, माटो थिएन । मलाई लाग्छ एकजना व्यक्तिले त्यो घटना गर्न असम्भव छ । तालिम प्राप्त व्यक्तिलाई नै पनि त्यो घटना गर्न असम्भव छ । हुन त अपराधीले दिएको भनिएको बयानमा विभिन्न कुरा छन तर, किनारामा भेटिएका किताब भने दुरुस्तै मिलाईएका थिए । किताबहरुमा कुनै ड्यामेज थिएन । र, जहाँ निर्मलाको शव भेटिएको छ, त्यहाँ वरिपरि कुनै पनि उखुको बोट या पात भाँचिएको थिएन । त्यसपछि मैले डिएसपी साप (ज्ञान बहादुर सेटी)लाई भनेँ– त्यहाँबाट दिशा खुलेको छैन सर ।

उहाँले भन्नुभयो, ‘४ बजे साइकल फेला पर्छ । त्यसमाथि उसको (निर्मला) घर नजिकै छ । अपराधीले कुनै बोरामा लाश प्याक गर्नुपर्ने अलि टाढा फाल्नुपर्ने, नभए यही खोलामा फाल्नुपर्ने । लाश जस्तो कुरा केही साधन युज गरेर लैजानुपर्ने, यस्तो अप्ठेरो बाटोमा किन गयो होला र ?    

 

रविन्द्र तिवारी, वडा नं २ 

घटना भएको थाहा पाएपछि मैले मेयर साप, डिएसपी साप र सिडिओ सापलाई जनतलाई शान्ति सुरक्षा चाहियो भनेँ । उहाँहरुलाई एक पटक भए पनि पीडितको घरमा आइदिन अनुरोध गरेँ । प्रतिबद्धता जारी गनुपर्यो भनेँ ।

मेरो कुरा सुनेर मेयर सापले, ‘हुन्छ, जानुस् तपाईंहरु,’ भन्नुभएको थियो । मैले इन्सपेक्टर जगदीश भट्टलाई पनि सर लाश भेटिएको क्षेत्र शिल गर्नुहोस, त्यहाँ सर्वसाधारणको घुँइचो लाग्न थाल्यो भनेको थिएँ । तर, उहाँले यो कुरा सुन्नु भएन । मान्छेहरु धेरै गए, प्रमाण नष्ट हुँदै गयो । निर्मलाको अन्त्येष्टी गर्ने दिनमा पनि स्थानीय महिलाले अपराधीलाई कारवाही होस् भन्दा एकेन्द्र खड्का रिसाए र भने– ल, तपाईंहरु नै राख्नुहोस् तपाईंहरुको शव । त्यसपछि म घटनास्थलबाट करिब २ सय मिटर अगाडी रहेको जगदीश भट्टको घरमा गए । मैले उहाँलाई ‘ए हजुर के गर्दै हुनुन्छ ?’ मात्र के भनेको थिएँ, उहाँले भन्नुभयो– जानुस न यार, तपाईको डिमान्ड के हो ? भन्नुभयो ।

यही कुरा लिएर म सिडिओ अफिस पनि पुगेँ । त्यहाँ इन्स्पेक्टर एकेन्द्र बहादुर खड्काले आक्रोशित हुँदै ‘म आएको छु नि यहाँ, केही हुँदैन ।’ भन्नुभयो । सिडिओ कार्यालयमै मलाई मेयरले ‘तिमी किन याँ आएको ।’ भनेर पनि थर्काए ।

यो पनि नछुटाउनुहोस्