फिल्म ‘काँडे तार’ हेरेपछि झलनाथ खनालको प्रतिक्रिया : नेपाल-भारत सिमानामा काँडे तार लगाऔँ

राष्ट्रवादी धारमा निर्माण गरिएको फिल्म ‘काँडे तार’को मंगलबार बेलुकी विश्वज्योती हलमा प्रिमियर गरिएको छ । शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्मको प्रिमियरमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पुगेका थिए । यस्तै, फिल्म हेर्न विभिन्न दलका नेतादेखि फिल्मीकर्मीहरू हलमा पुगेका थिए ।

नवल खड्काको निर्देशनमा तयार भएको यो फिल्मले नेपाल र भारतको सम्बन्धको कथा भन्छ । साथै, नेपालको सीमा स्तम्भमाथि भारतले बारम्बार गर्ने खेलबाडको कथालाई यो फिल्मले प्रस्तुत गरेको छ ।

नेपाल र भारतको सिमानामा काँडे तार लगाउनुपर्छ भन्ने मुख्य थिममा रहेको फिल्म हेरेपछि अधिकांशले राष्ट्रियताको विषयलाई गम्भीर रूपमा उठान गरिएको भन्दै प्रशंसा गरेका थिए ।

फिल्म हेरेपछि नेता खनालले भने,‘यस्तो फिल्म अहिले ३ करोड नेपाली जनतालाई चाहिएको छ । म नेपाली राजनीतिमा लागेदेखि नै नेपाल र भारतको सिमानामा काँडे तार लगाउनुपर्छ भन्ने मान्यता राख्छु । यसैले, मलाई प्रधानमन्त्री पदमा बस्न दिएनन् । यो फिल्म ३ करोड नेपालीले हेर्नुपर्छ ।’

फिल्मका निर्देशक तथा कलाकार नवल खड्काले पनि आम नेपालीहरूको भावनालाई समेटेर यो फिल्म तयार पारिएको बताए । फिल्ममा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय गरेका छन् ।

सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्मको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् । मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडे तार’को छायांकन सौरभ लामाले गरेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । 



फिल्मलाई बन्देप्रसाद र तारा थापा ‘किम्भे’ ले सम्पादन गरेका छन् । नवल खड्का,  माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।



  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार १२:९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया