संकटमा सिंहदरबार वैद्यखाना : घट्यो उत्पादन र व्यापार

देशकै सबभन्दा पुरानो औषधि उत्पादन गर्ने सरकारी आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखाना उत्पादन र व्यापार दुवै घटेपछि संकटमा परेको छ । वि.सं. २०५२ देखि समिति बनाएर काम गर्दै आएको यो वैद्यखानाले देशमा उपलब्ध रहेको प्राकृतिक जडीबुटीको प्रयोग गरेर करिब १८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पादन गरिरहेको थियो । तर, अहिले औषधि उत्पादन र व्यापार दुवै घटेको छ ।

एलोपेथिक उपचार प्रणालीको प्रभाव बढेको र आयुर्वेदिक उपचार पद्धतिप्रति सर्वसाधारणको घट्दो विश्वासका कारण वैद्यखानाको व्यवस्थापनमा सरकारले पनि चासो दिएको छैन । बरु राजनीतिक हस्तक्षेपका कारण वैद्यखाना थप संकटउन्मुख भएको छ । 

वैद्यखानामा पछिल्ला पाँच वर्षमा ११ जना कार्यकारी निर्देशन फेरिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो अनुकूल कार्यकारी निर्देशक फेरबदल गर्ने गर्दा वैद्यखाना नै संकटतर्फ धकेलिएको वैद्यखानाका वरिष्ठ मार्केटिङ अधिकृत ऋषिराज रेग्मीले बताए ।  

‘मन्त्रालयबाट कार्यकारी निर्देशकहरू परिवर्तन भइराख्ने भयो । जसले गर्दा वैद्यखानाले स्थायित्व पाउन सकेन,’ उनले भने, ‘त्यसको प्रत्यक्ष असर यसको उत्पादन र व्यापारमा परेको छ । पछिल्लो समयमा आयुर्वेद औषधि उत्पादन र व्यापार दुवै घटेको छ ।’

रेग्मीका अनुसार वैद्यखानाले आर्थिक वर्ष २०७४/०७५ मा ५ करोड ३४ लाख रुपैयाँको औषधि बिक्री गरेको थियो । तर, पाँच वर्षपछि आर्थिक वर्ष २०७९/०८० मा १ करोड २७ लाख रुपैयाँको व्यापार गरेको छ । यसरी हेर्दा पाँच वर्षमा वैद्यखानाको व्यापार करिब तेब्बरले घटेको छ । 

वैद्यखानाले आर्थिक वर्ष २०७६/०७७ मा २ करोड १७ लाख, २०७७/०७८ मा २ करोड ६८ लाख, ०७८/०७९ मा १ करोड ८५ लाख रुपैयाँको व्यापार गरेको थियो । वैद्यखानाको व्यापार घटेपछि औषधि उत्पादन पनि घटेको छ भने अहिले त कर्मचारीले तलब खान समेत धौधौ पर्ने अवस्था बनेको छ । 



वरिष्ठ मार्केटिङ अधिकृत रेग्मीले भने, ‘सरकारले सहयोग गर्न छोड्यो । यहाँ कार्यकारी निर्देशक नियुक्त भएर काम गर्ने योजना बनाउन नपाउँदै फेरबदल भइहाल्छ । जसले गर्दा यो उद्योग नै संकटमा पुगेको छ ।’ उनका अनुसार पहिले वैद्यखानाले १ सयभन्दा बढी प्रकारका औषधि उत्पादन गर्ने गरेको थियो । तर, अहिले भने कर्मचारीलाई पारिश्रमिकसमेत दिन नसक्ने अवस्थामा पुगेको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार औषधि उत्पादन गर्न ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मा जानुपर्छ । तर, चार शताब्दीको लामो इतिहास बोकेको यो वैद्यखानामा औषधि उत्पादन गर्ने उपकरण भने पुराना प्रयोग हुने गरेका छन् । औषधि उत्पादन गर्न आवश्यक बजेटकै अभाव रहेको रेग्मीले बताए । 



‘सरकारले बजेट दिँदैन, यहाँ उत्पादन घटेको छ, व्यापार पनि घटेको छ,’ उनले भने, ‘यहाँ सरकारकातर्फबाट तीनजना मात्रै कर्मचारी हुनुहुन्छ । बाँकी समितिका तर्फबाट ४१ जना छौँ । अहिले त तलब खाने पैसाको समेत अभाव हुने स्थिति बनेको छ ।’

उनका अनुसार केही महिनादेखि वैद्यखानाले फिक्स डिपोजिटको पैसा झिकेर तलब खुवाइरहेको छ । औषधि बनाउने उपकरण पुराना भएका छन् भने कच्चा पदार्थ खरिद गर्न बजेटको समस्या छ । दुवैको व्यवस्थापन गर्न समिति आफैंले मात्रै सक्ने अवस्था छैन । 

वैद्यखानालाई सरकारले आवश्यक बजेट सहयोग गरेमा पुरानै अवस्थामा फर्काउन सकिने उनको भनाइ छ । ‘सरकारले उपकरण खरिद र व्यवस्थापनमा सहयोग गरिदिने हो भने हामीले पाँच वर्षमा फेरि पहिलेकै अवस्थामा फर्काउन सक्छौँ,’ रेग्मीले भने ।  

  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार १०:३७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया