किन अनियन्त्रित छ प्रधानमन्त्री ओलीको बोली ?

गत शनिबार । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनामा संलग्न भएका अपराधीलाई कारवाही नभएको विरोधमा देशभर निर्मलाका लागि न्याय माग्दै नागरिक सडकमा ओर्लिए 

त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन नेकपा माओवादीका नेता पोष्टबहादुर बोगटीको चौंथो स्मृती दिवसमा सहभागी थिए ।

त्यो कार्यक्रममा सम्बोधन गर्ने क्रममा ओलीले सरकारमाथि चौतर्फी आक्रमण भइरहेको भन्दै कार्यकर्तालाई आलोचकमाथि अरिङ्गालजसरी झम्टन निर्देशन दिए । 

ओलीले कार्यकर्तालाई अरिगांल जस्तै बन्न निर्देशन दिनु १ दिन अगाडि मात्र नेकपाका अर्का अध्यक्ष प्रचण्डले पछिल्लो समय बढिरहेका महिला हिंसाका घटनालाई सरकामाथिको षडयन्त्र भएको टिप्पणी गरेका थिए । 

प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीका यी दुई अभिव्यक्ति देशको वर्तमान अवस्थप्रतिका हल्का टिप्पणी मात्र होइनन्, उनीहरु किन यसरी अभिव्यक्ति दिइरहेका छन् भन्ने विषयमाथि चासो राख्नु पर्ने कुरा पनि हुन् ।

त्यसो त प्रधानमन्त्री ओली अभिव्यक्तिका कारण आलोचनामा घेरिएको यो पहिलो पटक होइन । २०७३ साल माघ ९ गते चुनावी अभियानमा उनले मधेशी दलमाथि निकै कठोर शब्द प्रयोग गरेका थिए । यो माधव नेपाल उम्मेदवार भएको रौतहटको सन्दर्भ थियो । उनको यो अभिव्यक्तिको मधेश केन्द्रीत दलले विरोध गरे ।



एउटा पार्टीको नेता हुनु र चुनावी अभियानमा बोल्नुलाई अधिकांशले हल्का रुपमा लिएका थिए । तर, ओली प्रधानमन्त्री भइसकेपछि उनको बोलीमा नियन्त्रण भएको छैन ।

र, यो क्रम सुरु देखि नै कायम छ । तत्कालीन माओवादी र एमालेबीच भएको एकतालगत्तै पार्टीमा महिला नेतृत्व नभएको विषयमा चर्को आलोचना भएपछि ओलीले आफ्ना नेताहरुलाई निर्देशन दिएका थिए– आइएनजिओको पछाडि लागेर ट्याउँट्याउँ नगर्नु ।



पार्टीका बैठक र सार्वजनिक कार्यक्रममा मात्र होइन, ओलीको बोली संसद्मै पनि नियन्त्रित छैन । महङ्गीबारे प्रश्न उठ्दा उनले संसद्मा नै भनेका थिए– ५० पैसा माना घ्यु र ९० रुपैयाँ तोला सुन आउने समय घर्किसक्यो ।

२२ असारमा ओली नेपाल उद्योग परिसंघको साधारणसभामा पुगेर काठमाडौंका सडकमा भएका खाल्डा आफूले बनाएको होइन भनेर तर्क गर्न पुगे । 

ओलीको यस्तो बानीलाई विश्लेषक खगेन्द्र संग्रौला शक्तिको उन्मादको रुपमा अथ्र्याउँछन् । 

‘खड्ग प्रसाद ओली मनलाग्दी गर्न थालेका छन । उनको यस्तै बानीले दुई तिहाई बहुमत सहितको सरकार हुँदा पनि देशको यो विजोग भयो,’ संग्रौलाले भने ।

ओलीले तीन नम्बर प्रदेशको प्रदेश सभालाई सम्बोधन गर्दै भनेका थिए– जनतामा निराशा छाउनुजस्तो खतरानाक केही हुँदैन । आशावादी जनताभन्दा शक्तिशाली कोही हुँदैन, उनीहरूभन्दा ठूलो राष्ट्रका लागि केही हुँदैन । हामी जनतामा नौलो आशा र उमङ्ग प्रसार गर्दै विकास र निर्माणको काम अघि बढाउँदै छौँ । 

तर, ओलीको पछिल्ला अभिव्यक्तिले जनतामा निराशा छाएको तर्क गर्छन् राजनीतिक विश्लेषक उज्ज्वल प्रसाईं । 

‘प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीका बोलीले जनतालाई निराश बनाएको छ,’ प्रसाईंले भने, ‘ओलीको बोलीले सरकार नागरिकका समस्या सुन्नै तयार नरहेको देखाउँछ ।’ 

‘ओली सरकारले काम भन्दा धेरै नारामा प्राथमिकता दिएको छ,’ प्रसाईं थप्छन्, ‘सरकारका यस्तै अर्थविहिन कामले जनता सरकारप्रति आक्रोशित भएका हुन् ।”

२२ असारमा एक कार्यक्रममा ओलीले ‘गरिब नेपाली नै हुन सक्दैन’ भने ।

तर, तथ्याङ्कले अझै पनि ४० प्रतिशत नेपाली बहुआयामिक गरिबीमा रहेको देखाउँछ । दोस्रो पटक प्रधानमन्त्री बनेका ओली चिनियाँ रेल र भारतीय रेलको सपना देखाउन व्यस्त भएको, गाउँगाउँमा सिंहदरबार भन्ने नारा कण्ठस्थ गराउन लागेको तर जनताको सुधारका लागि खासै केही काम नगरेको अधिकांशको तर्क छ ।

पछिल्लो समय देशभर बढिरहेका बलात्कारका घटनामा सरकारले देखाएको उदासिनताले जनतलाई सडकमै ओर्लिन बाध्य बनाएको बताउँछन संग्रौला । 

ओलीको अरिङ्गाल झैं झम्टिनु भन्ने अभिव्यक्तिले ओली फरक मत राख्नेप्रति असहिष्णु व्यवहारमा ओर्लीएको ठान्छन् प्रसाईं । 

‘प्रधानमन्त्री जस्तो मान्छेले आफ्ना कार्यकर्तालाई जाइ लाग भन्नु समाजलाई अशान्त बनाउने काम हो,’ प्रसाईंको ठहर छ, ‘यस्तो अभिव्यक्तिले उनी फरक मत सुन्न नसक्ने भएको देखाउँछ ।’

त्यसमाथि ओलीको कार्यशैली र बोली नागरिकका पक्षमा नहुँदा पनि नागरिक सरकारप्रति आक्रोशित भएको प्रसाईंको तर्क छ । ‘आलोचना खप्न नसकेर ओली अत्तालिएका छन्, तिलमिलाएका छन,’ प्रसार्इंले भने, ‘उनी आफ्नै पार्टीभित्र पनि फरक मत राख्नेलाई रुचाउँदैनन ।’

ओलीको बोलीलाई कम्युनिष्ट भाषा नै भन्न नसकिने तर्क छ, साहित्यकार तथा पुराना एमाले नेता नारायण ढकालको । उनले प्रधानमन्त्री ओली तथा प्रचण्डले दिएको अभिव्यक्तिमा खेद प्रकट गर्दै भने, ’हामीहरु पनि कम्युनिष्ट आन्दोलनमै लागेका मान्छेहरु हौँ, उहाँहरुले बोलेका कुराहरु कम्युनिष्टको भाषा नै होइन ।’

ओलीका पछिल्लो अभिव्यक्तिले उनलाई आफ्नै दुईतिहाईमाथिको विश्वासमाथि आशङ्का उब्जाएको टिप्पणी नारायाण ढकालको छ । 

अर्कोतिर साहित्यकार संग्रौला पनि ओलीको बोली र ओली सरकार नागरिकका लागि खतरनाक बन्दै गएको ठान्छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको ओलीको सामिप्यताले ओलीलाई पनि असहिष्णु र अनुदार बनाउँदै लगेको अनुमान गर्छन् संग्रौला । 

‘ओलीका भारतका अनुदार शासक मोदी र चीनका तानाशाह सी जिनपिङबाट प्रेरित छन्, उनीहरुको सिको गर्न खोजिरहेका छन्,’ संग्रौलाले भने, ‘ओलीको यही कुरा हाम्रा लागि घातक बनिसक्यो ।’

सत्ता र शत्तिको उन्मादले ओलीलाई भ्रमित बनाएकाले यस्तो अभिव्यक्ति आएको संग्रौलाको मान्यता छ । 

‘खड्गप्रसाद ओलीलाई आफ्नो विचार संसारकै सुन्दर र आफू संसारकै शत्तिशाली मान्छे हुँ जस्तो लाग्छ,’ संग्रौला भन्छन्, ‘उनले के बुझ्नु पर्छ भने उनी कुनै अमुक पार्टीका अध्यक्ष मात्रै होइनन्, देशका प्रधानमन्त्री पनि हुन् ।’

अपराधीलाई न्याय माग गरिरहेका जनतामाथि अरिङ्गालजस्तै जाइलाग्न भन्नु प्रधानमन्त्रीको लागि शोभनीय नभएको साहित्यकार ढकालको ठहर छ । 

मृगौला फेरेका प्रधानमन्त्री निरन्तर औषधी प्रयोग गरिरहेको कुरालाई स्मरण गराउँदै ढकाल भन्छन्, ‘प्रधानमन्त्रीले बिरामी मनस्थितिमा नै बोलिरहनु भनेको

देश र जनता सबैको लागि ठूलो ट्र्याजिडी हो ।’

कार्यकर्तालाई अरिङ्गाल बन्न दिएको निर्देशनले ओली लोकतान्त्रिक मूल्य–मान्यताविरुद्ध गएको बताउँछन संग्रौला । ओलीको अभिव्यक्तीले समाजमा असुरक्षा पैदा गरेको उनको ठहर छ । ‘ओलीको बोली नागरिक, पत्रकार, फरक मत राख्नेका लागि लक्षित छ । फरक मत राख्नेलाई आफ्ना गुण्डा कार्यकता लगाएर ठिक पार्न चाहान्छन ओली,’ संग्रौला भन्छन् ।

वामपन्थी सरकारले गरिब, पिछडीएका जनतको लागि काम गर्नुपर्नेमा उल्टै नागरिक आवाज दबाउन खोजेको टिप्पणी संग्रौलाको छ । 

‘ओलीको शैलिले उनी ज्ञानेन्द्रकै बाटोमा हिँड्न खोजेका हुन कि भन्ने आशङ्का जन्मिन्छ,’ संग्रौला भन्छन्, ‘ओली पार्टी भित्रै पनि कसैको कुरा सुन्दैनन, किनकि उनमा अहंकार बढी छ ।’

जनतालाई दबाउन खोज्ने, रैतीको जस्तो व्यवहार गर्ने, कार्यकर्तासँग सरसल्लाह नगर्ने, पार्टीका अन्य नेतालाई कुनै रेस्पोन्स नगर्ने ओलीको शैलीले नेपाल चक्रब्यूहमा फसेको र ओलीका दुःखका दिन सुरु भएको ठान्छन् संग्रौला ।

सत्तारुढ दलका नेता तथा प्रधानमन्त्रीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनुले सरकार निरिह र कमजोरमात्र होइन अनुदार पनि बन्दै गएको सङ्केत भएको मान्छन्, नेपाली कांग्रेसका नेता चन्द भण्डारी । 

जे होस्, प्रधानमन्त्रीजस्तो देशको कार्यकारी प्रमुख पदमा बसेर ओलीले दिएका अभिव्यक्तिले अन्धकार भविष्यको संकेत गरेकोमा अधिकांश सहमत छन् ।

  • प्रकाशित मिति : असोज ३, २०७५ बुधबार ३:१९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया