महिला हिंसामा महिलाकै उदासनिता
महिला हिंसाबारे किन उदासिन छन् महिला ?

यो सन् १७८९ को कुरा हो । फ्रान्समा फ्रेन्च क्रान्ति हुँदै थियो । यो राजनीतिक विषय थियो । तर, ५ अक्टोबरमा दिन फ्रान्सका विभिन्न सहरमा महिलाहरु आन्दोलनमा निस्किए, र्याली गरे । 

उनीहरुको दबाबले गर्दा त्यहाँ जे सोचिएको थिएन, त्यो भयो ।

अर्को एउटा प्रसङ्ग सन् २०१२ को हो । यो दिल्लीमा निर्भयामाथि भएको सामूहिक बलात्कारपछि त्यहाँ निस्किएका महिलाहरुबारेको कुरा हो । निर्भयाको सामूहिक बलात्कार भएपछि दिल्लीमात्र होइन, भारतका अधिकांश सहर ठप्प भए । र, यस्तो हुनुको कारण त्यहाँका महिलाको जागरुकता थियो ।

तर, नेपालमा फरक सन्दर्भ देखिएको छ ।

फ्रान्समा भएजस्तो नेपालमा राजनीतिक क्रान्ति पनि भएको छ र नेपालका सयौं निर्भयाहरु बलात्कारको शिकार बनेका छन् । विडम्बना ! ती देशमा जस्तो नेपालमा महिलाका लागि महिला सडकमा विरलै देखिएका छन् ।

पछिल्लो सन्दर्भ कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारको घटनालाई नै लिन सकिन्छ । निर्मलाको बलात्कारपछि हत्या भयो । निकै दिनपछि यो कुरा सन्चारमाध्यममा आयो । अनि काठमाडौंका मात्र होइन, देशका विभिन्न सहरका सडक तात्न थाले ।



तर, यी सडक तात्नुभन्दा पहिले कञ्चनपुरमै सन्नी खुन्नाले आफ्नो ज्यान गुमाए । निर्मलाका लागि न्याय माग्न सडकमा निस्किएकाले नै उनले ज्यान गुमाए ।

त्यसपछि नेपाली प्रयोगकर्ताका लागि सामाजिक सन्जाल चर्को बहसको स्थान बन्यो । 



तर, महिला अधिकारकै क्षेत्रमा सक्रिय भनिएका विभिन्न दलका भातृसंगठन तथा अधिकारकर्मी न सडकमा देखिए, न सामाजिक सन्जालमा नै ।

आखिर किन हाम्रा महिलाअधिकारकर्मीलाई यस्ता घटनाले छुँदैन ?

तरुण दलकी पूर्व केन्द्रीय सदस्य तथा आफूलाई अधिकारकर्मी हुँ भनेर चिनाउन चाहने लक्ष्मी खतिवडा पनि महिला अधिकारकर्मीले महिला हिंसाका घटनामा पछिल्लो समय पर्याप्त आवाज उठाउन नसकेको स्वीकार्छिन् ।

‘हो, महिला अधिकारकर्मी र महिला संगठनको भूमिका प्रभावकारी हुन सकेको छैन,’ उनले भनिन् । 

यो तर्कसँग सहमत छैनन् कञ्चनपुरकी महिला अधिकारकर्मी पुनम चन्द । ‘अहिले देशभरको यो उभार पनि अधिकारकर्मीकै कारण आएको हो,’ उनले भनिन्,

‘अधिकारकर्मीले निरन्तर खबरदारी नगरेको भए महिला हिंसाका कतिपय घटना बाहिर आउने पनि थिएनन् ।’

त्यसो त महिला हिंसाका घटनाबारे बेखबर कुनै महिला अधिकारकर्मी छैनन् । यस्ता मुद्दालाई नजिकबाट हेरिरहेकी एक अधिकारकर्मी हुन्– मीरा ढुंगाना । उनी अधिवक्ता पनि हुन् । उनका अनुसार उनको प्रोफेसन बाहिर देखिन समस्या बन्यो ।

‘हामीजस्ता अधिवक्ताले भोलि यही घटनामाथि वकालत गर्नुपर्ने हुनसक्छ,’ उनले भनिन्, ‘त्यस्तो अवस्थामा हामी नै सडकमा ओर्लिंदा वकालत नै गर्न पाउँदैनौँ ।’

एकातिर हाम्रो समाजमा महिला हिंसाका घटना बढिरहेका छन् भने अर्कोतिर यसलाई छायाँमा पार्न उच्च पदमा पुगेका महिलाका उदाहरण दिने चलन बढेको पनि छ । सांसद्मा महिलाको उल्लेख्य प्रतिनिधि भएको, देशको सर्वोच्च पदमा महिला रहेको तर्क गर्नेहरु पनि छन् ।

तर, एउटा विकट गाउँमा हुने महिला हिंसा र उच्च पदमा महिला पुग्नुको सम्बन्धलाई कसैले पनि अथ्र्याएको छैन, योबारे सम्बन्ध स्थापना गरेको छैन ।

कञ्चनपुरमा १३ वर्षिय निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि कञ्चनपुरमै ८ वटा बलात्कारका घटना भए । राजधानीमा मात्रै डेढ महिनाको अवधीमा ४२ वटा बलात्कारका घटना भए । दुई महिनाको अवधीमा देशभर २ सय २५ वटा बलात्कारका उजुरी प्रहरी समक्ष आइपुगेका छन् ।

देशमा दैनिक महिला हिंसाका घटना बढिरहँदा अधिकारर्मी भने तीजको उल्लासमा नाचेका तस्वीर सामाजिक सन्जालमा पोस्ट गरिरहेका छन् । 

‘अधिकारकर्मीको भूमिका यस्तो क्रिटिकल समयमा गहन हुनु पथ्र्यो,’ खतिवडा यसको आलोचना गर्छिन् ।

नेपाली कांग्रेसको भातृसंगठन नेपाल महिला संघकी केन्द्रीय उपाध्ययक्ष समेत रहेकी सरस्वती तिवारी भने महिलाको भूमिका नेतृत्वदायी रहेको बताउँछिन ।

‘हामीले संसद्देखि सडकसम्म आवाज उठाएका छौ,’ उनको दाबी छ ।

तर, नेपालमा महिला हिंसाविरुद्धका र्याली शनिबार मात्र हुने गरेका छन् । त्यसमा पनि पार्टीका भातृसंगठनहरुको कुनै सहभागिता भएको छैन । 

हामीले तिवारीसँग यही प्रश्न सोध्यौँ । अब बल्ल उनी महिलाहरु बाहिर सडकमा ननिस्किएको कुरा स्वीकार्न बाध्य भइन् । उनले भनिन्, ‘हामीमाथि जनताको धेरै अपेक्षा हुन्छ । तर, नागरिकको अपेक्षाअनुसार हामीले आवाज बुलन्द बनाउन सकेका छैनौँ, काम हुन सकेको छैन ।’

अर्कोतिर सत्तारुढ दलकी सांसद नविना लामा पनि आफुहरुले संसदमा आवाज उठाइरहेको बताउँछिन । लामाले आफ्नो सरकार, पार्टी र संसद्को बचाउ गर्न खोजे पनि उनकै पार्टीका प्रधानमन्त्री र पार्टी अध्ययक्षले महिलाहिंसाका घटनालाई राजनीतिक रङ्ग दिएका थिए । यसबारे चाहिँ उनी बोल्न चाहन्नन् ।

अर्कोतिर यस्ता समस्या अधिकारकर्मीले समाधान गर्न नसकेकाले पनि आफूहरु कमजोर भएको बताउँछिन् चन्द । ‘समस्या समाधान अधिकारर्मीको हातमा हुँदैन, तर पनि अधिकारकर्मीले समाधानतर्फ ध्यान दिन सकेका चाहिँ होइनन्,’ उनले भनिन् ।

नेपालमा महिलाहरुले आवश्यक आवाज उठाउन नसकेको तर अब विस्तारै समस्या समाधानमा ध्यान दिनु पर्ने खतिवडाको तर्क छ । ‘अधिकारर्मीको भूमिका

अब समस्या उचाल्ने मात्रै होइन, समस्या समाधान गर्नेतर्फ पनि केन्द्रीत हुनुपर्छ,’ उनले भनिन् ।

यी सब हुँदाहुँदै पनि अहिले सडक तताउन, राजनीतिक शक्तिकेन्द्रमा दबाब सिर्जना गर्न तथा महिलालाई उनीहरुको अधिकार दिलाउन, पीडितलाई न्याय दिलाउन चाहिने अभियानमा महिला सहभागिता अत्यन्त कमजोर भएको यथार्थ यी तिनै महिला नेतृ स्वीकार गर्छन् ।

  • प्रकाशित मिति : असोज ३, २०७५ बुधबार २:१६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया