राजनीतिक विश्लेषक भन्छन्– वर्तमान राजनीतिक ध्रुवीकरण सिद्धान्तहीन, व्यवस्थामाथि नै खतरा

राजनीतिक विश्लेषकहरुले नेपालमा सिद्धान्त र विचारविहीन राजनीतिक ध्रुवीकरण हुने गरेको भन्दै यस्तो भइरहेमा राजनीतिक दुर्घटना निम्तिन सक्ने खतरा औँल्याएका छन् । 

राजनीतिक दलहरुले विचार, सिद्धान्त र एजेण्डामा एकरुपता नहेरी सत्ता स्वार्थमा राजनीतिक ध्रुवीकरण गर्ने गरेकाले यसको निरन्तरता भइरहे निकट भविष्यमा राजनीतिक दुर्घटना निम्तिनसक्ने बताएका हुन् । उनीहरुले राजनीतिक दलहरु निश्चित आधार मुद्दा र मापदण्डका आधारमा नभई केवल सत्ता स्वार्थका खातिर ध्रुवीकृत अथवा विकेन्द्रित हुने गरेका बताएका छन् । 

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले अहिलेको राजनीतिक गठबन्धनहरु आफूले अवसर पाउने कुरामा मात्रै केन्द्रित भएको बताए । सिद्धान्तविहीन र नीतिविहीन ध्रुवीकरण केवल अवसरको भोगचलनका लागि मात्रै हुने बताए । देशमा ठूलो संकट पर्दा र एक हुनुको विकल्प नहुँदा राजनीतिक दलहरुका बीचमा मिलेर देश चलाउनुपर्ने अवस्था आउने उनको भनाइ छ । उनले अहिले त्यस प्रकारको अवस्था नभएको बताए । 

सत्तालाई नै अन्तिम सत्य मानेर केवल शक्ति बाँडफाँट र सरकार फेरबदल हुने गरेको भन्दै उनले यसले नागरिकको निराशालाई बढाउने बताए । नागरिकको निराशा बढ्दै गएमा त्यसले भयानक विष्फोट गराउने दाबी गर्दै उनले नागरिकको निराशा विष्फोट भएमा सो विष्फोट राजनीतिक प्रणालीमाथि नै हुन सक्ने औँल्याए । 

‘यो बिल्कुलै सिद्धान्तविहिन, एक प्रकारले भन्ने हो भने अराजक र नीतिविहिन पनि भन्न मिल्छ । किनभने विचार मिल्नेहरुका बीचमा सहकार्य हुन्छ । सहयात्रा, गठबन्धन हुन्छ । एकदमै ठूलो राष्ट्रिय संकट परेको छ भने त्यस्तो बेलामा सबै एक ठाउँमा हुन सक्छन्,’ उदाहरण पेस गर्दै उनले भने, ‘जस्तोः ०६२/०६३ सालमा राजा मान्ने बाहेक सबै विचारमा मान्छे एक ठाउँमा भए । त्यस्तो अवस्था आउनसक्छ । अन्यथा सामान्य अवस्थामा जति सत्ताका लागि गठबन्धनहरु भएका छन् ति सिद्धान्तविहिन नै हुन् ।’ 

विश्लेषक दाहालले राजनीतिक दलका नेताहरुले नैतिकता देखाउनुपर्ने बताए । कसैमाथि नैतिक प्रश्न उठेमा त्यो प्रश्नको समाधान हुनुपर्ने पनि उनले बताए । 



अर्का राजनीतिक विश्लेषक डम्बर खतिवडाले देशका राजनीतिक दलहरुमा सत्तामा जानु नै उपलब्धि हासिल हुनु र सत्तामा जान नसक्नु नै असफल हुनु हो भन्ने भाष्य स्थापित भएको बताए । यसकारण देशको राजनीति अवसरवाद र अनैतिकतामा पुगेको बताउँदै उनले वर्तमान राजनीतिक अवस्थालाई ध्रुवीकरणको अवस्था भन्न समेत नसकिने बताए । 

साझा मुद्दाका आधारमा एकताबद्ध हुने कुरालाई ध्रुवीकरण भन्न सकिने, तर नेपालमा भने सत्तालिप्सा र गणितको खेलमा मात्रै एक हुने गरिएकाले त्यसलाई धु्रवीकरण मान्न नसकिने उनको भनाइ छ । राजनीतिक विश्लेषक खतिवडाले यसप्रकारको राजनीतिक परिपाटीले देशलाई यथास्थितिको गोलचक्करमा फसाउने अथवा राजनीतिक शक्तिहरुको विश्वसनीयता समाप्त हुने बताए ।



‘ध्रुवीकरणको निश्चित आधार, मुद्दा र मापदण्डहरु हुन्छन् । निश्चित आधार, मुद्दा र मापदण्डका आधारमा राजनीतिक शक्ति र दलहरु एकातिर हुने र अर्का खालका अर्कोतिर हुने प्रक्रियालाई ध्रविकरण भन्छौँ,’उनले भने, ‘योचाहिँ ध्रुवीकरण नभएर अकं गणितको खेल र सत्तालिप्सा मात्रै हो भन्ने मलाई लाग्छ ।’

  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार २१:५०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया