शिक्षक सेवा आयोगले परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । असोज ११ गतेदेखि हुने स्थायी शिक्षक परीक्षाको तयारी लगभग पूरा भएको हो । आयोगका अनुसार असोज ११, १२ र १३ गते हुने स्थायी शिक्षक परीक्षामा देशभरबाट २ लाख ८० हजार परीक्षार्थी सहभागी हुनेछन् ।
परीक्षालाई व्यवस्थित, मर्यादित, तथा निष्पक्ष बनाउन भन्दै शिक्षक सेवा आयोगले पहिलोपटक आवेदन भरेको जिल्लाबाट परीक्षा दिन नपाउने व्यवस्था गरेको छ । ३४ जिल्लामा हुने परीक्षाका लागि १ हजार २ सय ४० परीक्षा केन्द्र तोकिएका छन् । उही जिल्लाबाट परीक्षा दिदाँ परीक्षार्थीले चिनेका केन्द्राध्यक्ष वा निरिक्षक हुने भएकोले चलखेल हुने आशँका सहित आयोगले जिल्ला फेरबदल गरेको हो ।
केन्द्र निर्धारण गर्ने काम मात्र बाँकी छ । ३४ जिल्लामा परीक्षा केन्द्र तोक्ने, केन्द्राध्यक्ष, निरीक्षक तोक्नेलगायतका काम सकिएको र विद्यार्थीको परीक्षा केन्द्र निर्धारणको काम बिहीबारसम्म पूरा हुने आयोगले जनाएको छ । परीक्षालाई व्यवस्थित, मर्यादित बनाउन भन्दै आयोगले परीक्षा हुने ३४ जिल्लामा परीक्षा समन्वय समितिको व्यवस्था गरेको छ । जसलाई एउटा निर्देशिका अनुसार काम कारवाही गर्न भनिएको छ ।
असोज ११ गते मावि, १२ गते निमावि र १३ गते प्राविको परीक्षा सञ्चालन हुँदै छ । यसपटक १२ हजार ३ सय ३९ सिटका लागि प्रतिस्पर्धा हुनेछ । आयोगले योपटक इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, सिन्धुली, धनुषा, काभ्रे, भक्तपुर, काठमाडौं, ललितपुर र मकवानपुरमा परीक्षा केन्द्र तोकेको छ । त्यस्तै, चितवन, पर्सा, गोर्खा, कास्की, तनहुँ, स्याङ्जा, नवलपरासी र रुपन्देहीमा केन्द्र तोकिएको छ । यस्तै, कपिलवस्तु, पर्वत, प्युठान, दाङ, सुर्खेत, बाँके, बर्दिया, डोटी, कैलाली, डडेल्धुरा र कञ्चनपुरमा परीक्षा केन्द्र तोकिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।