प्रहरी प्रमुख कुँवरले भने- सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिएन

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार प्रमाण नदेखिएको बताएका छन् । 

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले पोखराको सूर्य दर्शन सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार, प्रमाण नरहेको बताए । उनले गृहमन्त्री लामिछानेको सम्बन्धमा ठाडो उजुरी आएको र अनुसन्धान गर्दा तथ्य प्रमाण नभेटिएको बताए । जिबी राईको सम्बन्धमा नेपाल प्रहरी संवेदनशील रहेको र सोही अनुरुप पक्राउ गर्ने प्रक्रियामा लागेको बताए । राई मलेसियामा भए पनि नेपाल र मलेसियाका बीचमा सुपुर्दगी सन्धि नभएका कारण नेपाल पठाउन मलेसिया सरकार बाध्य नभएको बताए । 

उनले भने, ‘जिबी राईको इस्युमा हामी संवेदनशील छौँ । यो इस्युको मेन जड त्यही हो भन्ने हामीलाई लाग्छ । हामीले डिफ्युजन नोटिस जारी गर्‍यौँ । रेड कर्नर नोटिश जारी गर्‍यौँ । सम्बन्धित पक्ष मलेसियामा छ नै भन्छौँ । मलेसियामा सुपुदर्गी सन्धि छैन । हामीले आग्रह पत्र पठाएका भए पनि मलेसियन सरकार बाध्य भएको छैन । इन्टरपोलले फिर्ता पठाउन सक्दैन । अझै पनि हामी मेरो तहबाट काम गर्दै छौँ । सहकारीको विषयमा ठाडो उजुरी आयो । अनुसन्धान गर्दाखरी तथ्य प्रमाण भेटिँदैन, रवि लामिछानेमा अहिलेसम्मको तथ्य, प्रमाणमा कुनै पनि आधार देखिँदैन ।’ 

महानिरीक्षक कुँवरले प्रहरीले पक्राउ गरी बयान गराउँदा सांसद विनोद चौधरीको व्यक्तिगत स्वतन्त्रतामा अतिक्रमण हुने ठानेर प्रहरी अतिरिक्त सचेत बन्दै संसद्लाई पत्र पठाएको स्पष्ट पारे । उनले चौधरीमाथि किर्ते प्रकरणमा अनुसन्धान जारी रहेको र सो अनुसन्धान एक वर्षसम्म चल्ने बताइ ।

उनले भने, ‘हामीले स्वाभाविक रूपमा यसमा सहजीकरण गरेकै हो । एक दिनमा बयान सकिन्छ भने पक्राउ पुर्जी जारी नगरौँ । तर सरकारी वकिल कार्यालयमै राखेर, सरकारी वकिलकै रोहबरमा बयान चाहिँ गरौँ भन्ने भइसकेपछि , बयान गर्दा खेरी केही समय त उहाँको व्यक्तिगत स्वतन्त्रताको अतिक्रमण भयो नि । त्यो कारणले हामी अतिरिक्त सचेत बनेर, संवेदनशील बनेर संसद्लाई जानकारी गराएका हौँ । पक्राउ भएको अवस्थामा पनि हामीले जानकारी गराउने कुरा मात्रै हो । संसद् सचिवालयबाट यसो गर, उसो गर भनेर दोहोरो लेखापढी हुँदैन  प्रक्रिया यही हो । किर्तेमा अहिले पनि अनुसन्धान जारी छ । यो एक वर्षसम्म अनुसन्धान जारी हुन्छ ।’

महानिरीक्षक कुँवरले पूर्व सभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणको अनुसन्धानमा नसघाउने देखेर पक्राउ गर्नुपरेको बताए । महराले गाडी र पिएसओ समेत छोडेर हिँडेपछि पक्राउ गर्नुपरेको बताए । महराको स्वास्थ्य अवस्थाका कारण रिहाइ गरिएको भन्दै उनले कुनै दबाब र प्रभावमा नगरिएको बताए । 



उनले भने, ‘आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सिलसिलामा हामी संवेदनशील बन्यौँ । कानुनी दायरामा ल्याउनुपर्छ भन्ने हिसाबले गयौँ । उहाँको स्वास्थ्य अवस्थादेखि सबै कारणले हामी लिबरल नै हुने भनेका थियौँ । तर यहाँ मैले त्यो शब्द प्रयोग गर्दिनँ । हामीलाई आभास भयो । आभास नभएको कारणले कमसेकम हामीलाई सहयोग नगर्ने हो कि, त्यो अवस्था हुने हो कि ? अहिलेको अवस्थामा यदि सहयोग गर्न सकिने अवस्था भएन भने हामीलाई समस्या आउँछ भन्ने हिसाबले हामीले त्यो अवस्थामा ल्याएका हौँ । त्यति बेला उहाँले पिएसओ र गाडी छोडेर हिँड्नुभएको छ । अब यो सम्मको संकेत गरिसकेपछि यहाँहरूले अनुमान गर्न सकिन्छ । पछि छोड्ने विषयको कुरा, पहिले धेरै अनुसन्धान भइसकेका विषय थिए । थप कुराहरू आयोगले औँल्याएका कुराहरूलाई स्पष्ट गर्ने कुरा थिए । त्यसलाई हामीले स्पष्ट गर्‍यौँ । अदालतले पनि उहाँको स्वास्थ्य अवस्था हेरेर अस्पतालमै राखेर मुद्दाको कारबाही अगाडी बढाउनु भनेको कारण र पछिल्लो अवस्थामा हाम्रो हिरासतमा बस्दाबस्दै अरू घटना हुन सक्ला भन्ने हिसाबले पनि हामीले तारिखमा राखेर अनुसन्धान गर्ने भन्यौँ । यसमा कुनै दबाब, प्रभाव, यसो र उसो भन्ने हुँदै होइन ।’

महानिरीक्षक कुँवरले जीवन चलाउनेले प्रहरीमाथि लगाएको आरोपहरूको सन्दर्भमा सम्बन्धित व्यक्ति पक्राउ नहुँदासम्म सो कुरालाई तथ्यको रूपमा लिन नसकिने बताए ।  



  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार १६:१८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया