पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गरिने

पोखरालाई देशकै ‘पर्यटकीय राजधानी’ घोषणा गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थितिमा यही चैत ४ गते पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो । 

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा घोषणा कार्यक्रम गरिने प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले जानकारी दिए ।

उनका अनुसार घोषणा मूल समारोह अघि वसुन्धरा उद्यानबाट विभिन्न सांस्कृतिक झाँकीसहितको र्‍याली निकालिनेछ । घोषणा समारोह फेवाताल किनार बाराही घाटमा हुने आयोजकले जनाएको छ । ‘प्रदेशका विभिन्न जाति तथा समुदायका मौलिक झाँकीसहितको र्यालीपछि समारोह हुनेछ । राजधानी सहरको प्रतिमा अनावरणपछि औपचारिक रुपमा घोषित हुनेछ’, उनले भने । 

घोषणा समारोहलाई भव्य बनाउका लागि पोखरा महानगरका प्रमुख धनराज आचार्यको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ । सो समितिमा प्रदेश सरकारका प्रमुख सचिवसहित सबै सचिवहरू, पोखराका छिमेकी पालिका रुपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण, स्याङ्जाको फेदीखोला, तनहुँको शुक्लागण्डकी, पर्वतको कुश्मा र मोदी गाउँपालिकाका अध्यक्ष, पर्यटन संघ संस्थालगायत रहेका छन् ।

राजधानी घोषणा समारोहलाई भव्य बनाउन र यसको महत्वलाई अन्तर्राष्ट्रियस्तरमा समेत बुझाउनका लागि नेपालस्थित चीन र भारतका राजदूत र विभिन्न देशका नेपालस्थित कूटनीतिक नियोगका प्रमुखलाई आमन्त्रण गरिएको बताइन्छ । 

प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि अध्ययन समिति गठन गरेको थियो । सो समितिले गत फागुनमा प्रतिवेदन सरकारलाई बुझाएको थियो । पोखरा महानगर प्रमुख धनराज आचार्यले घोषणा समारोहलाई उत्सवका रुपमा मनाउने गरी भव्य बनाउने गरी तयारी गरिएको बताए । पोखरा पर्यटनको पर्यावाची भएकाले धेरै लामो छलफल र अध्ययनपछि औपचारिक रुपमा राजधानी घोषणा गर्न लागिएको बताए । 



‘पोखरा के हो भन्नेमा कुनै दुविधा छैन, पोखरा पर्यटनको केन्द्र हो, गन्तव्य हो र पर्यटनको पर्यायवाची हो । सबै हो भने क्यापिटल सिटी अफ टुरिजम पनि किन न भन्ने भनेर घोषणा गर्दछौँ । यसबाट गण्डकी प्रदेशसहित समग्र देशको समृद्धिमा टेवा पुग्नेछ’, महानगर प्रमुख आचार्यले भने । उनले पर्यटकीय राजधानी घोषणपछि आवश्यक पूर्वाधार तथा मापदण्डको पहिचान, सेवाको गुणात्मकतालगायतमा सुधार गर्दै लगिने बताए ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । व्यवसायीले लामो समयदेखि राजधानी घोषणा गर्न माग गर्दै आएका थिए ।  



  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार ११:३१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया