कृषिमा रमाउँदै कृष्ण, वर्षमा गर्छन् करोडौंको कारोबार

कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको संख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर शहरतिर मजदुरी गर्नेहरू उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राईले भने कृषि पेसामै ठूलो सम्भावना रहेको देख्छन् । 

कृषिबाटै नाम र दाम कमाएका उनी भन्छन्, ‘अल्छी गर्नेलाई कतै सम्भावना छैन, जाँगर हुनेलाई कृषिमा सम्भावना नै सम्भावना छ’, उनले भने । सोताङ अर्गानिक कृषि फर्म खोलेर तरकारी र फलफूलको खेतीसँगै कुखुरा, बाख्रा, बङ्गुरदेखि गाईसम्म पालन गरेका भएका राईले यसैबाट वार्षिक करोडौंको कारोबार गर्दै आएका छन् । कृषिबाटै उनले करोडौंको जग्गा जमिन जोड्नु भएको छ, भव्य घर बनाएका छन् । कृषिमा उनले अरूलाई पनि रोजगारी दिएका छन् ।   

कृषिकर्मबाटै उनले धरानमा अढाई बिघा जग्गा जोडेका छन् । राईले बराह क्षेत्रमा करिब १५ विघा किनिसकेका छन् । उनले ती जग्गामा कतै विभिन्न तरकारी र फलफूल लगाएका छन् । राईले कतै ठूलो मात्रामा सयौं प्रजातिका फूलको नर्सरी बनाएका छन् । उनको गोठमा ५५ वटा गाई छन् । ती गाईबाट उत्पादन भएको दूध धरान बजारमा दैनिक पाँच सय लिटर बिक्री गर्छन् ।   

त्यस्तै, उनको खोरमा अहिले १० वटा बङ्गुरका माउ छन् । तिनीहरूबाट जन्मिएका भएका बच्चा बेच्छन् भने उनी मासुका लागि पालिएका बङ्गुर पनि बेच्छन् । उनले कुखुरा, हाँसलगायतका पक्षीहरू पनि पालेका छन् । राईले माटोबिना साग फलाउन सकिने हाइड्रोफोनिक प्रविधिबाट सागको खेती गरेका छन् । साथै, उनले माछा पनि पालेका छन् ।   

उनको सोताङ अग्र्यानिक कृषि फर्ममा राईका बुबा–आमा, श्रीमती र छोराले पनि सहयोग गर्छन् । त्यसबाहेक उनले १६ जनालाई रोजगारीसमेत दिएका छन् । हालसम्म कृषि क्षेत्रमा उनको लगानी नै करोडौं पुगिसकेको छ । राईले धरान–७ शान्तिपथमा तरकारी तथा फलफूल बिक्री गर्न पसल पनि सञ्चालन गरिरहेका छन् । त्यसबाहेक घरमै किन्न आउनेहरू पनि उत्तिकै हुन्छन् । तरकारी, फलफूल तथा पशुपालनबाट मासिक १२ लाख रुपैयाँको हाराहारीमा कमाई भइरहेको उनी बताउँछन् । 

५५ रुपैयाँबाट सुरु भएको व्यवसाय



अहिले करोडौंको लगानी पुगेको राईको कृषि फर्मको सुरुआत भने जम्मा ५५ रुपैयाँ लगानीबाट भएको थियो । ‘सुरुमा ५५ रुपैयाँ लगानी गरेर कृषि क्षेत्रमा लागेको थिएँ, त्यही फैलिँदै अहिले करोडौंको भएको हो,’ राईले भने । सामान्य आर्थिक अवस्थाको कृष्णको परिवारसँग पहिला जम्मा छ कट्ठा जग्गा मात्र थियो । त्यसैमा बाबुले परम्परागत कृषि कर्म गर्दै आएका छन् । खासै राम्रो उब्जनी हुँदैनथ्यो । त्यसबाट जीवन धान्न नै मुस्किल पर्ने अवस्था थियो । करिब २६ वर्षअघि कृष्णले स्कुलबाट फर्किने क्रममा बाटोमा एकजना मान्छेले काँक्राको बिउ किनिरहेको देखे । त्यसपछि बिउ बेच्नेसँग सोधखोज गर्दा राम्रो फल्ने काँक्राको बिउ हो भन्ने जानकारी पाए । ‘त्यसपछि मैले पनि १० रुपैयाँमा १८ वटा काँक्राको बिउ किनेर ल्याएँ,’ उनी सम्झिन्छन्, ‘त्यो बिउलाई मलजल गर्दा जम्मा लगानी ५५ रुपैयाँ पुगेको थियो । त्यसबाट फलेका काँक्रो बिक्री गर्दा पाँच सय ५० रुपैयाँ कमाएँ । त्यहीँबाट कृषिमा सम्भावना रहेछ भन्ने बुझेर लागि परेको हुँ ।’ 

कृषिलाई परम्परागतबाट आधुनिक तरिकाले अघि बढाउने सोच भए पनि तालिमको अवसर थिएन । उनका लागि त्यसबेला रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रशारण हुने कृषि कार्यक्रम नै तालिम बने । राईले ती कार्यक्रम नियमित सुन्ने र हेर्ने गर्न थाले । साथै, उनले पत्रपत्रिकामा कृषिका समाचार देख्नेबित्तिकै पढ्न थाले ।



खेती र पशुपालन गर्दा समस्या नआउने कुरै भएन, उनले पनि धेरै रोग र विभिन्न समस्या भोग्नुभयो तर समस्यासँग कहिल्यै हार मानेनन् । यसरी सिक्दै अघि बढाएको कृषि कर्म अहिले उनी अरूलाई पनि सिकाउँछन् । उनले केही वर्षअघि बसन्तटारमा ८५ लाख रुपैयाँ लगानी गरेर आधुनिक कृषि तालिम केन्द्रका लागि भवन निर्माण गरेका छन् । उनी कृषिसम्बन्धी विभिन्न तालिम यसैमा सञ्चालन गर्छन् । राईको कृषि फर्ममा अध्ययन भ्रमणमा टाढादेखिका कृषकहरू पनि आउने गरेका छन् ।  

अर्गानिक गाउँ

धरान उपमहानगरपालिका–४ मा पर्ने बसन्तटार गाउँ अर्गानिक खेतीका लागि चर्चित छ । यो गाउँमा कृषिलाई व्यवसायीकरण गर्नमा कृष्णकै ठूलो योगदान छ । उनकै प्रेरणाले गाउँभर अहिले कृषि फर्महरू खुलेका छन् । कृषिबारे बुझ्न आउनेका लागि यो गाउँ पाठशाला जस्तै बनेको छ । 

कृष्णले आफ्नो खेतबारी मात्र होइन पूरा गाउँलाई नै अर्गानिक बनाउन निक्कै मिहिनेत गर्नु परेको थियो । अन्य गाउँलेले जस्तै कृष्णले पनि सुरुका वर्षमा धेरै उत्पादन हुने लोभमा खेतीमा रासायनिक मल र विषादीको प्रयोग गर्नु भएको थियो । तर, केही वर्षमा माटोको उर्वरा शक्ति हराएर उब्जनी घट्न थाल्यो । त्यसपछि उहाँले किन यस्तो भयो ? भनेर कारण खोज्नुभयो । धेरैतिर बुझ्दा थाहा भयो, रासायनिक मल र विषादीको प्रयोगले माटोको उर्वरा शक्ति नै हराउने रहेछ । 

बारीमा रासायनिक मल र विषादी प्रयोग गरेर आफैंले गल्ती गरेको महसुस गरी कृष्णले त्यसलाई सुधार्ने वाचा गरे । तर, बिग्रिएको माटो सुधार गर्नु त्यति सजिलो काम थिएन । त्यसका लागि निक्कै मिहिनेत गर्नु परेको उनको अनुभव छ । कृष्ण माटो सुधार्नका लागि त्यसपछि कृष्णले आफैं जैविक मल उत्पादन गर्न थाले । उनले जैविक वनस्पतिकै विषादी बनाए । कृष्ण जैविक मल र विषादी बनाउने काम अहिले पनि गरिरहेका छन् ।  

अर्गानिक खेती गर्नका लागि आफ्नो बारीमा मात्र रासायनिक मल र विषादी प्रयोग नगरेर हुने अवस्था थिएन । ‘मैले मेरो बारीमा त रासायनिक मल र विषादी प्रयोग गरिन तर गाउँमा अरूले प्रयोग गरेपछि त्यसको असर मेरो बालीमा पनि पर्ने रहेछ । त्यसो हुँदा अर्गानिक खेती गर्न सम्भव नदेखिएपछि अरूलाई पनि बुझाउने कोसिस गरें र सफल पनि भएँ,’ कृष्णले भने । 

अहिले उनको पाइला पछ्याउँदै बसन्तटार गाउँका १ सय ५० घरघुरीले अर्गानिक खेती गर्छन् । त्यसमध्ये ५५ घरको मुख्य आम्दानीको स्रोत अर्गानिक कृषि नै रहेको कृष्ण बताउँछन् । बसन्तटार अहिले कृषि अभियन्ताहरूका लागि सिकाइको थलो बनेको छ । कृषिबाट राम्रो आम्दानी गर्नुका साथै अरूका लागि प्रेरणाका स्रोत समेत बन्नु भएका कृष्णलाई विभिन्न सङ्घसंस्थाले सम्मान समेत गरेका छन् ।

परिवारसहित कृषिमै रमाइरहेका राई भन्छन्, ‘कृषिमा अलि मेहनत आवश्यक पर्छ तर सम्भावना नै छैन भन्ने कुरा गलत हो । पलायन हुनुभन्दा युवाहरूले आफ्नै ठाउँमा पसिना बगाए देश समृद्ध बन्छ, कसैले पनि परिवार पाल्न विदेश भौंतारीनुपर्ने अवस्था आउँदैन ।’ रासस   

  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार १३:१३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया