निर्मला प्रकरणबारे गृहमन्त्री भन्छन्– यस्तो अरु देशमा पनि हुन्छ, अमेरिकामा पनि हुन्छ

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त प्रकरणमा गृहलाई जोडेर ‘अपराधी बचाउन खोज्यो’ भन्नु दुःखद् भएको बताएका छन् ।

आज मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्याको घटना जघन्य अपराध भए पनि यस्ता घटनालाई पूर्ण रुपमा रोक्न नसकिने बताए । 

निर्मला हत्या प्रकरण नौलो नभएको बताउँदै गृहमन्त्री थापाले भने, ‘निर्मला प्रकरणहरु यसअघि पनि थिए, आज पनि छ र भोलि पनि केही समयसम्म रहन्छ । यस किसिमको अपराधलाई पूर्ण रुपमा निषेध गर्न हामी सक्दैनौँ ।’

‘यो घटनामा गृह नै जोडिएको छ, अपराधीलाई बचाउन खोजिएको छ भनेर राजनीतीकरण गर्नु दुःखद् हो,’ निर्मला प्रकरणको राजनीतीकरण भएको भन्दै उनले प्रश्न गरे, ‘के साँच्चै गृहले छुटाउन खोजेकै हो त ?’

९७ प्रतिशत अपराधका घटनामा प्रहरीले दोषी पत्ता लगाएको तथ्यांक दिँदै गृहमन्त्री थापाले केही घटनामा सफलता हात पार्न नसक्नु सामान्य भएको टिप्पणी गरे । विगतका सरकारका पालामा भएका घटनामा पनि यस्तो हुने गरेको जिकिर गर्दै गृहमन्त्री थापाले यस्तो अरु देशमा पनि हुने, अमेरिकामा पनि हुने तर्क दिए ।

अन्त्यमा, गृहमन्त्री थापाले निर्मला प्रकरण र यस्ता आपराधिक घटनामा संलग्नलाई कानुनी कठघरामा ल्याउन सरकार प्रतिबद्ध रहेको दोहोर्याए । 





  • प्रकाशित मिति : साउन ७, २०७६ मंगलबार १४:३९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया