विश्व टेलिभिजन दिवस
कमजोर विषयवस्तु र योजनाबिना लगानी गर्दा टेलिभिजनको लोकप्रियता घट्यो : कुन्दन अर्याल

हरेक वर्षको २१ नोभेम्बरमा विश्व टेलिभिजन दिवस मनाइन्छ । यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व टेलिभिजन दिवस नेपालमा पनि मनाइँदै छ । 

१७ माघ २०४१ मा नेपाल टेलिभिजन स्थापना भएको थियो । तर, विश्वमा सन् १९३० को दशकमा प्रशारण सुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रूपमा लिइन्छ । टेलिभिजन सुरुवात २ नोभेम्बरदेखि भएको पाइन्छ ।

सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भएको थियो । विश्वका धेरै देशमा ब्ल्याक इन ह्वाइट टेलिभिजन सुरुवात भयो । तर, नेपालमा ब्ल्याक इन हवाइट नभएर सिधै रंगीन टेलिभिजनको सुरुवात भयो । 

नेपालमा सन् १९७० ताका टेलिभिजन सेटहरू भित्रिएको पाइन्छ । नेपालमा नयाँ प्रविधि भएकाले दर्शक आकर्षण गर्ने कार्यक्रमहरू नभए पनि दर्शकहरू माझ टेलिभिजन लोकप्रिय थिए । तर, पछिल्लो समय टेलिभिजनको प्रभावकारिता नहुँदा दर्शक माझ लोकप्रियता घट्दै गएको अनुभूति हुन थालेको छ । 

विश्व टेलिभिजन दिवसका अवसरमा वरिष्ठ पत्रकार तथा सहप्राध्यापक डा. कुन्दन अर्याल कमजोर लगानीमा योजना बिना टेलिभिजन स्थापना हुँदा टेलिभिजनको अवस्था निराशाजनक रहेको बताउँछन् । उनले सरकारले टेलिभिजन खोल्न आवश्यक वार्षिक कार्ययोजना र कार्यक्रमको ढाँचाको विषयका गाइड लाइन बनाउन नसक्दा टेलिभिजनमा समस्या आएको दाबी गरे ।



‘सरकारले कुनै योजनाबिना टेलिभिजन अगाडि बढाएपछि सबै भन्दा सस्तो प्रोडक्सनमा मनोरञ्जन हुन्छ । टेलिभिजनहरूले गीत संगीत र हल्लाका कन्टेनहरू बजाउने काम मात्रै भएका छन् । टेलिभिजनहरूले कन्टेनलाई गम्भीरतापूर्वक हेरेर बनाउने काम भएको छैन । सरकारले कन्टेन बनाउनको लागि गाइडलाइन बनाउनुपर्ने थियो,’ अर्यालले भने, ‘सटेन खालका टेलिभिजनहरूलाई यति उत्पादन गर्नैपर्छ भन्नुपर्ने थियो । केही न केही गाइड लाइन हुनुपर्ने थियो । तर अहिलेसम्म छैन । अहिले नेपाल टेलिभिजन नै अप्ठ्यारो स्थितिमा छ ।’

सहप्राध्यापक अर्याल गणतान्त्रिक मुलुकमा सरकारले टेलिभिजन चलाएर बस्न नपर्ने पनि बताउँछन् । उनले नेपाल टेलिभिजनलाई सरकारको ठाडो नियन्त्रणमा राख्न नहुने भन्दै संसदप्रति उत्तरदायी बनाउन पब्लिक सर्भिस बोर्डकास्टिङ बनाउने योजना कार्यान्वयन गर्न आवश्यक रहेको बताए । उनले वर्तमान सरकारले नेपाल टेलिभिजनलाई पब्लिक सर्भिस बोर्डकास्टिङ बनाउने भन्दा पनि रेडियो र टेलिभिजन मर्ज गर्ने कुरा गर्नु गलत भएको बताए । 



‘सरकारको ठाडो नियन्त्रणमा टेलिभिजन चलाउने प्राइभेट क्षेत्रलाई पनि टेलिभिजन चलाउने दिने तर दुईबीचको अन्तर वा भुमिकामा फरक हुनुपर्छ । नेपाल टेलिभिजनलाई सरकारको ठाडो निर्देशनमा नराखौँ संसद प्रति उत्तरदायी बनाउ,पब्लिक सर्भिस बोर्ड कास्टिङ बीबीसी र एनएचकेले गरेको जस्तो गरौँ भनेर बनाएको योजना कहाँ पुगिसक्यो,’ अर्यालले भने, ‘यतिका वर्षसम्म हरायो, हुँदा हुँदा अहिलेको सरकारले बुझेको के रहेछ भन्दा रेडियो र टेलिभिजनलाई मर्ज गर्ने भनेको छ । गणतान्त्रिक व्यवस्थामा राज्यले टेलिभिजन चलाएर बस्नुपर्दैन ।’ 

उनले नेपाल टेलिभिजनको प्रभावकारिता विगतको भन्दा अहिले झन्–झन् घट्दै गएको बताए । अर्यालले निजी क्षेत्रका टेलिभिजन योजना विहीनतामा सञ्चालन भइरहेको बताए । उनले योजनाबिना सञ्चालनमा आउँदा एक वर्षमा ठूलो लगानीमा हल्ला गरेर खुलेका नयाँ टेलिभिजन पनि बन्द भइरहेको बताए ।

 

‘नेपाल टेलिभिजनको प्रभावकारीता हिजोको भन्दा अहिले झन–झन घट्दै गएको छ । प्राइभेट क्षेत्रका टेलिभिजनको कुरा गर्दा योजनाविहीनता छ । एक वर्ष डेर वर्षमा ठूलो लगानीमा हल्लाखल्ला गरेर खुलेका नयाँ टेलिभिजनहरू बन्द भइरहेका छन् । एक वर्षको पनि योजना नभएको कस्तो टेलिभिजन होला । सरकारले पनि यस्ता कुराहरूमा गाइड लाइन्सहरू बनाउनुपर्छ । जसमा प्रेस स्वतन्त्रतालाई अभिव्यक्तिको लागि स्वतन्त्रता सम्पूर्णरूपमा अक्षुण्ण राख्दै टेलिभिजनहरूसँग वार्षिक योजनाहरू माग गर्नुपर्छ,’ अर्यालले भने ।

उनले अगाडि थपे, ‘योजनाबिना टेलिभिजनहरू स्थापना गरी सञ्चालन गर्दा श्रमजीवीका समस्याहरू आइरहेका छन् । भने त्योभन्दा डर लाग्दो कुरा अपारदर्शिता भइरहेको छ । लगानी कहाँबाट आएको छ भन्ने कुरा पनि सोच्ने चलन छैन । टेलिभिजनहरूमा धेरै विकृतिहरू छन् ।’ 

सहप्राध्यापक अर्यालले पछिल्लो समय नेपाली दर्शकहरू भारतीय मिडियाका चर्चित कार्यक्रमले तानेको भन्दै नेपाली मिडिया उद्यमीहरूले पनि त्यही अनुसार सोच्नुपर्ने बेला आएको बताए । उनले नेपाली दर्शक तान्नको लागि भए पनि भारतीय कार्यक्रममा नेपालीहरूलाई स्थान दिने गरेको बताए ।  

  • प्रकाशित मिति : मंसिर ५, २०८० मंगलबार १०:११:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया