अन्नपूर्ण पदमार्गका होटलको क्षमता विस्तार

अन्नपूर्ण आधार शिविर घुम्न जाने पर्यटकलाई पर्याप्त सेवासुविधा उपलब्ध गराउन यहाँका होटल सञ्चालकले होटलको क्षमता तथा संख्या विस्तार गर्न थालेका छन् । 

शिविर जाने पर्यटकलाई सेवा दिइरहेका यहाँका २६ होटलले पर्यटकको चाप थेग्न नसकेपछि क्षमता तथा संख्या विस्तार गर्न लागेका हुन् । अन्नपूर्ण क्षेत्रमा बर्सेनि बढिरहेको पर्यटकको संख्यालाई मध्यनजर गर्दै अन्नपूर्ण गाउँपालिकाले त्यसको तयारी थालेको हो । लगभग ४० वर्ष अघिसम्म अन्नपूर्ण आधारशिविर जाने पर्यटक त्यहाँका भेडीगोठ र चित्रा/भकारीले बारेका झुपडीमा बस्ने गरेका थिए । 

विसं २०४३ मा स्थापित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को विशेष पहलमा २०४९ सालपछि उक्त क्षेत्रमा होटल सञ्चालनमा आएका हुन् । एक्यापले निर्धारण गरेको मापदण्डअनुसार पदयात्रा मार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छे« आधारशिविर र अन्नपूर्ण आधारशिविरसम्म २६ होटल सञ्चालन गरिएको थियो । मापदण्डअनुसार प्रत्येक होटलमा ६ कोठाका दरले हालसम्म १५६ कोठामा पर्यटकलाई बस्ने व्यवस्था मिलाइएको छ । 

बर्सेनि बढिरहेको पर्यटकको चापका कारण होटलको संख्या थप गर्ने विषय केही वर्ष अघिदेखि उठे पनि त्यो कार्यान्वयनमा आउन सकेको थिएन । होटलबाट यसअघि एक्यापले नै राजस्व उठाउँदै आएकामा चालू आर्थिक वर्षदेखि अन्नपूर्ण गाउँपालिकाले राजस्व उठाउँदै यहाँको व्यवस्थापन एवं दीर्घकालीन संरक्षणका लागि पहल थालेको छ । 

नयाँ संविधानअनुसार स्थानीय साधनस्रोतको संरक्षण एवं उपभोगको अधिकार स्थानीय तहलाई हुने प्रावधानअनुसार अन्नपूर्ण गाउँपालिकाले प्राकृतिक स्रोतसाधन उपयोग कार्यविधि–२०७४ तयार गरिसकेको छ । 

संविधान कार्यान्वयनको विषयले देशव्यापी चासो र चर्चा पाइरहेका अवस्थामा गाउँपालिकाले स्थानीय साधन स्रोतको उपयोगका लागि कार्यविधि जारी गरी त्यसअनुरुप काम थाल्नु अन्य स्थानीय तहका लागि पनि अनुकरणीय विषय भएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव २०७४ का कानुनी सल्लाहकार अधिवक्ता हरिप्रसाद भट्टराईले बताए । 



कार्यविधिका आधारमा यहाँको पर्यावरणीय संरक्षण समेतलाई ख्याल गर्दै होटेलको क्षमता एवं संख्या विस्तारका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको गाउँपालिकाका प्रमुख युवराज कुँवरले बताए ।

नजरमान गुरुङको संयोजकत्वमा गठित कार्यदलले अध्ययन थालिसकेको जानकारी दिँदै उनले कार्यदलको प्रतिवेदनअनुसार होटेलको क्षमता एवं संख्या वृद्धि गरिने बताए । कार्यदलका सदस्य ललित गुरुङका अनुसार गत वर्ष मात्रै अन्नपूर्ण आधारशिविरसम्म ३२ हजार विदेशी पर्यटक पुगेका थिए । 



‘अन्नपूर्ण क्षेत्रमा होटल सञ्चालन सुरु गर्दा तत्कालीन समयमा पाँच हजारको संख्यामा विदेशी पदयात्री आएको तथ्यांक छ,’ गुरुङले भने, ‘हाल त्यसको ६ गुणाभन्दा बढी विदेशी पर्यटक यस क्षेत्रमा आएका छन्, पछिल्लो समयमा यहाँ आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ ।’ 

पथप्रदर्शक एवं सहयोगी र आन्तरिक पर्यटक समेतलाई हेर्दा अघिल्लो वर्ष झन्डै ८० हजार पर्यटकले अन्नपूर्ण आधार क्षेत्रको भ्रमण गरेका थिए । अन्नपूर्ण क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गरी यसको उचित व्यवस्थापन, प्रवद्र्धनलगायतमा सहयोग पु¥याउने उद्देश्यले अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०७४ सम्पन्न गरिसकिएको महोत्सव मूल आयोजक समितिका संयोजकसमेत रहेका गुरुङले बताए । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्वकीर्तिमान राखेसँगै यस अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो । 

आठ हजार ९१ मिटर उचाइ रहेको अन्नपूर्ण प्रथम हिमाल आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । 

अन्नपूर्ण हिमालको आरोहण गरिएको डेढ दशकपछि सन् १९६६ मा एरिक सिप्टनले चार हजार १३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधारशिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनिएको हो । घान्द्रुकबाट पदयात्रा गर्दै आधारशिविरसम्म पुग्न बाह्य पर्यटकले सामान्यतः चार दिनको समय छुट्याउने गरेका छन् भने आन्तरिक पर्यटक तीन दिनमै पुग्छन् । 

अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार विगतमा पदयात्रामा आउने बाह्य पर्यटकले स्थानीयवासीले पकाएको दालभात, ढिँडोजस्ता लेकाली खाना खानुपर्ने बाध्यता रहेकामा पछिल्ला वर्षमा यहाँका होटलले विदेशी परिकार पनि तयार गर्न थालेका छन् । २०४३ सालमा एक्याप स्थापना भएयता स्थानीयवासीलाई विभिन्न समयमा तालिम दिइएको छ भने होटलले विदेशी परिकार बनाउन सक्ने तालिमप्राप्त कर्मचारी राख्न थालेका छन् । 

होटलको क्षमता एवं संख्या विस्तारका साथै प्रकृतिको अनुपम वरदानयुक्त पदमार्ग क्षेत्रका देउरालीको पूर्वतर्फको पहाडमा रहेको बुद्धाकृति, दोभान र हिमालको बीचमा अवस्थित अति प्राचीन पूजनीयम् वराह र सो मन्दिर परिसरबाट देखिने १०८ धारा, झिनुडाँडास्थित तातोपानीको कुण्डजस्ता स्थललाई थप व्यवस्थित गर्दै त्यसको प्रचारप्रसार गर्नु अपरिहार्य भएको स्थानीयवासी बताउँछन् ।

पाटा ट्राभल मार्टमा नेपाल सहभागी

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरेअनुसार नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि स्वदेश तथा विदेशमा समेत प्रचारात्मक गतिविधिलाई तीव्रता दिएको छ । 

बोर्डले नेपाल भ्रमण वर्षलाई प्रभावकारी प्रचार गर्ने लक्ष्यका साथ ‘पाटा ट्राभल मार्ट २०१८’ मा बायर्स लाउन्जको प्रायोजन गरेको थियो । सो लाउन्जमा करिब २०० भन्दा बढी अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा क्रियाशील व्यवसायीले व्यापारिक छलफल तथा नेपालका गन्तव्यका बारेमा चासो व्यक्त गरेका थिए । 

पाटा नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमसँगको सहकार्य तथा समन्वयमा नेपाली पर्यटन व्यवसायी, विद्यार्थी तथा सञ्चारकर्मीसहितको टोलीले गत भदौ २७ देखि २९ गतेसम्म मलेसियाको लंकाबीमा आयोजित पाटा ट्राभल मार्टको ४१औं संस्करणमा सहभागिता जनाएको थियो । 

मलेसिया सरकारले आयोजना गरेको पाटा ट्राभल मार्टमा नेपालबाट १० पर्यटन व्यवसायी र संस्थाको सहभागिता थियो । पाटा ट्राभल मार्टमा विश्वभरिका ७० गन्तव्यबाट कुल एक हजार ४ सय प्रतिनिधिले सहभागिता जनाएको पर्यटन बोर्डले जनाएको छ । पाटाले नेपाल, बंगलादेश, सिंगापुर, क्यानडा, फिलिपिन्स तथा मलेसियाबाट २ सय १० युवा पर्यटन व्यवसायीलाई पनि आमन्त्रण गरेको थियो । 

बोर्डका वरिष्ठ प्रबन्धक सुनील शर्माले नेपालको अलौकिक सौन्दर्य र विविधताका बारेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि चासोका साथ हेरेको भन्दै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षका कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पाटा ट्राभल मार्ट नेपालको विविधता संसारसामु देखाउने अनुपम अवसर भएको बताउनुभयो । पाटा ट्राभल मार्टमा राखिएको नेपालको कक्षमा दर्शकको आकर्षण थियो । 

खासगरी परम्परागत प्यागोडा तथा स्तुपा शैलीमा सजाइएका नेपाली पेभिलियनमा नेपालको प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनका विविध सेवा तथा वस्तु राखिएको थिए । पाटा नेपाल च्याप्टरका मुख्य कार्यकारी निर्देशक सुरेशसिंह बुडालले पाटा नेपाल च्याप्टरले बेस्ट च्याप्टर अवार्ड पाउनु नेपाली पर्यटन क्षेत्रका लागि गर्वको विषय भएको बताउँदै दिगो पर्यटन विकासका लागि आवश्यक जिम्मेवारी अनुरुप युवापुस्तासँगको आबद्धतालाई प्राथमिकतामा राख्ने बताए ।
 

  • प्रकाशित मिति : असोज २, २०७५ मंगलबार ११:१४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया