तामझामसाथ सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम, होला त फलदायी ?

काठमाडौं– ‘केपी ओली जिन्दावाद, प्रधानमन्त्री जिन्दावाद !’

राष्ट्रिय सभागृह बाहिरको चौरमा नारा घन्किरहेछ । सभागृहको भिआइपी गेटमा फूलको गुच्छा लिएर उभिएका छन्, श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट ।

मन्त्री विष्टलाई साथ दिँदै छन्, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य । नजिकै खैरो सुटमा सजिएका भिआइपीका सुरक्षा गार्डहरु इयरफोनमा खुसखुस गर्दै छन् । सभाहगृहको गेटमा ठूलो भिड प्रधानमन्त्रीको प्रतीक्षामा व्यग्र छ । 

सभागृह अगाडिको सडक किनारको भिड छिचोल्दै, साइरन बजाउँदै कार्गेट मोटरसाइकल गेटभित्र पस्छ । प्रहरीका दुई भ्यानसँगै भित्रिन्छ, प्रधानमन्त्री केपी शर्मा ओलीको गाडी ।



प्रधानमन्त्रीको आगमनसँगै ‘प्रधानमन्त्री जिन्दावाद र केपी ओली जिन्दावाद’को नारा चर्किन्छ । प्रधानमन्त्री गाडीबाट झरेसँगै पञ्चेबाजाको धुनले वातावरण गुञ्जायमान हुन्छ । ठूलो भिडसहित प्रधानमन्त्री सामाजिक सुरक्षा मन्त्री र मेयरसँगै हल छिर्छन् । 



त्यसपछि भिड सोझिन्छ, सभाहलभित्रका दृश्य देखाउन बाहिर राखिएको स्क्रिनतिर । प्रधानमन्त्रीलाई स्क्रिनमा देखेपछि मानिसहरु ताली बजाउन थाल्छन् ।

यो दृश्य हो, आजदेखि सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटनको । सरकारले नेपाली इतिहासमा पहिलोटक रोजगार कार्यक्रम गर्न लागिएको भन्दै कार्यक्रमको व्यापक प्रचार गरेको थियो । सभागृहको परिधिदेखि प्रदर्शनीमार्गको बाटोसम्म सर्वत्र कार्यक्रमका पोस्टर देखिन्थे । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको कार्यक्रम १ बजे सुरु हुने भनिएकोमा झन्डै एक घन्टा ढिलो सुरु भयो । कार्यक्रमस्थलमा युवा संघ नेपालले उक्त कार्यक्रम सुरुवात गरेकोमा स्वागत तथा आभार व्यक्त गरेका ब्यानर देखिए । 

भर्खरै शपथ लिएका प्रदेश सांसद दीपक मनाङे पनि सभागृह पुगेका थिए । तर, अत्यधिक भिड देखेपछि उनी सभाहलभित्र प्रवेश नगरिकनै बाहिरिए । उपत्यकाका सबैजसो स्थानीय जनप्रतिनिधि कार्यक्रममा उपस्थित थिए ।

हलबाहिर भेटिएकी चन्द्रागिरि नगरपालिकाकी एक वडा सदस्यले कार्यक्रम राम्रो भएकाले सहभागिता जनाउन आएको बताइन् । ‘यसको विषयमा केही दिनअघि वडा कार्यालयमा पनि जनप्रतिनिधि बोलाएर छलफल भएको थियो,’ उनले भनिन्, ‘बेरोजगारलाई सबैभन्दा पहिले वडा कार्यालयबाट नै रोजगारीको लागि फर्म भराउने कुरा छ ।’  कार्यक्रम हेर्न आएका थुप्रै विद्यार्थी नेता, कार्यकर्ता हल छिर्न नपाएर बाहिर स्क्रिनअगाडि झुम्मिएका थिए । 

भारी तामझामसाथ सुरु गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ले बेरोजगार युवामा ठूलै आस देखाएकाे छ । तर, विश्लेषकहरु भने योजनाले ठोस परिणाम दिनेमा ढुक्क छैनन् । यसअघि ‘हाई ब्रान्डिङ’सहित सुरु भएको सामाजिक सुरक्षा योजनाजस्तै याे पनि प्रगतिहीन हुने त हाेइन ? राष्ट्रिय राजनीतिका जानकारहरु शंका गर्छन् ।

  • प्रकाशित मिति : फागुन १, २०७५ बुधबार २१:५०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया