राजनीतिक दलका लागि सत्ता मात्रै महत्त्वपूर्ण बन्दा लोकतन्त्रमाथि खतरा : प्रदीप पौडेल
फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राजनीतिक दलका लागि सत्ता मात्रै महत्त्वपूर्ण बन्न थालेको बताएका छन् । बुधबार विश्व परिवेशमा प्रजातन्त्र र मानव अधिकार रक्षार्थ सञ्चार वकालत कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले अहिले राजनीतिक दलहरूका लागि सत्ता नै सबै थोक हुने गरेको उल्लेख गरे । उनले नयाँ राजनीतिक दल वा पुराना राजनीति दलहरू सबैका लागि सत्ता नै सबै थोक भएको भन्दै यसले लोकतन्त्रको रक्षा हुन नसक्ने जिकिर गरे । उनले सत्ता प्राप्तिका लागि राजनीतिक दलहरू मानव अधिकार उल्लंघन गर्न पनि तयार हुने गरेको बताए । उनले सत्ता केन्द्रित राजनीतिक मनोविज्ञान भएको हुनाले नागरिक आन्दोलनले मात्रै निःस्वार्थ ढंगबाट कुराहरू उठाउन सक्ने बताए । उनले अहिले नागरिक आन्दोलन कमजोर बन्दै गएको बताए । 

उनले भने, ‘अहिले नागरिक आन्दोलन कमजोर भएको छ । नागरिक आन्दोलन नै छैन । त्यसैले राजनीतिक दल सत्तामा जान्छ, सत्तामा गएपछि विपक्षमा हुँदा जे कुरा गर्दथ्यो, सत्तामा गएपछि फरक कुरा गर्दछ । राजनीतिक दलका लागि विशेष गरी नेपालको परिवेशमा सत्ता मात्रै उसको सबै थोक भयो । नयाँ भन्नुस्, पुराना भन्नुस्, सबै दलको मुख्य विषय नै सत्ता भयो । त्यसैले सत्ता प्राप्तिका निम्ति मानव अधिकार उल्लंघन गर्न पनि तयार, लोकतान्त्रिक मूल्य, मान्यतालाई परित्याग गर्न पनि तयार छ, उसको दर्शन मान्यतालाई छोड्न पनि तयार छ । एकदमै धेरै सत्ता केन्द्रित राजनीतिक मनोविज्ञान भएको हुनाले नागरिक आन्दोलनले मात्रै निःस्वार्थ ढंगबाट कुराहरू उठाउन सक्छ ।’

सांसद पौडेलले संसदको चुनाव गर्ने र बहुमत जुटाएर प्रधानमन्त्री बन्ने कुरा मात्रै लोकतन्त्र नभएको बताए । उनले राज्यले आम नागरिकप्रति उत्तरदायी भएर काम गर्नु र सरकार जबाफदेही बन्नु लोकतन्त्र भएको बताए । उनले सुशासनको स्थिति अहिले विगतको भन्दा कमजोर रहेको बताए । उनले आम जनताको न्यायमा पहुँच पुग्न नसक्नु अर्को विडम्बना भएको बताए । 

उनले भने, ‘लोकतन्त्र भनेको खालि संसदको चुनाव गर्ने, त्यहाँ बहुमत सङ्ख्या जुटाएर प्रधानमन्त्री बन्ने मात्रै होइन । लोकतन्त्रको मानक के हो ? भन्दा राज्यले आम नागरिकप्रति उत्तरदायी भएर काम गरेको छ की छैन, सरकार जबाफदेही बनेको छ की छैन, त्यो मुख्य सवाल हो । त्यससँग जोडेर हेर्दा सुशासनको स्थिति पहिलाको भन्दा अहिले खस्किएको अवस्था छ । आम मानिसको न्यायमा पहुँच पुग्न सकेको स्थिति छैन ।’

उनले विधिको शासन स्थापित गर्न चाहने देशमा पहुँच पुगे मात्रै न्याय प्राप्त गर्ने स्थिति बन्नु दुःखद भएको बताए ।





  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार १७:४२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया