जिब्रोको स्वाद र मोटोपनको समस्या
डा. अरुणा उप्रेती, फाइल तस्बिर

दुई वर्षअघि एक पत्रकार साथीलाई भेट्दा मैले भनेकी थिएँ, ‘तपाईं निकै मोटाउनुभएको छ, भुँडी पनि निकै बढेको छ, यसले त स्वास्थ्यलाई खतरा हुन्छ हैँ ।’ उनले त्यो बेला भनेका थिए, ‘तौल घटाउन कोसिस गर्दैछु ।’ केही दिनअघि उनीसँग पुनः जम्काभेट भयो । उनको अगाडि आएको ठूलो भुँडी त स्याप्पै घटेछ, उनको उमेर नै पाँच/सात वर्ष कम भएजस्तो देखिन्थ्यो र भनेँ, ‘तपाईंले त के चमत्कार गर्नुभयो यस्तो । निकै राम्रो स्वास्थ्य भएछ नि ! कतै गएर पेटको शल्यक्रिया गरेर आउनु भएको त होइन ?’

ठट्टा गरेर भनेको यो प्रश्नलाई, उनले गम्भीर भएर जवाफ दिए ‘होइन होइन, मैले मेरो भुँडी वरिपरिको १५ केजी त योग, हिँडाइ र खानामा कमी गरेर घटाएको हुँ । दुब्लोबाट मोटो हुन त सजिलो हुँदोरहेछ । तर एकचोटी बोसो लागेपछि त घट्न पो गाह्रो हुने रहेछ । जब मैले अनुभव गरेँ कि मेरो लुगाहरू त कसिएर लगाउनै नहुने भए, अलिकता हिँड्दा स्वाँ स्वाँ हुन थाल्यो । अनि त तौल घटाउने निर्णय गरेर कसिएर लागेपछि सफल पनि भएँ ।’  

त्यसैगरी नक्सालकी पारु श्रेष्ठ (३३ वर्षीय) ले पनि आफ्नो तौल ७५ केजीबाट ६० केजी (१० महिनाभित्र)  झारेकी थिइन् । उनी विवाहअघि ५६ केजी थिइन् । अग्ली, पातली पारु सुन्दर देखिन्थिन् तर विवाहपछि उनको खाने क्रम बढ्न थाल्यो । एक बच्चा पाएपछि त झन् चाकु, घ्यू, मासु, अण्डा आदिले गर्दा उनको जिउ त पैmलिँदै गयो । उनका बुबा ३० वर्ष नपुदै मधुमेहले बितेका थिए । आमा र बहिनी दुवै मधुमेहको औषधि खाने गरेका छन् । 

पारुलाई भनेँ, ‘पारुजी तपाईं त होसियार हुनुपर्छ हैँ ? तपाईंको परिवारमा निकै समस्या छ । तपाई यसरी नै मोटाउनुभयो भने तपाईंलाई पनि ती समस्या आउन सक्छ । तपाईंको सानो छोरो छ । अन्तर्राष्ट्रिय संस्थामा काम गरिरहनु भएको छ । अगाडि त्यति ठूलो भविष्य छ, स्वास्थ्य नै नराम्रो भएपछि त जति काम गर्न सक्ने हो त्यति गर्न सकिन्न । त्योबाहेक जति पैसा भए पनि तपाईंले त्यसको प्रयोग आनन्दपूर्वक गर्न पाउनुहुन्न ।’ 

‘के गर्नु मलाई त कस्तो भोक लाग्छ, फेरी चकलेट देखेपछि त मन नै थाम्न सकिन्न । मेरो अफिसको दराजमा पनि थरिथरिका चकलेट छन् । यताउति गर्‍यो हात त त्यसैमा जान्छ,’ पारुले भनेकी थिइन् । पारुले उनको शरीरमा ध्यान दिनुपर्छ र खाना कम गर्नुपर्छ भनेर मैले धेरैचोटी भनेपछि एकदिन मलाई खुसी भएर भनिन्, ‘मलाई तौल कम गराउने संस्थाले आउनु भनेको छ । उनीहरूले ४० हजार रुपैयाँमा ग्यारेन्टीका साथ तौल कम गराउँछन् रे दुई हप्तामा । उनीहरूले खाने कुराको चार्ट पनि दिन्छन् रे । केही औषधि पनि दिन्छन् रे ।’  

पारुको खुसीलाई काट्दै मैले भनेँ, ‘पारुजी त्यसरी ग्यारेन्टीका साथ तौल कम गर्ने कसैले भन्छ भने, त्यो त सोह्रैआना ठग हो । त्यस्तो कुनै औषधि छैन, जसले जादुको छडीले झैं तपाईंको तौल कम गराओस् । त्यसरी औषधि प्रयोग गरेर तौल घट्ने भए त अमेरिकाका त्यतिका मानिसले घटाउँथे होलान् नि । त्यसरी एकैचोटी तौल घटाउने क्रियालाई त्याग्नुस् र खानेकुरा कम गर्नुस् । कोदो, फापर, गहुँको च्याँख्ला आदिको प्रयोग बढी गर्नुस्, चकलेट धेरै नखानोस् र मुख्य कुरा पानी खाने र व्यायाम गर्नुस् ।’ 



पारुजीलाई कोदो र फापर स्वादिष्ठ तरिकाले बनाएर पनि खान सकिन्छ भनेर एकदिन त घरमै बोलाएर खुवाउनु पर्‍यो । ‘कोदो र फापर त मीठो पो हुँदो रहेछ’, रोटीसँग गोलभेँडा अचार डुबाएर खाँदै उनले भनेकी थिइन् । त्यसपछि उनले कोदो र फापरलाई आफ्नो दैनिक भोजनका अंग बनाइन् । हरियो तरकारी र टुसा उमारेको तरकारी चाहिँ अफिसमा लैजान थालिन् । बिहान उठेर व्यायाम गर्न थालिन् । दुई महिनापछि त उनको तौल पाँच केजी कम भयो । उनको अनुहारको छालमा चमक आयो । त्यसपछि त्यति क्रम अगाडि बढाउँदै गएपछि अर्को छ महिनामा उनको तौल १० केजी कम भयो । सबैबाट धेरै प्रशंसा पाएपछि पारुले मलाई भनिन्, ‘तपाईंले मेरो ४० हजार रुपैयाँ त बचाउनु भयो नै, मलाई जीवनभरको ज्ञान दिनुभयो ।’ 

मेरा कति डाक्टर साथीहरू त्यसमाथि पनि मोटोपन कम गर्नु पर्छ भनेर बिरामीलाई सिकाउने डाक्टर साथीहरू त कस्ता मोटामोटा छन् । रक्तचाप र मधुमेहको बिरामी छन् तर न उनीहरू खाना छोड्न सक्छन् न त योग  गर्छन् । बरु समयसमयमा आफ्नो ठूलो भुँडी मसार्छन् र मीठो हाँसो हाँस्छन् । मेरो कुरा सुनेर पारु मरिमरि हाँसिन् र भनिन्, ‘तपाईँका डाक्टर साथीहरूलाई सायद तपाईँको कुरा अझै पुगेको छैन ।’ 



प्रायः मानिसलाई मोटोपनबाट छुटकारा पाउन निकै गाह्रो हुन्छ किनभने खाना खाएर, मज्जासँग सुतेर, तेल र मसला हालेको मासु खाएर, वियर पिएपछि तौल जति मज्जासँग बढ्छ । त्यति नै मज्जासँग घटाउन गाह्रो हुन्छ किनभने त्यस्तो खानेकुरा खाने मानिसलाई खान्न भन्न साह्रै गाह्रो हुन्छ । साथै व्यायाम, योग त झनै गाह्रो हुन्छ किनभने त्यसको लागि त कडा अनुशासन चाहिन्छ । वियर, मासु र तारेको आलुका स्वाद त जिब्रोमा यसरी बसेको हुन्छ कि त्यसको अगाडि पछि हुने दुखाई पनि बिर्सिन्छ । 

मेरा एकजना मित्र छन् । उनलाई गाउटको छ । समयसमयमा उनलाई यस्तो दुख्छ कि उनी घुँडामा हात राखेर खुट्टा खोच्याउँदै हिँड्छन् । एकचोटी त गाउटले यस्तो चिसो पानीमा डुबाएर बस्नु परेको थियो रे तर वियर देखेपछि त कसोकसो मन चञ्चल भइहाल्छ । कतिपय मानिस यस्तै खाना र वियरबाट हुने मोटोपनको कारण उच्च रक्तचापको भई ‘पक्षघात’ भएपछि पनि रक्सी, मासु, तेल हालेको खान छोड्दैनन् । विस्तारै आत्महत्या गरिरहेका हुन्छन् । पुरुष मात्र होइन, महिला पनि जिब्रोलाई तह लगाउन नसक्दा मोटोपनको कारणले गर्दा हुने समस्याले ग्रस्त हुन्छन् । 

एक संस्थामा कार्यरत शर्मिला नाकी महिला मेरो घरमा आएकी थिइन् घुँडा दुख्ने समस्यामा केही योगासन सिक्न सकिन्छ कि भनेर । मैले उनलाई भनेकी थिएँ, ‘शर्मिला योगासन र व्यायामले सँगै तिम्रो खानेकुरा पनि परिवर्तन गर्नुपर्छ ।’ ८० केजीकी शर्मिलाले ‘लौन के–के खाने सिकाइदिनुस् न’ भन्दा मैले घरमा कोदो र फापरको रोटी र सुप बनाएर प्लेटमा राखेर खान दिँदा उनले भनिन्,‘यस्तो कोदो र फापर त हाम्रो घरमा कुकुरले पो खान्छ ।’ शर्मिलाको कुराले हाँस त उठ्यो तर दुःख पनि लाग्यो । 

घुँडा दुखेर कसरी तौल कम गर्ने भनेर छलफल गर्न आएकी शर्मिलाको तौल दुई वर्षपछि पनि घटेको छैन । अहिले त उनलाई उच्च रक्तचाप भएको छ । घुँडाको दुखाइले गर्दा धेरै हिँड्न सक्दिनन् । उनलाई खानाको विषयमा चाहिँ भन्न छोडिसकेको छु । जबसम्म कसैलाई मनबाट नै तौल घटाउँछु भनेर लागेको छैन भने अरूले जति भने पनि लाग्दैन । 

मेरा एकजना आफन्तलाई झन्डै १५ वर्षअघि नै डाक्टरले तौल घटाउन भात र आलु कम गर्न सल्लाह दिँदा बरु मर्छु । तर, आलु त खान छोड्न सक्दिनँ भनेका थिए । उनको त्यो बानीले उनलाई उच्च रक्तचाप र मधुमेहको रोगी त बनायो नै, एकचोटी झण्डै पक्षघात नै भएको थियो । अहिले उनको स्वास्थ्य त ठिक छ । तर, उनको खानाबाट आलु, चिनी, भात त गायब भएको छ । कोदो, फापर, चिनी नहालेको दूध र हरियो तरकारी उनको खाना बनेको छ । उनी अहिले बिहान एक घण्टा हिँड्छन् पनि । उनले सिके खाना कसरी खाने, हिँड्ने किन भनेर तर धेरै चर्को मूल्य तिरेर ।  

हामीहरूमध्ये सायद धेरै जनाले त्यसरी नै सिक्नेछौँ । मध्यम वर्गीय परिवारमा मात्र होइन, गाउँका मानिसमा पनि विभिन्न किसिमका चाउचाउ चिप्स आदिले गर्दा मोटोपनको समस्या बढ्न थालेको छ । मोटोपनको समस्याले गर्दा हुने समस्याले जीवनको धेरै क्षेत्रमा प्रभाव पार्छ । अकालमै मृत्युको मुखमा पुर्‍याउँछ भन्ने जान्दाजान्दै पनि मानिसले किन जिब्रोको स्वाद रोक्न नसकेको होला ?

(लेखक डा. उप्रेती जनस्वास्थ्यविद् हुन्)  

  • प्रकाशित मिति : फागुन १०, २०८० बिहीबार १४:२२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया