स्वास्थ्यमन्त्री बस्नेत : स्टन्टबाजीमा अब्बल, काममा छैन दख्खल
देउवाको आशीर्वाद, गठबन्धनको छत्रछाया

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतलाई बर्खास्त गर्नुपर्ने माग दोहोर्याइरहेको छ । संसदको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक तथा पूर्वस्वास्थ्यमन्त्री पदम गिरीले उक्त माग गरेका हुन् । 

उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको अवस्थामा स्वास्थ्यमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने हो । अख्तियारको निगरानीमा रहेको व्यक्तिले स्वनैतिकताका आधारमा बस्न मिल्दैन । हामीले बर्खास्तीको माग उठाएको धेरै भयो, तर सरकारले सुनेको छैन ।’

मुलुकमा सुशासनका निम्ति आफूले निरन्तर आवाज उठाएपनि सुनुवाइ नभएको बताए । उनले थपे, ‘हामीले कुरा राखे पनि सरकार सुन्न तयार छैन । यति महत्वपूर्ण विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्थ्यो । तर, उहाँ छलेर हिँड्नुभएको छ, यो धेरै नै चिन्ताको विषय हो ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वास्थ्यमन्त्री बस्नेतले राजीनामा नदिएसम्म आन्दोलनमा चर्काउने चेतावनी दिएको छ । 

भ्रष्टाचार आरोपमा अख्तियारले बयान लिएका व्यक्तिलाई मन्त्रीबाट हटाउन नसकेको भन्दै एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कायरको संज्ञासमेत दिएको हो । गत बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा एमाले सांसद रघुजी पन्तले भ्रष्ट मन्त्रीलाई क्याबिनेटमा राखेर प्रचण्डले सुशासनको मजाक उडाइरहेको आरोप लगाए । 

‘पञ्चायकालमा पनि यस्तो थिएन, भ्रष्टाचारको आरोप लागेपछि मन्त्रीहरूले राजीनामा दिएका थिए । अहिले त भ्रष्टाचारको आरोप लागेका मन्त्री झण्डा हल्लाउँदै अख्तियारमा बयान दिन जान्छन्’ सांसद पन्तले भने, ‘यस्ता मन्त्रीलाई राजीनामा गर् भन्न नसक्ने कायर प्रधानमन्त्री हामीलाई चाहिएको होइन ।’



अख्तियारमा बयान दिएका मन्त्रीले क्याबिनेटमा बसेर अख्तियारकै बयान लिएको सांसद पन्तको आरोप लगाए ।

टेरामक्स प्रणाली खरिद प्रकरणमा मुछिएका मन्त्री बस्नेत 



नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद अनियमिततामा जोडिएका बस्नेतसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो । उनले अख्तियार कार्यालय टंगाल पुगेर बयान दिएका थिए । उनी सञ्चारमन्त्री भएका बेलामा खरिद प्रक्रिया अगाडि बढेर पछि किनिएको टेरामक्स खरिद प्रकरणमा भएको अनियमितताबारे आयोगले अनुसन्धान गरिरहेको छ ।

नाम नखुलाउने सर्तमा एक चिकित्सक भन्छन्, ‘स्वास्थ्यमन्त्रीको कुरा मात्रै ठुल्ठूलो भए । काम भने केही गरेका छैनन् । उनलाई स्वास्थ्य क्षेत्र भएका विकृतिको बारेमा थोरै पनि ज्ञान देखिँदैन । हचुवाको भरमा मनपरी बोलिराख्नुहुन्छ ।’

टेरामक्स खरिद भ्रष्टाचारमा तानिएका मन्त्री बस्नेतको स्वास्थ्यमन्त्रीको कार्यकालमा भइरहेका अधिकांश स्वास्थ्य उपकरण खरिद प्रक्रियासमेत विवादित छन् । सरोकारवाला तथा विपक्षी दलले अधिकांश खरिद स्वास्थ्यमन्त्री बस्नेतको मिलेमतोमा भइरहेका आरोप लगाइरहेका छन् । उनले सिन्धुपाल्चोकको समूह परिचालन गरेर स्वास्थ्यका सामान आपूर्तिकर्ताहरूसँगको मिलेमतोमा सामान खरिद प्रक्रिया तीव्र बनाइरहेको समेत बेलाबेला चर्चा भइरहेको हुन्छ । 

मन्त्री पदमा बहालै रहेको बेलामा भ्रष्टाचारको अनुसन्धानमा तानिएर अख्तियारमा गएर बयान दिनेमा बस्नेत दुर्लभ सूचीमा परेका छन् । 

नीतिगत काम पन्छाउँदै, स्टन्टमा रमाउँदै

स्वास्थ्यमन्त्री बस्नेत नीतिगत कामभन्दा पनि ‘स्टन्टबाजी’मा रमाउन थालेपछि स्वास्थ्य क्षेत्रका महत्वपूर्ण काम ओझेलमा परिरहेको स्वास्थ्य मन्त्रालयका केही कर्मचारीको भनाइ छ । नाम उल्लेख नगर्ने सर्तमा मन्त्रालयका अधिकारीले स्वास्थ्यमन्त्री बस्नेत कामभन्दा प्रचारमा बढी रमाउने बताउने गरेका छन् । नाम उल्लेख गर्न नचाहने एक कर्मचारी भन्छन्, ‘उहाँ नीतिगत काम गरेर दीर्घकालीन रूपमा प्रभाव पार्नेभन्दा तत्काल हल्लाखल्ला हुने काम गर्न मन पराउनुहुँदो रहेछ ।’

मन्त्री बस्नेत ‘स्टन्ट’ गर्न कतिसम्म माहिर छन् भन्ने कुरा हस्तान्तरण भइसकेको शववाहन पुनः हस्तान्तरण गरेको कार्यले पनि स्पष्ट पार्छ । 

कुरा, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गतका अस्पतालका लागि किनेको सातवटा शववाहनको हो । १४ साउनमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले हेटौँडामै उक्त शववाहनहरू सातवटा प्रदेश अस्पताल विकास समितिका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टहरूलाई हस्तान्तरण गरेका थिए । तर, मन्त्री बस्नेतलाई आफ्नो गृहजिल्लामा अरूले शववाहन हस्तान्तरण गरेको मन परेन ।

सोही कारण उनले हस्तान्तरण भइसकेको शववाहनको साँचोसहित चौतारा अस्पतालका मेसु डा. त्रिभुवन झालाई काठमाडौं बोलाए । त्यसलगत्तै संघीय मन्त्रालयमा १६ साउनमा पुनः शववाहनको साँचो डा. झालाई हस्तान्तरण गरे । यसले पनि उनी स्टन्ट गर्न कति रुचाउँछन् भन्ने कुरा देखिन्छ । 

कुराले ठिक्क, व्यवहारले दिक्क

मन्त्री बनिसकेपछि मन्त्रालयका मातहतका कार्यलयको अनुगमनमा निस्कनु सबै मन्त्रीहरूको चलन रहेको छ । यो मामिलामा बस्नेत पछाडि पर्ने कुरै भएन । उनी अनुगमन गर्न अस्पताल त कहिले फार्मेसीमा पुगेका देखिन्छन् । उनले अनुगमनका नाममा जहाँ–जहाँ पाइला टेके, त्यहाँ भए, रहेका विकृतलाई हटाउने कुनै कदम चालेको देखिँदैन । र, सरोकारवालाको भनाइ पनि सोही रहेको पाइन्छ ।

स्वास्थ्यमन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा आफ्नो विरोध हुने गरेको बताइरहेका छन् । ‘मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा आफ्नो स्वार्थ पूरा गर्न खोज्नेहरूले विरोध गरेका हुन्,’ उनले भने । यसका साथै उनले आफ्नो बारेमा लागेका आरोप पुष्टि भए राजनीतिबाटै सन्न्यास लिनेसमेत जिकिर गरेका छन् । 

यस्तै, मन्त्री बस्नेतले हरेक कार्यक्रममा ‘उपचारको अभावमा कुनै पनि नागरिक मृत्युवरण गर्ने अवस्था नआउने’ बताउँदै आएका छन् । तर, यथार्थमा हेर्दा उनले भनेअनुसार सिन्को भाँचेको पनि काम देखिँदैन । नाम नखुलाउने सर्तमा एक चिकित्सक भन्छन्, ‘स्वास्थ्यमन्त्रीको कुरा मात्रै ठुल्ठूलो भए । काम भने केही गरेका छैनन् । उनलाई स्वास्थ्य क्षेत्र भएका विकृतिको बारेमा थोरै पनि ज्ञान देखिँदैन । हचुवाको भरमा मनपरी बोलिराख्नुहुन्छ ।’

देउवाको आशीर्वाद, गठबन्धनको छत्रछाया

स्वास्थ्यमन्त्री बस्नेत २२ वर्षपछि पुनःस्वास्थ्य मन्त्रालयमा नेतृत्वदायी भूमिकामा प्रवेश गरेका हुन् । तर, उनको प्रवेशलाई स्वास्थ्य क्षेत्रमा सुखद् कदमका रूपमा लिइएको छैन । स्वास्थ्यमन्त्री भएदेखि नै विवादास्पद अभिव्यक्ति दिँदै आएका उनले सरोकारवालाबाट आलोचना पनि खेप्दै आइरहेका छन् । उनको पटक–पटक राजीनामा पनि माग गरिँदै आएको छ । तर, सरकार भने मौनधारण गरेर बसिरहेको छ । 

२२ वर्षअघि उनी स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीका रूपमा प्रवेश गरेका थिए । ०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी स्वास्थ्य राज्यमन्त्री भएका थिए । त्यतिबेला स्वास्थ्यमन्त्री भने शरदसिंह भण्डारी थिए । 

०५८ साल कात्तिक २ गते स्वास्थ्य राज्यमन्त्रीका रूपमा मन्त्रालयमा प्रवेश गरेका स्वास्थ्यमन्त्री बस्नेतले त्यतिबेला मन्त्रालयमा झण्डै एकवर्ष काम गर्ने मौका पाएका थिए । ०५९ साल असोज १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई पदमुक्त गरेसँगै बस्नेतको कार्यकाल पनि सकिएको थियो ।   

यसपटक भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा गत वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीमा नियुक्त गरेका हुन् । मन्त्री बस्नेत कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र मात्रै होइनन्, ससुरालीतिरका आफन्त पनि हुन् । पार्टीभित्रैबाट र बाहिरबाट जति विरोध भए पनि उनी देउवाको आशीर्वाद र गठबन्धनको छत्रछायाका कारण मन्त्री पदमा आसीन भइरहन सफल छन् । 

  • प्रकाशित मिति : फागुन १४, २०८० साेमबार १८:२२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया