अपराधका घटना
नेपालमा दैनिक ९३ अपराध

पछिल्लो समय नेपालमा अपराधका घटना बढेको तथ्याङ्क सार्वजनिक भइरहेका छन् । सामन्य लुटपाट छोडेर बलात्कार, हिंसा, हत्या तथा अपराधका घटना निकै बढेको सरकारी तथ्याङ्कले देखाएको छ । 

नेपालमा दैनिक कम्तिमा पनि ९३ वटा विभिन्न प्रकारका अपराधिक घटना हुने प्रहरी बताउँछ । यसमा सबैभन्दा धेरै संख्या सामाजिक अपराधको छ । दैनिक ३९ वटा सामाजिक अपराधका घटना प्रहरीसमक्ष आइ्पुग्ने प्रहरी बताउँछ । महिला तथा बालबालिकासम्बन्धी अपराधका घटनामात्रै दैनिक ८ वटाभन्दा बढी प्रहरीमा उजुरी पर्छन् ।

साउन यतामात्रै उपत्यकामा ४३ वटा बलात्कारका उजुरी परेको अपराध अनुसन्धान शाखाले जनाएको छ । देशभरमै चाहिँ यो संख्या झन् डरलाग्दो छ । १० साउनयता २ सय २५ भन्दा बढी बलात्कारका घटना भएको प्रहरीमा उजुरी परेका छन् । 

नेपाल प्रहरीको तथ्याङ्कलाई आधार मान्दा आर्थिक वर्ष २०७४/७५ मा मात्रै देशभर ३४ हजार २ सय ७९ वटा अपराधका घटना भए । अपराधको यो संख्या ५ वर्ष अगाडीको तुलनामा ६ हजार ८ सय ९३ ले बढी हो । ५ वर्ष अगाडी २०७०/७१ मा देशभरमा २७ हजार ३ सय ८६ वटा आपराधीक घटना भएका थिए । 

 

अपराधका प्रकार 



नेपाल प्रहरीको तथ्याङ्क अनुसार २०७४/७५ मा महिला तथा बालबालिकासम्बन्धी हिंसाका ३ हजार २ सय ५५ वटा मुद्धा दर्ता भएका थिए । पाँच वर्ष अगडि यो संख्या २ हजार १६ मा थियो । 

पाँच वर्षको अन्तरालमा ज्यानसम्बन्धी कसुरका घटना पनि बढेका छन । २०७०/७१ मा ज्यानसम्बन्धी कसुरका ४ हजार ६ सय ८७ मुद्धा दर्ता भएका थिए । तर, २०७४/७५ सम्म आईपुग्दा यो संख्या बढेर ६ हजार ४ सय ५ पुग्यो ।



आत्महत्याका घटना पनि निरन्तर बढिरहेकै छन् । २०७०/७१ मा ४ हजार ५ सय ४ जनाले आत्महत्या गरेका थिए । २०७४÷७५ सम्म पुग्दा ५ हजार ३ सय १७ जनाले आत्महत्या गरे ।

संगठित तथा आर्थिक अपराधको ग्राफ पनि उकालो लागेको लाग्यै छ । २०७०/७१ मा ३ हजार २ वटा संगठित अपराध र आर्थिक अपराधका घटना दर्ता भएका थिए ।  २०७४÷७५ सम्म पुग्दा संगठित अपराधको संख्या बढेर ४ हजार ६ सय ५६ पुग्यो ।

सबैभन्दा डरलाग्दो अवस्था त सामाजिक अपराधको देखिएको छ । २०७०/७१ मा सामाजिक अपराधका घटना १० हजार १ सय ३३ वटा दर्ता भएका थिए । २०७४÷७५ सम्म पुग्दा यो संख्या १४ हजार ४ सय ५० पुग्यो ।

चोरी डकैतिका घटना पनि बढेकै छन । २०७०/७१ मा देशभर १ हजार १ सय २८ वटा चोरीका घटना दर्ता भएका थिए । तर, २०७४/७५ सम्म पुग्दा यो संख्या बढेर १ हजार ५ सय २८ पुग्यो ।

त्यस्तै सवारी सम्बन्धी अपराध पनि पाँच वर्षको अन्तरालामा दोब्बरले बृद्धि भयो । २०७०/७१ मा १ हजार ६ सय ४१ वटा सवारी सम्बन्धी मुद्धा दर्ता भएका थिए, २०७४/७५ सम्म पुग्दा यो संख्या बढेर २ हजार ३ सय २० पुग्यो । 

अन्य अपराध पनि २०७०/७१ मा २ सय ७५ वटा दर्ता भएका थिए । २०७४/७५ सम्म अन्य अपराधको संख्या पनि १ हजार २ सय ८४ पुग्यो ।

घरेलु हिंसाको अवस्था पनि डरलाग्दो देखिएको छ । २०७०/७१ मा ६ हजार ८ सय ३५ वटा घरेलु हिंसाका घटना घटेका थिए । तर, २०७३/७४ सम्म पुग्दा यो संख्या बढेर ११ हजार ६ सय २९ पुग्यो ।

  • प्रकाशित मिति : असोज ३, २०७५ बुधबार २:३९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया