सरकारी अस्पतालको अभिशाप : बिरामीको चाप, चिकित्सक अभाव
साेह्र वर्षअघिकाे दरबन्दीका भरमा उपचार

आइतबार बिहान १० बजेतिर वीर अस्पताल पुग्दा बिरामीको चाप थेगिनसक्नु थियो । कोही टिकट काउन्टरमा लाइन लागेका थिए भने कोही टिकट काटिसकेर स्वास्थ्य परीक्षणका लागि ओपिडीको लाइनमा थिए । कोही भने बिरामीको रेखदेख तथा अन्य औषधि खरिद प्रक्रियाका लागि दौडधूप गरिरहेका थिए । यही भीडमा थिइन्, नयाँ बानेश्वरकी राधा खड्का । उनलाई चार महिनादेखि रुघाखोकी लागिरहने, टाउको दुख्ने, आँखाको परेली सुन्निनेजस्तो लक्षण देखिरहेको थियो ।

सुरु–सुरुमा सामान्य रुघाखोकी लागेको भनेर केही समय घरेलु उपचार गरिन् । राधाले जति उपाय गर्दा पनि रुघाखोकी सञ्चो भएन । झन् थप समस्या देखिएपछि आइतबार उनीमा फेरि वीर अस्पताल पुगिन् । नाक, कान, घाँटी रोग विशेषज्ञकहाँ स्वास्थ्य परीक्षण गर्न आउनेको लामै लाइन थियो । राधा पनि सोही लाइनमा थिइन् । करिब आधा घण्टा कुरेपछि उनको पालो आयो । 

चिकित्सक– के भएको हो ? 

राधा– सुरुमा रुघाखोकी लागेको थियो । चार–पाँच महिनै भयो, घाँटी खसखस हुन्छ, खोकी पनि लाग्छ, निधार तथा नाक वरिपरि दुखिरहन्छ ।

चिकित्सक– टाउको दुख्छ कि दुख्दैन ?

राधा– अँ, दुख्छ, बेलाबेलामा धेरै नै दुख्छ ।



चिकित्सकले राधाको नाकको दायाँ–बायाँपट्टि गालाको हड्डीमा हातले थिचेर, ‘दुख्यो ?’ भनेर सोधे । राधाले अत्यन्त दुखेको जवाफ दिइन् । उसैगरी चिकित्सकले राधाको निधारमा पनि हातको बुढी औँलाले थिचे र सोधे, ‘दुख्यो ?’, राधाले निधारमा थिच्दा झनै बेस्सरी दुखेको सुनाइन् । त्यसपछि चिकित्सकले पिनासको समस्या देखिएको भनेर एक हप्ताका लागि एन्टिबायोटिक र नाक खुलाउने ‘नोज ड्रप’ लेखिदिए र एकपटक टाउकोको एमआरआई गर्न सुझाए ।

राधालाई चिकित्सकसँग एमआरआई गरे पनि के हुन्छ, कति खर्च लाग्छ, कहिले गर्ने, कति समयभित्र एमआरआई गरिसक्ने, अस्पतालमा कहिले पालो आउँछ ? यावत् प्रश्न सोध्न मन लागेको थियो । तर, प्रश्न सोध्न नपाउँदै चिकित्सकले झिँजो मान्दै, ‘पहिले भनेको औषधि खानुहोस्, सँगै एमआरआई पनि गर्नुहोस् । सबै भइसकेपछि रिपोर्ट लिएर यहीँ आउनुहोला’ भनेर ठाडो जवाफ दिए । 



राधाको मनमा धेरै जिज्ञासा थिए । ती सबै जिज्ञासा राख्न खोज्दा चिकित्सकले एकै बिरामीलाई धेरै समय दिन नसकिने भन्दै जान अनुरोध गरे । राधा मन नभई–नभई औषधि फार्मेसीतिर लागिन् । ‘डाक्टरलाई सोध्दा पनि झर्केर बोले । अरू बिरामी पनि छन् लाइनमा, एकैजनालाई धेरै समय दिन सकिँदैन भने । मलाई त डाक्टरलाई चेकअप गराएको चित्त बुझेन । धेरै कुरा सोध्नै पाइएन,’ राधाले भनिन् ।

राधालाई जस्तै सबै बिरामीले ओपिडीमा करिब दुई वा तीन मिनेट चिकित्सकसामु आफ्नो समस्या राखेको देखिन्थ्यो । एक चिकित्सकले बिरामीको ती दुई–तीन मिनेटमा सबै समस्या सुनिसक्छन् होला त ? राधाजस्तै ओपिडीमा बारम्बार छाती दुख्ने लक्षण देखिएपछि स्वास्थ्य परीक्षणका लागि आएका जनकपुरका रामलाल यादव चिकित्सकसँग बिरामीको सबै कुरा सुन्न समय नहुने बताउँछन् । ‘मलाई छातीको दाहिनेपट्टि दुई महिनादेखि दुखिरहेको छ । डाक्टरलाई धेरै कुरा सोध्नै पाइएन । उहाँले सीधै एकपटक एक्सरे गर्नुपर्छ भन्नुभयोे र दुखाइ कम हुने दबाइ लेखिदिनुभयो,’ यादवले भने । 

वीर अस्पतालको मात्र नभई अधिकांश सरकारी अस्पतालको हालत यस्तै हुन्छ । एउटा चिकित्सकले एकैदिनमा ओेपिडीमा एकसय भन्दाबढी बिरामीसम्म हेर्नुपर्ने अवस्था छ । जसकारण चिकित्सकले बिरामीलाई पर्याप्त समय दिन नपाउने वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल बताउँछन् । ‘सरकारी अस्पतालमा बिरामीको चाप उसैपनि बढी हुन्छ । त्यसमाथि कर्मचारी अभावमा पनि एक चिकित्सकले नै धेरै बिरामी हेर्नुपर्ने अवस्था वीरमा मात्र नभई अन्यत्र पनि त्यस्तै छ,’ डा. पौडेल भन्छन् । 

उनका अनुसार नेपालमा एउटा बिरामीलाई कति समय दिनुपर्छ भनेर तोकिएको छैन । अन्तर्राष्ट्रिय मापदण्डअनुसार कुनै नयाँ बिरामीलाई हेर्दा कम्तीमा २०–२५ मिनेट समय दिनुपर्छ । तर, नेपालमा जनशक्तिको अभावमा एकै बिरामीलाई २० देखि २५ मिनेट दिन असम्भव हुने उनको भनाइ छ । 

चिकित्सकहरूले बिरामीलाई पर्याप्त समय दिन नसक्नुको प्रमुख कारण जनशक्ति अभाव नै रहेको औँल्याउँछन् । ‘हरेक स्वास्थ्य संस्थामा जनशक्तिको अभाव छ । यसका साथै ०५० सालमा निर्धारण गरेको दरबन्दी एक हजार ४ सयकै भरमा सरकारी स्वास्थ्य संस्था चलिरहेका छन् । यसले गर्दा पनि एउटै चिकित्सकलाई धेरै बिरामी हेर्नुपरिरहेको छ,’ डा. पौडेलले भने । 

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का पूर्वडिन डा. जगदीश अग्रवाल पर्याप्त समय नदिएर एक सयजना बिरामीलाई असन्तुष्ट र गलत उपचार गर्नुभन्दा १५–२० जनालाई पर्याप्त समय दिएर सही उपचार दिनु उत्तम हुने बताउँछन् । 

यसका साथै डा. अग्रवालले धेरैजसो चिकित्सक सरकारीसँगै निजी अस्पताल–कलेज–क्लिनिकमा जोडिएका भएर पनि सधैँ हतारमा हुने गरेको जनाउँछन् । ‘अहिले धेरैजसो चिकित्सक सरकारी अस्पतालमा काम गरे पनि निजी स्वास्थ्य संस्थामा पनि जोडिएका हुन्छन् । त्यसैले पनि कम समयमा धेरै बिरामी हेर्छन् । जसले गर्दा बिरामीका जिज्ञासा सुन्ने समय चिकित्सकसँग हुँदैन,’ डा. अग्रवालले भने । 

डा. अग्रवालका अनुसार बिरामीको पीडा धैर्यपूर्वक सुनेर सजिलोसँग बुझ्ने गरी बताउनुपर्छ । नेपालमा चिकित्सकको संख्या पर्याप्त छ । तर, सरकारले दरबन्दी नखुलाउँदा पनि सरकारी स्वास्थ्य संस्थामा एउटा चिकित्सले धेरै बिरामी हेर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । 

यस्तै, ०४८ सालपछि केही सरकारी अस्पतालमा केही मात्रामा भए पनि दरबन्दी बढेको नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष डा. भगवान् कोइराला बताउँछन् । तर, अन्य सरकारी निकायमा जसरी दरबन्दी बढेको छ । त्यसअनुसार डाक्टरी पेसामा भने दरबन्दी नबढेको उनको भनाइ छ । 

डा. कोइरालाका अनुसार सरकारी अस्पतालमा मूलभूत रूपमा दरबन्दी बढेको छैन । बढेको दरबन्दी पनि सरकारी अस्पतालबाहिरको मात्र हो । त्यसकारण हरेक वर्ष जनसंख्या बढ्दै गर्दा सरकारी अस्पतालमा पनि चिकित्सकको दरबन्दी बढाउनुपर्ने उनी औँल्याउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मुलुक संघीयतामा जानुअघिकै चिकित्सकको तथ्यांक मात्र केन्द्र सरकारसँग छ । प्रदेश र पालिकामा कति चिकित्सक छन् भन्ने जानकारी पनि केन्द्र सरकारलाई छैन ।

डा. बुढाथोकीका अनुसार यसअघि ०४८ सालतिरै एकपटक चिकित्सकहरूको दरबन्दीमा केही सुधार गरिएको थियो । तर, त्यो पनि न्यून परिमाणमा । खासमा, ०४० सालतिरैदेखि नेपालका सरकारी अस्पतालहरूमा चिकित्सकको दरबन्दी थपिएको छैन ।

त्यतिबेला ११औँ तहका चिकित्सकको दरबन्दी २८२ थियो । १२औँ तहमा त जम्मा तीन जना थिए । नवौँ र दशौँ तह अर्थात् निजामतीतर्फको उपसचिवसरहका चिकित्सकको दरबन्दी एक हजार ४९ थियो । अनि, सातौँ, आठौँ तहका चिकित्सकको दरबन्दी ५४९ जना थियो । उनी भन्छन्, ‘त्यसपछि ०६३–६४ सालतिर करिब तीन सय विशेषज्ञ चिकित्सकको दरबन्दी थपिएको थियो । त्यसपछि भने कुनै तहका डाक्टरको दरबन्दी थपिएको छैन ।’

‘सस्तो, सुलभ र अनुभवी डाक्टरहरू हुने भएकाले बिरामीहरू सकेसम्म सरकारी अस्पतालमै उपचार गर्न रुचाउँछन् । त्यसकारण सरकारी बाहिरका अस्पतालको मात्र दरबन्दी बढाएर पुग्दैन,’ डा. कोइराला भन्छन्, ‘यसका लागि सरकारी अस्पतालहरूमा पनि डाक्टरहरूको दरबन्दी बढाउनुका साथै उनीहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ ।’ बिरामी र बेडहरू बढी रहने, तर चिकित्सक र नर्सको संख्या बढाइएन भने थोरै जनशक्तिले गुणस्तरीय उपचार दिन नसक्ने चिकित्सकहरूको भनाइ छ ।

  • प्रकाशित मिति : फागुन ७, २०८० साेमबार १९:१७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया