काठमाडौं– साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व. नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना बिमा रकम हस्तान्तरण गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा सहभागी सम्पूर्ण नेपाली खेलाडीको बिमा गरेको थियो ।
स्व. नारायण पनि एसियाडका लागि छनोट भएका खेलाडी थिए । उनको एसियाडमा सहभागी हुनुपूर्व गत जेठ ३० गते श्रीलंकाको कोदामामा रम्बल इन जंगल–२०१८ मा प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको थियो ।
राखेपका सदस्यसचिव केशवकुमार विष्ट र एनएलजीका विभागीय प्रमुख अनिल गौतमले स्व. नारायणकी आमा मैया महर्जन श्रेष्ठलाई बिमाबापतको सात लाख रmपैयाँ हस्तान्तरण गरे ।
राखेपले एनएलजीसँग गत जेठ २४ गते इन्डोनेसिया एसियाडमा सहभागी हुने सम्पूर्ण नेपाली खेलाडीको एक वर्षका लागि बिमा गरेको थियो । यसअघि राखेपले एनएलजीसँगै भारतमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी खेलाडी र पदाधिकारीको समेत बिमा गरेको थियो ।
गत जेठ ३० गते मृत्यु भए पनि विभिन्न कानुनी प्रक्रिया पूरा गर्दा असार ७ गते मात्र नारायणको पार्थिव शरीर काठमाडौं ल्याइएको थियो । ३३ वर्षको उमेरमा मृत्यु भएका नारायणले आफ्नो १२ वर्षको खेल करिअरमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई १४ स्वर्ण, १३ रजत र १२ कांस्य पदक जितेको नेपाल साइक्लिङ संघले जनाएको छ ।
सो अवसरमा सदस्यसचिव विष्टले खेलाडी नारायणको निधन खेलकुदका लागि पीडादायी दिन भएको बताउँदै परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गरे ।
यसैगरी, सोही बिमा रकम हस्तान्तरण कार्यक्रममा नेपाल साइक्लिङ संघले स्व. नारायणका परिवारलाई एक लाख २५ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले स्व. नारायणकी आमा श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
मनाङ–मर्स्याङ्दीमा प्रशिक्षकमा तापे
मनाङ–मर्स्याङ्दी क्लबले नाइजेरियाका प्रशिक्षक फुजा तापेलाई क्लबमा नियुक्त गरेको छ । यही असोज १३ गतेदेखि सुुरु हुने सहिद स्मारक ए डिभिजन लिगलाई लक्षित गर्दै मनाङले नाइजेरियाका प्रशिक्षकलाई क्लबमा भित्र्याएको जनाएको छ ।
सम्झौताको रकम भने खुलाइएको छैन । मनाङका महासचिव मुखिया लामाले नाइजेरियाका प्रशिक्षकलाई क्लबमा ल्याइएको बताए । तापेले सन् २००५ मा काठमाडौंको सरस्वती युथ क्लबलाई प्रशिक्षण दिएका थिए । मनाङले केही दिनअघि अफ्रिकी खेलाडीसमेत क्लबमा ल्याइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।