नेपाली फिल्ममा नायकजत्तिकै लोकप्रिय खलनायक
यी हुन् चर्चित नेपाली भिलेन

 नेपाली चलचित्रको सुरुदेखिको ट्रेन्ड हेर्दा फिल्मको सफलताका लागि नायक–नायिकाको जति भूमिका हुन्छ, खलनायक–खलनायिकाको भूमिकालाई पनि कम आँक्न मिल्दैन । नायक–नायिकाले सकारात्मक भूमिका निर्वाह गर्ने भएकाले प्रायः दर्शक उनीहरूको फ्यान बन्ने गर्छन् । तर, पछिल्लो समय नायक–नायिका मात्र होइन, खलपात्रको फ्यान फलोइङ पनि बढ्दै गएको पाइन्छ ।

दर्शकको दृष्टिकोणमा परिवर्तन आएसँगै खलपात्रको भूमिकालाई अभिनयका दृष्टिले मन पराउने क्रम बढ्दो छ । नेपाली चलचित्रका कतिपय खलपात्र (भिलेन)हरू पनि हिरोकै हारहारीमा दर्शकमाझ लोकप्रिय बन्दै गएका छन् । अझ पछिल्लो समय कतिपय फिल्ममा त दर्शकले हिरोलाई भन्दा भिलेनलाई रुचाउने गरेको पाइएको छ । 

त्यसको जल्दो बल्दो उदाहरण हुन्– प्रशान्त ताम्राकार, अनुपविक्रम शाही, प्रमोद अग्रहरी र अर्पण थापा । कुनै जमानाका सुनील थापा, टीका पहारी, नीर शाह लगायतले झैँ यी भिलेनहरूले हिजोआज दर्शकमाझ ख्याति कमाइरहेका छन् । अझ प्रशान्त ताम्राकार र अनुपविक्रम शाहीलाई त दर्शकले ह्यान्डसम भिलेनको ट्याग नै दिएका छन् । 

प्रमोद र अर्पण थापा भने हिजोआज चर्चामा रहेका भिलेनहरू हुन् । उनीहरू एकपछि अर्को गर्दै नयाँ–नयाँ फिल्महरूमा खलपात्रका रूपमा छाइरहेका छन् । प्रमोदले हालै मात्र चित्रा, अगस्त्यजस्ता फिल्ममा भिलेनको भूमिका निर्वाह थिए । उनको अभिनय, लुक्स र उनले बोलेका संवादहरूले बाजारमा निकै तहल्का पिटिरहेको छ । उनलाई भिलेन बन्नका लागि उनको आवाज र लुक्सले मज्जाले साथ दिएको पाइन्छ । प्रमोद आउँदो फिल्म पीताम्बरमा अनुबन्धित भइसकेका छन् । 

त्यस्तै, अर्पण थापाले हालै प्रसाद २, दिमाग खराब, रंगेली  । फिल्मी पर्दामा हरेक प्रकारको भूमिकालाई बलियो रूपमा निर्वाह गर्न सक्ने यी कलाकारलाई दर्शकले पनि खलपात्रको रुपमा बढी रुचाएका छन् । अहिले हलमा चलिरहेको फिल्म रंगेलीमा उनी भगवान् दादाको भूमिकामा छन् । जसलाई दर्शकले निकै रुचाएका छन् । अर्पणलाई भने दर्शकले आगामी फिल्म मेयरमा पनि देख्न पाउनेछन् । 

अर्का अभिनेता अनुप शाही आफूलाई हिरोको रुपमा स्थापित गर्न संघर्षरत छन् । दर्शकले भने उनलाई हिरोभन्दा भिलेनका रूपमा बढी रुचाइरहेका छन् । ‘हसियाँ’ फिल्ममा निर्वाह गरेको भूमिकाले उनलाई दर्शकमाझ ह्यान्डसम भिलेनको रुपमा चिनायो । र अब अनुपको भूमिका आउँदो फिल्म पीताम्बरमा पनि देख्न पाइनेछ । 



त्यस्तै, ‘ऐश्वर्य’मा निर्वाह गरेको भूमिकापश्चात् प्रशान्तलाई भिलेनमै धेरै निर्माता तथा निर्देशकले प्रस्तुत गर्दै आएका छन् । मोडलिङ हुँदै अभिनेता बनेका उनी भिलेनमा खोजिने अनुहारमै पर्छन् । आउँदो फिल्म मायावीमा प्रशान्तको भूमिका दर्शकहरूले हेर्न पाउनेछन् । 

हिरो हुन् वा भिलेन दुवै कलाकार हुन्, अझ नेपाली चलचित्रमा त हिरोको भूमिकालाई अब्बल साबित गर्न भिलेनको प्रमुख भूमिका रहँदै आएको छ । भिलेनको बदमासीको प्रतिकार गरेकै कारण हिरोले नायकत्व स्थापित गर्न पाउने हो भन्ने कुरा दर्शकले बुझ्न थालेका छन् । हिरो हुन् वा भिलेन उनीहरूले निर्वाह गरेको भूमिकालाई दर्शकले अभिनयको दृष्टिले हेर्न र बुझ्न जरुरी छ । 



  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार १९:२१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया