हिटलर चरित्रमा अभिनय गर्न चाहन्छन् हरिवंश

अभिनेता हरिवंश आचार्य आगामी चैत ९ गते रिलिज हुने फिल्म ‘महाजात्रा’मा खलनायकको चरित्रमा देखिँदै छन् । फिल्मको फर्स्टलुक र टिजरमा उनलाई भिलेनका आंशिक रूप देखाइरहँदा आइतबार सार्वजनिक ट्रेलरमा उनको विस्तृत झलक देखाइएको छ ।

ट्रेलर सार्वजनिकपछि हरिवंशले आफ्नो ‘भिलेन’ अनुभव सुनाए । ‘फिल्मका लागि ‘हिरो’ र ‘भिलेन’ दुवै चरित्र आवश्यक छ । जसरी बत्ती बाल्नका लागि पोजेटिभ र नेगेटिभ तार चाहिन्छ । त्यसरी नै फिल्मको बत्ती बाल्नका लागि पनि हिरो र भिलेन आवश्यक पर्छ,’ उनले भने ।

हरिवंशले फिल्ममा अझ दमदार ‘भिलेन’को भूमिकामा अभिनय गर्ने इच्छा रहेको सुनाए । ‘म हिटलर चरित्र निर्वाह गर्न चाहन्छु । किनकि मैले हरिबहादुरको जस्तो चरित्र पनि निभाएँ । त्यसकारण अझ शक्तिशाली चरित्रमा आफूलाई उभ्याउन चाहन्छु,’ उनले भने ।

हरिवंशका अनुसार नकारात्मक चरित्र खेल्दा उनले ढुंगाको चोट पनि खाएका छन् । ‘म गुह्येश्वरी मन्दिरमा पुग्दा त्यहाँ फूल बेच्ने एक महिलाले मलाई ढुंगाले नै हिर्काउनुभयो । किनकि मैले नकारात्मक चरित्र निर्वाह गर्दा त्यो उहाँलाई मनपरेको रहेनछ,’ उनले आफ्नो किस्सा सुनाए ।

हरिवंशले ‘महाजात्रा’मा राम्रो मान्छे कसरी नराम्रो बन्छ भन्ने कुरा आफ्नो चरित्रमा दर्शकले हेर्न पाउने बताए । ‘मेरो चरित्र देशलाई भीरबाट खसाउने खलपात्रको छ,’ उनले भने ।

‘महाजात्रा’का लेखक तथा निर्देशक प्रदीप भट्टराईले बेरोजगार युवालाई राजनीतिक दलका नेताले कसरी दुरुपयोग गरेका छन् भनेर देखाउनका लागि ‘महाजात्रा’ बनाएको खुलाए । ‘म सिक्वेलभन्दा अलिक फरक कथामा फिल्म बनाउन चाहन्थेँ । ‘जात्रा’ र ‘जात्रैजात्रा’ पछि अलिक फरक कथामा फिल्म बनाउन मन थियो । तर, युवालाई कसरी नेताले दुरुपयोग गरिरहेका छन् भन्ने कुरा दिमागमा आएपछि ‘महाजात्रा’ लेखेँ,’ उनले भने ।



ट्रेलरमा बेरोजगार युवाहरूको पैसा कमाउने चाहना र पैसा कमाउनका लागि उनीहरू कुन हदसम्म काम गर्छन् भन्ने कथा देखाइएको छ ।

फिल्ममा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको पनि अभिनय छ ।
म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरेको छ । 



फिल्ममा जितबहादुर रुवालीको सहायक निर्देशन, पुरुषोत्तम प्रधानको छायाकार, कुमार महर्जनको द्वन्द्व, कविराज गहतराजको नृत्य, आशिष अविरलको संगीत, शमशेर लामा शृंगार र रूपकप्रताप अधिकारीको प्रोडक्सन डिजाइन छ ।
 

  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार १६:३०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया