रैथाने बाली संरक्षणमा चुनौती

आधुनिक प्रविधिको विकास र बसाइँसराइको कारण बागलुङमा रैथाने बाली संरक्षणमा चुनौती बढेको छ । एक दशक अगाडिसम्म बागलुङको ग्रामीण क्षेत्रमा खेती हुने कोदो, सिमी, फापर, जौँ, उवालगायतका खाद्य बाली पछिल्लो समय निकै कम हुने गरेको छ । खेती कम हुन थालेसँगै उत्पादन पनि घटेको छ । 

किसानलाई रैथाने बाली खेतीतर्फ आकर्षित गर्नका लागि कृषि ज्ञान केन्द्रले कृषकलाई प्रोत्साहन गर्न थालेको छ । किसानलाई नयाँ प्रविधिसँग जोड्ने र पुराना खेतीलाई पनि संरक्षण गर्ने गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

रैथाने बालीले बजार र उत्पादनअनुसारको मूल्य नपाउँदा किसान मर्कामा पर्दै आएका थिए । उन्नत जातका खाद्य बाली फस्टाउन थालेपछि कृषकले पनि रैथाने बाली खेती गर्न छोड्दै गएका हुन् । परम्परागत बाली गाउँको पाखो बारीमा उत्पादन हुने गर्थे । तर पछिल्लो समय ती बाली उत्पादन हुने बारी वनमाराले ढपक्क ढाकिएका छन् । खेती भइरहेका बारीमा पनि फलफूललगायत अन्य नगदेबाली लगाइएको छ । स्वादिष्ट र स्वास्थ्यका लागि फाइदाजनक पुरानो बाली संरक्षण बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले बजेट विनयोजन गरेको छ । 

विगत वर्षहरुमा कृषकलाई परम्परागत बालीलाई उत्पादन गर्नका लागि बिउलगायत आवश्यक सहयोग गरेको ज्ञान केन्द्रले यस वर्ष प्याकेजिङ र बजारीकरण गरी दिने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले जानकारी दिए । यसका लागि ज्ञान केन्द्रले रु १२ विनियोजन गरेको छ । सुरुआती चरणमा रैथाने बाली उत्पादनका लागि आठ लाख रुपैयाँ र बजारीकरणका लागि चार लाख रुपैयाँ बजेट छुट्याएको छ । ग्रामीण क्षेत्रबाट बजार झर्ने बढेपछि रैथाने बाली संरक्षण गर्न नसकिएको सूचना अधिकारी पुन मगर बताउँछन् ।

बागलुङमा १८ हजार ४५६ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको ज्ञान केन्द्रले जनाएको छ । हरेक वर्ष २३ हजार ४५६ मेट्रिक टन कोदो उत्पादन हुने गरेकोमा पछिल्लो समय घट्दै गएको छ । ज्ञान केन्द्रका अनुसार बागलुङमा अहिले ८५ हेक्टरमा क्षेत्रफलमा फापरको खेती हुने गरेको छ  । हरेक वर्ष १२० मेट्रिक टन फापर उत्पादन हुने गरेको तथ्याङ्क छ । 





  • प्रकाशित मिति : चैत ३, २०८० शनिबार ९:९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया