संविधान दिवसमा प्रधानमन्त्रीले भने: समृद्धि र सुःख कसैको नाम होइन

काठमाडौं– संविधान दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा समबोधन गरेका छन् । संविधान दिवसको उपलक्ष्यमा उनले सरकार र आफ्नो तर्फबाट बधाई ज्ञापन गरेका छन् । 

संविधान निर्माण प्रक्रियामा नेपाली जनताले भोगेको पीडा र छटपटीहरुलाई उनले सम्बोधनको क्रममा स्मरण गरेका छन् । सात दशक लामो पर्खाइ र प्रयत्नबाट ऐतिहासिक संविधान निर्माण भएको संविधानले नेपाली समाजको आशा र सिद्धान्तलाई समेत समेटेको उनले बताए । ‘यस संविधानले ३५ भाग ३०८ धारा र ९ अनुसूचीमा प्रतिबद्ध र लिपिबद्ध लोकतान्त्रिक, राजनीतिक, मौलिक, आधुनिक, प्रगतिशील पक्षहरुलाई अगींकार गरेको छ,’ उनले भने, ‘नेपालको संविधान नेपाली कानुनको माउ दस्तावेज मात्र होइन, सारा नेपालीको सामूहिक चाहना बोकेको साझा ग्रन्थ भएको छ ।’ 

संविधानले नेपालीको मर्यादालाई स्वीकार गरेको उनले बताए । नेपालीको मौलिक हक र स्वतन्त्रता सुनिश्चित गरेको भन्दै प्रधानमन्त्री ओलीले मुलुकको मूल कानुनप्रति गर्व गर्नुपर्ने बताए । उनले आज राष्ट्रिय दिवस मनाउँदै गरेको भन्दै आन्दोलनका क्रममा सहिद भएका, बेपत्ता भएका र घरबारविहीन भएका शारीरिक, मानसिक तथा मुलुकलाई विधिको शासनमा बाँध्न अतुलनीय योगदान गर्ने सबैमा प्रधानमन्त्री ओलीले हार्दिक आभार व्यक्त गरेका छन् ।

‘वर्षौंअघि विदेशी अतिक्रमणका विरुद्ध लडिएको देशभक्तिको युद्ध होस् वा समाजसुधार र मानवताको पक्षमा गरिएका विभिन्न आन्दोलन; ती सबै प्रकारान्तमा अत्याचारी सत्ताविरुद्धको लोकतान्त्रिक आन्दोलनमा रुपान्तरित भए,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालको यस संविधानले शताब्दीऔं लामो विकसित गरेका देशभक्ति, मानवता र लोकतन्त्रजस्ता पक्षहरुलाई मात्र आत्मसात् गरेको छैन । यसले हाम्रा सुन्दर मान्यतालाई समेटेको छ ।’

सरकारको प्रधानमन्त्रीको हिसाबले शान्ति, सुशासन र समृद्धिका लागि यस संविधानको कार्यान्वयनका लागि आफ्नो कर्तव्य ठानेको पनि बताए । नेपाली जनतालाई अब वर्षौंदेखिको समृद्धि र विकासबाहेक कुनै पनि बहानाबाजी सह्य छैन भन्ने तथ्य जननिर्वाचित यो सरकारले राम्ररी बुझेको उनले बताए । 

‘समृद्धि र सुख यो कसैको नाम होइन र भन्नका लागि भनेको होइन । यो तपाईं–हामी सबैले वर्षौंदेखि अपेक्षा गरेको चाहना हो,’ उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको नारा तपाईं–हामीले देखेको पूरा हुने र गर्नुेपर्ने सपना हो ।’



प्रधानमन्त्री ओलीले समृद्धि र विकास एक्लो योजना नभएको भन्दै यो राष्ट्रिय दायित्व पूरा गर्ने सबैमा आह्वानसमेत गरेका छन् । ‘हामी अहिले भन्ने चरणबाट गर्ने चरणमा प्रवेश गरेका छौं । सपना देखाउने चरणबाट परिवर्तन महसुस गराउने चरणमा रहेका छौं,’ उनले भने, ‘अविश्वासमा बाँचेको नेपाल, पछौटेपनमा अलमलिएको नेपाल सरकार बनेको ६ महिनामा सब ठिकठाक हुनुपर्ने आग्रह, आग्रह त हुन सक्ला तर त्यो वस्तुपरकचाहिँ हुन सक्दैन भन्नेमा म विश्वस्त बनाउन चाहन्छु ।’

संघीयता अनपेक्षित सन्तान भयो भन्नेजस्ता अपत्यारिला चर्चा सुन्ने गरेको भन्दै उनले सरकारी संयन्त्रको पुनर्संरचना र स्थानीय तह, प्रदेश र संघको कार्यक्षेत्र निर्धारणले यस्ता कुरालाई स्वतः खण्डित गरेको उनले बताए । 



संघीय प्रणली नयाँ भएको भन्दै प्रधानमन्त्री ओलीले व्यवहारको कसीमा बाँधिएपछि यसले पूर्णता पाउँछ भन्ने कुरामा आफू विश्वस्त रहेको पनि बाताए । राज्यले विवेक मिच्न हुन्न भन्नेमा सरकार प्रतिबद्ध र सचेत रहेको पनि सम्बोधनको क्रममा उनले बताए ।

संविधान दिवसको अवसरमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलगायतको उपस्थिति रहेको थियो ।
 

  • प्रकाशित मिति : असोज ३, २०७५ बुधबार ११:१२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया