वरिष्ठ अर्थोसर्जन डा. शर्माको दाबी- हाडजोर्नीको उपचार सरल हुँदै छ

भारतीय अर्थोपेडिक एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अर्थोपेडिक सर्जन प्रा. डा. राजीव के. शर्माले हाडजोर्नीसम्बन्धी रोगको उपचार अब सरल एवं सामान्य हुँदै गएको बताएका छन् । 

नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् (एम्स), एपोलो हस्पिटल नयाँदिल्लीलगायतमा हाडजोर्नीसम्बन्धी फ्याकल्टी तथा सर्जनका रुपमा  समेत काम गरिसकेका प्रा. डा. शर्मा अर्थोपेडिक सर्जनहरूको एक ‘कन्फ्रेन्स्’ का लागि हालै काठमाडौं आएका उनले यस्तो बताएका हुन् । 

कुराकानीको क्रममा उनले भने, ‘मानवीय हाडजोर्नी तथा हड्डीसम्बन्धी रोगको उपचार अब पहिलेजस्तो जटिल छैन, सामान्य हुँदै गएको छ । अहिले शरीरका हाडजोर्नी, घुँडाको अत्याधुनिक मेडिकल प्रविधि प्रयोग गरेर सफल प्रत्यारोपण (ट्रान्सप्लान्ट) गर्न या फेर्न (रिप्लेस्मेन्ट) सकिन्छ । मेडिकल अनुसन्धान तथा प्रविधिले धेरै कुरा सफल र सम्भव तुल्याइदिएको छ ।’

ज्वाइन्ट रिप्लेस्मेन्ट सर्जन डा शर्माले केही वर्षअघि ९४ वर्षीय वृद्धको हिप प्रत्यारोपण गरेको प्रसङ्ग सुनाउँदै उनले अगाडि भने, ‘बालबालिका र यो उमेरका वृद्धवृद्धामा पनि ज्वाइन्ट रिप्लेस्मेन्ट हामीले गरिरहेका छौँ, हामी सफल भइरहेका छौँ, जटिलता देखिएको छैन । पहिला त यो उमेरका बिरामीमा प्रत्यारोपण गरौँ कि नगरौँ भन्ने पनि भयो । बिरामीको पनि गरिदिए हुन्थ्यो भन्ने चाहना थियो । मैले नै ‘रिप्लेस्मेन्ट’ गरेँ, सफल पनि भयो । वर्षौंसम्म आफैँले फलोअप गरेँ । ‘रिप्लेस’ गरिएको अङ्गमा कुनै समस्या आएन, ठीक रहनुभयो । म पनि निकै खुसी भएँ ।’

पहिले यस्ता समस्याहरु शल्यक्रिया गरेर निको पार्ने प्रयास गरिन्थ्यो । त्योभन्दा अहिलेको यो रिप्लेस्मेन्ट या प्रत्यारोपण ‘एड्भान्स’ हुँदै गयो, यो ठीक भएको छ । उनको आशय थियो अहिले बालबालिकादेखि वृद्धवृद्धाहरुसम्म पनि जोर्नी प्रत्यारोपण सम्भव मात्र होइन सामान्य हुँदै गएको छ । मानिसहरू प्रत्यारोपणका लागि तयार भए भने मेडिकल प्रविधि चुस्त दुरुस्त छ । मात्र चिकित्सकको दक्ष हात चाहिन्छ । 

तर मानिसहरु अझै पनि अङ्ग प्रत्यारोपण गर्ने काममा आशङ्का गर्ने गरेको आफूले पाएको उनको भनाइ छ । ‘मानिसहरु अहिले पनि प्रत्यारोपण गर्ने अर्थात् कुनै पनि अङ्ग फेर्ने काम सफल हुँदैन कि भन्ने सोच्ने गर्दछन् । त्यसैले उनीहरु सुरुमा त तयार पनि हुँदैनन्’, प्रा. डा. शर्मा भन्छन्, ‘अङ्गको प्रत्यारोपणपछि सङ्क्रमण हुन्छ या जटिलता उत्पन्न हुन्छ भन्ने मानिसहरु बताउने गर्दछन् । तर त्यसो नभएर अहिले यस क्षेत्रमा धेरै सफलता प्राप्त भइरहेको छ । त्यसप्रति आमनागरिकमा सचेतनाको आवश्यकता मैले देखेको छु ।’



त्यस्तै दुखाई बढी हुने, यसरी प्रत्यारोपण गरिएको अङ्गको दिगोपना कम हुने अर्थात् पटक–पटक प्रत्यारोपण गर्नुपर्ने अवस्था पनि आउनसक्ने तर्क गर्ने गरेका कारण मानिसहरु जोर्नी प्रत्यारोपणका लागि तयार नहुने गरेको आफूले पाएको उनको भनाइ छ । पछिल्लो समयमा निकै ‘एड्भान्स’ प्रविधि आएकाले ती प्रविधिको प्रयोग गरेर कुनै पनि दक्ष चिकित्सकले नदुखाई र सफलरुपमै जोर्नी प्रत्यारोपण गर्न सक्ने उनी बताउँछन् । हाल मुलचन्द हस्पिटल नयाँ दिल्लीमा ज्वाइन्ट रिप्लेस्मेन्ट विज्ञका रुपमा कार्यरत उनले आफूसँग हाडजोर्नीसम्बन्धी समस्या लिएर आउने कुनै पनि बिरामी निको नभई नफर्कने दाबी गर्छन् । जोर्नी प्रत्यारोपण गरिएका बिरामीलाई आफूले २० वर्षसम्म नै ‘फलो’ गरेको र उनीहरुमा कुनै समस्या नदेखिएको पनि उनको भनाइ छ ।      

धेरै खाना र बजारीया अस्वस्थकर खाना (जङ्क फुड तथा फास्ट फुड) ले शरीरमा धरै प्रकारका रोग भित्र्याएपछि त्यसले पनि हाडलाई कमजोर पारेको उनको भनाइ छ । मानिसमा पछिल्लो समय बढ्दो मोटोपनाले पनि हाडलाई कमजोर बनाएको र हाडजोर्नीमा समस्या देखिने गरेको उनी बताउँछन् । शरीरमा बढ्दो मासुको भार पनि हाडले नै बोक्नु परेको छ । मोटोपनको भार शरीरको हाडमा परेको छ र यसले पनि हाड कमजोर बनाउँदै गएको छ । जस्तो कि शरीरमा अत्यधिक मोटोपन छ भने शरीरको त्यो वजनको भार घुँडाले धान्नुपर्दछ । यसले शरीरको भार बढाइरहेको छ र हाडलाई कमजोर बनाइरहेको छ । 



  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार १७:१९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया