सरकार उत्तरदायी भएन हामी थप सशक्त हुन्छौं : मिनेन्द्र रिजाल

पछिल्लो समय नेपाली कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्ने नाममा सरकारको अनावश्यक आलोचना गरेको र सशक्त प्रतिपक्ष हुन नसकेको आरोप सुनिन थालेको छ । यही सन्दर्भमा नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालसँग कुराकानी गरेका छौँ–  

संसद्‌मा कांग्रेसले उठाएका विषय र बाहिरका अभिव्यक्तिलाई लिएर अधिकांशले आजभोलि टिप्पणी गर्छन्– अब कांग्रेस झन् सकिन लाग्यो । के कांग्रेस साँच्चिकै सकिँदै छ ? 

पहिलो कुरा के हो भने कांग्रेस सकिन लाग्यो भनेर चिन्ता गर्नेहरु अरु कोही नभएर नेकपाका कार्यकर्ता हुन् । झन् बढी चिन्ता त नेकपाका अध्यक्षद्वयलाई यसको छ । किनकि उहाँहरु आफ्ना कामभन्दा बढी कांग्रेसका कुराहरुलाई प्राथमिकतामा राखिरहनु भएको छ । बहुमतको सरकार बनाएर काम गर्नु पर्ने यो समयमा उहाँहरु प्रतिपक्षमाथि खनिनु भनेको के हो भने हामी बलियो हुँदैछौँ भन्ने चिन्ता उहाँहरुलाई नै बढी छ । हामीले राम्रो गरिरहेका छौँ, झन् बलियो हुँदै गइरहेका छौँ । त्यसैले पनि अहिलेको सरकार र नेकपाका दुई नेता अत्यन्त चिन्तित हुनुभएको छ । कांग्रेस झन् बलियो हुँदै गएको योभन्दा ठूलो प्रमाण अरु केही हुनै सक्दैन ।  

सरकारले अघि सारेका अजेन्डामाथिमात्र कांग्रेसले आपत्ति जनाउन थालेको छ । कांग्रेसको न गतिलो र बलियो योजना देखिएको छ, न उपस्थिति नै दमदारका रुपमा देखिएको छ । यस्तो अवस्थामा पनि तपाईं कांग्रेस बलियो नै छ भनिरहनु भएको छ ? 

अब हेर्नुस् न सरकार बनेपछि अहिलेसम्म उसले केही गरिरहेको छ भने प्रतिपक्षमाथि मात्रै आक्रमण गरिरहेको छ । हामीले राम्रो र व्यवस्थित राजनीति गरेकाले नै उहाँहरुलाई बढी चिन्ता भएको स्पष्ट देख्न सकिन्छ । हामीले भनेको एउटै कुरा हो– यो सरकारले उत्तरदायी भएर काम गरेन । यो सरकारले काम गर्न सकेन । उहाँहरुले आफूले काम गरेको देखाउन कुनै प्रमाण पेश गर्नुभएको छैन, हामीमाथि आक्रमण गरेर बस्नु भएको छ । हाम्रा कुरालाई मात्र ध्यान दिएर अबको उहाँहरुको राजनीति चल्दैन । उहाँहरुले त काम गरेको प्रमाण देखाउनु पर्छ जुन अहिलेसम्म उहाँहरुसँग छैन ।  

तर, मानिसहरु के पनि भनिरहेका छन् भने अब बल्ल यो सरकारले आफ्ना नीति तथा कार्यक्रमअनुसार काम गर्न पाउँछ । हुन पनि बल्ल नयाँ आर्थिक वर्ष सुरु भएको छ, होइन र ? 



त्यस्तो होइन, एउटा सरकार बनेपछि तत्काल आलोचनाहरु सुरु हुन्छ, काम गर्न थालेको छ कि छैन भन्ने प्रश्न उठ्न थाल्छ । यो सरकारले आफूलाई राजा सोच्नु भएन । के उहाँहरु लिगलिग दौडमा विजयी भएर आएका शासक हो र जसको विषयमा कुनै पनि टिकाटिप्पणी गर्न नपाइने र उहाँहरु बाँचुन्जेल सरकारको नेतृत्व गर्ने ? त्यस्तो पक्कै होइन, यसको अर्थ के हो भने निर्वाचन जितेर आएको सरकार पहिलो दिनदेखि नै जनतासँग उत्तरदायी हुनुपर्छ । र, एउटा प्रमुख प्रतिपक्षको काम भनेको सरकारलाई जनताप्रति उत्तरदायी बनाउने हो । त्यसलाई नै रचानात्मक प्रतिपक्ष भनिन्छ । त्यो काम अहिले हामीले गरिरहेका छौँ । हामीले अहिले के बुझ्नु पर्छ भने सरकार जतिबेला पनि जनताप्रति, संविधानप्रति र कानुनप्रति उत्तरदायी हुनुपर्छ, उहाँहरुलाई प्रश्न सोध्न पाउने र उहाँहरुको कामको रचनात्मक विरोध गर्न पाउने सबैको अधिकार हो । तर, उहाँहरुले दिनुभएका अभिव्यक्तिले के बुझिन्छ भने उहाँहरु यसको विरोधमा हुनुहुन्छ । उहाँहरु आलोचना पनि हुन्छ भन्ने मान्यतामा हुनुहुँदैन । उहाँहरुको यस्तो बुझाइ तत्काल परिवर्तन हुनुपर्छ ।

हिजो सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव लैजाने कांग्रेस आज दीपकराज जोशीको पक्षमा उभियो । संसदीय सुनुवाइ समितिलाई पनि कांग्रेसले अटेर गरेको जस्तो देखियो । आफूलाई प्रजातान्त्रिक भन्ने कांग्रेस किन यस्तो गरिरहेको छ ? 



मलाई लाग्दैन यी कुनै पनि विषय कांग्रेसको आलोचना गर्ने विषय हुन् । अहिले नेपालको न्यायालयमाथि आक्रमण भइरहेको छ । हिजो दीपकराज जोशी प्रधानन्यायाधीश हुनुहुँदैन भनेर लेख्नेहरुले पनि अहिले आक्रमण भयो भनेर लेखिरहनु भएको छ । न्यायालयको स्वतन्त्रतामाथि आक्रमण भयो भने कसैको पनि स्वतन्त्रता जोगिँदैन । अहिलेको सरकार सबै संयन्त्रमाथि आक्रमण गर्न खोजिरहेको छ, आक्रमण गरिरहेको छ । अनि कांग्रेस संविधानको पक्षमा उभिएको छ, न्यायालय र जनताको पक्षमा उभिएको छ । त्यसैले कांग्रेसको मूल्याङ्कन गलत तरिकाले गरिनु हुँदैन । हामीले दीपकराज जोशीको सन्दर्भमा संसदीय प्रक्रिया भएन भनेका होइनौँ । हिजो प्रधानमन्त्रीले नै दीपकराज जोशीको पक्ष लिनु भयो । तर, उहाँले नै पार्टीका नेताहरुलाई संसदीय दलको नेताको हैसियतले ह्विप जारी गर्नुभयो । प्रधानमन्त्रीले यसमा दुरासायपूर्ण, दुराग्रहपूर्ण र दोहोरो भूमिका निर्वाह गर्नुभयो । यसको सन्दर्भबाट पनि बुझ्नुपर्छ, उहाँहरुले एउटा सन्देश दिनुभएको छ– हामीले कसैलाई पनि स्वतन्त्र ढंगबाट सोच्न दिँदैनौँ । फलस्वरुपः उहाँहरु न्यायापालिकामा पनि आक्रमण गर्दै हुनुहुन्छ । यसले भोलि ठूलो दुर्घटना निम्त्याउँछ र त्यो दुर्घटनामा उहाँहरु स्वयं पनि पर्नुहुन्छ ।

तपाईंको कुरा सुन्दा लाग्छ, सरकार गलत मात्र गरिरहेको छ । यो सरकारले अब पाँच वर्ष नेतृत्व गर्दा देश कहाँ पुग्ला भन्ने अनुमान छ त ? 

मैले पटक पटक भनेको छु र फेरि पनि भन्छु उहाँहरुको चाहाना देशबाट स्वतन्त्रता हरण गर्ने हो । तर, उहाँहरुको यस्तो चाहना पूरा हुन हामी दिँदैनौँ । जबसम्म कांग्रेसको सरकार रहन्छ, तबसम्म उहाँहरुको यस्तो चाहना पूरा पनि हुँदैन । उहाँहरुको अधिनायकवाद लाद्ने सपना पूरा हुँदैन, कहिल्यै पनि हुनसक्दैन । कांग्रेस रहुन्जेल उहाँहरुले ल्याउन खोजेको अधिनायकवाद ल्याउन नदिन हामी लाग्नेछौँ । यो पाँच वर्षमा उहाँहरुले नियत खराब गरेर अगाडि बढ्न खोज्दै हुनुहुन्छ, हामी त्यसलाई रोकेर नै छोड्नैछौँ, बलियो प्रतिपक्षीका रुपमा हामी अगाडि बढ्नेछौँ ।  

एकातिर कांग्रेसमा गुटउपगुटले निकै समस्या भएका समाचार बाहिर आइरहेका छन् । यस्तो अवस्थामा कसरी कांग्रेसले सरकारलाईमाथि प्रश्न उठाउन सक्ला र ? 

त्यस्तो होइन । अहिले कांग्रेसमा गुटउपगुट छन्, त्यसमा किचलो छ भन्ने कुरा ती मानिसहरुमा छ जो कांग्रेसको प्रगति चाहँदैनन् । आजको दिनमा कांग्रेस गुटउपगुटले ग्रस्त हुन्थ्यो भने नेकपाका अध्यक्षद्वयले यति धेरै आलोचना गर्नु पर्ने नै थिएन । अहिले दैनिक उहाँहरु कांग्रेसको आलोचना गर्दै हुनुहुन्छ भने हामीले के बुझ्नुपर्छ, कांग्रेसमा यस्ता समस्या छैनन्, यो झन् बलियो हुँदै गइरहको छ । पार्टीकै कुरा गर्ने हो भने हामी पार्टी उहाँहरुको भन्दा निकै फरक छ । दर्शनको हिसाबले होस् या चरित्रको हिसाबले हाम्रो शैली निकै फरक छ । अब अहिले नै हेर्नुस्, उहाँहरुको दुई वटा पार्टी मिल्यो । अध्यक्षले तँ बस् भन्ने बस्यो, तँ उठ् भन्ने उठ्यो । हाम्रोमा लोकतान्त्रिक संस्कार छ, हामी पहिले एकिकरण गर्दा सिस्टममा गरेका थियौँ । त्यसैले पनि उहाँहरुको चरित्र र हाम्रो चरित्र फरक छ । त्यसैले हाम्रो पार्टीमा एकअर्कासँग कम्पिटिसन पनि भइरहेको हुन्छ । यसको अर्थ के होइन भने हामी राष्ट्रिय अजेन्डामा पनि मत विभाजन गरेर लागिरहेका छौँ । आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक बाटोबाट व्यवस्थापन गर्दै हामी जानुपर्छ, गइरहेका छौँ । हो, हिजो निर्वाचनमा पराजय भोग्दा हामीमा केही समस्या देखिएका हुन् । तर, अहिले ती समस्या बाँकी छैनन् । निर्वाचनमा हारका कारण मन विक्षिप्त हुँदा केही समस्या पक्कै पर्छन् । तर, सधैं त्यही अवस्था रहँदैन । हामीले हामी सशक्त प्रतिपक्षको भूमिकामा नै अगाडि बढिरहेका छौँ, यसलाई पार्टीभित्रको आन्तरिक स्पर्धाले केही फरक पार्दैन ।

  • प्रकाशित मिति : असोज ७, २०७५ आइतबार ११:३१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया