अाेलीकाे बोली, पदीय मर्यादामै चुनाैती
प्रदीप पौडेल  |  असोज ९, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्ला समयका अभिव्यक्ति सुन्दा उहाँ एकदमै धेरै अस्थिर भएको महसुस भइरहेको छ । प्रधानमन्त्री आफैँ विचलित भएजस्तो देखिन्छ । एउटै विषयमा उहाँ पहिले एउटा अभिव्यक्ति दिनुहुन्छ, त्यसको व्यापक आलोचना भएपछि तुरुन्तै ठीक विपरीत अभिव्यक्ति आउँछ । 

उहाँमा अझै पनि प्रधानमन्त्री हुँ कि विपक्षी दलको नेता हुँ भन्ने हेक्का नभएजस्तो गरी अभिव्यक्ति आइरहेको छ । पहिलो कुरा त प्रधानमन्त्रीले भाषण टिकाउने अभियान मेरो काम होइन भन्ने बुझ्नुपर्यो । सारा नेपालीले प्रधानमन्त्रीबाट भाषणको अपेक्षा गरिरहेका छैनन् । उहाँले कसलाई कति डिग्रीमा घोचपेच गर्नुहुन्छ, ती घोचपेचले कार्यकर्ता कति उत्साहित हुन्छन् भन्ने कुराले यतिवेला खासै महत्त्व राख्दैन । उहाँले उत्तेजित हुन केही जरुरी नै छैन । उहाँ राष्ट्रको प्रधानमन्त्री हो, त्यसैले उहाँले त राष्ट्र निर्माण, सहमति, सहकार्य गरेर कसरी लैजाने भनेर चिन्तन गर्न जरुरी छ । 

प्रधानमन्त्रीजस्तो गरिमामय पदमा रहेको मान्छेको बोली अत्यन्त जिम्मेवार हुनुपर्छ । तर, हाम्रा प्रधानमन्त्रीले आफ्नो मर्यादा नै राख्न सक्नुभएको छैन । आफू पार्टीको नेता हुँ, विपक्षीलाई मनलाग्दी बोलेपछि कार्यकर्ता खुसी हुन्छन् भनेर यस्ता अभिव्यक्तिहरू दिइरहनुभएको छ । उहाँले अब पनि राम्रो काम नगरी गलत गर्दै हिँड्नुभयो भने उहाँकै पार्टीका कार्यकर्ता तथा नेताले उहाँलाई राम्रो पक्कै मान्दैनन् । किनभने यो राजनीति हो, जहाँ जो–कोही पनि सधैँ शक्तिमै रहिरहन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन ।

आफू राम्रो काम नगर्ने अनि कार्यकर्तालाई अरिंगालले झैँ झम्ट, मेरो डिफेन्स गर, चिया पसलमा मेरो विरोध भयो भने प्रतिकार गर, कुट, पिट भनेर उहाँले भन्दैमा कसैले मान्दैन । उहाँले राम्रो काम गर्नुभयो भने उहाँका कार्यकर्ता मात्र नभई आमजनताले नै उहाँलाई सम्मान गर्छन् । उहाँले निर्देशन दिइरहन पर्ने जरुरी नै हुँदैन । 

प्रधानमन्त्री ओलीले आफू कहाँ छु र के गर्दै छु भन्ने कुरा नै बुझ्नुभएन । मैले बुझेअनुसार, कम्युनिस्ट नेताहरूको साइकोलोजी नै अलिकति निरंकुश ढंगको वा नियन्त्रित रवाफको देखिन्छ । जुन कुरा उहाँमा पनि प्रस्टै देखिन्छ । उहाँले लोकतान्त्रिक आचरण देखाउनै सक्नुभएको छैन ।

जस्तो कि, यसअघि सम्पन्न स्थानीय र प्रदेशको चुनावको कुरा गरौँ । त्यसवेला उहाँले रेल, हावाबाट बिजुली निकाल्ने, घर–घरमा ग्यास फिट गर्ने, सारा युवालाई रोजगारी दिने, भात खान नपाएर कोही मर्दैन, विदेशका भएका नेपालीलाई ल्याएर रोजगारीको अवसर प्रदान गर्छाै‍ जस्ता विविध कुरा उहाँले चुनावअघि गर्नुभएको थियो । त्यो वेलामा उहाँले सपना देखाउनुभयो । मत आकर्षित गर्नका लागि बनाइएको महत्वाकांक्षी घोषणापत्र र अभिव्यक्तिका कारण नेकपाले चुनाव जितेको हो । तर, निर्वाचित भइसकेपछि उहाँले आफूले बाँडेको सपनाप्रति केही पनि अभिभावकत्व भने देखाउनुभएको छैन । चुनाव जितिसकेपछि उहाँले आफूले भनेका कुराहरू पूरा गर्नका लागि कुनै प्राविधिक वा आर्थिक आधार निर्माण गर्न सक्नुभएन ।

रेल नेपाललाई चाहिएको छ भने त्यसको आर्थिक पक्ष कस्तो छ ? रेल ल्याउन सरकारले कस्ता खालका अनुसन्धान वा सम्भाव्यता अध्ययन गरेको छ ? कोशी नदीमा पानीजहाज चलाउने कुरा उहाँले गर्दैगर्दा त्यसको बारेमा सामान्य अनुसन्धान पनि गरिएको छैन । किनभने, कोशी नदीको गहिराइ र बेगका आधारमा त्यहाँ पानीजहाज नै चलाउन मिल्दैन । त्यसकारण, उहाँले जनतालाई बाँडेको आश्वासन केवल दिवासपना मात्र हुन् । प्राविधिक पक्षलाई ख्याल नै नगरी त्यसबारे बोल्नचाहिँ उहाँले मिल्दैन ।

सुनकाण्ड पनि उहाँहरूले नै निकाल्नुभएको हो । तर, आफैँले निकालेको सुनकाण्ड उहाँहरू आफैँका लागि घाँडो भयो । उहाँहरूले सिन्डिकेटको कुरा निकाल्नुभयो, त्यो पनि उहाँहरूका लागि घाँडो भयो । समयमै काम नगर्ने ठेकदारलाई कारबाही गर्ने भनेर उर्दी गर्नुभयो, तर आजसम्म कोही पनि कारबाहीमा परेको सुन्न पाइएको छैन । हुन त कारबाही गरे न थाहा पाउने हो !

त्यसकारण, आफैँ विषयहरू निकाल्नुहुन्छ, तर आफैँ काम गर्न नसक्ने अवस्थामा हुनुहुन्छ । प्रधानमन्त्रीको कुर्सीमा बसेर कहिले अरिंगाल बन्नू त कहिले मौरीबन्नू भनेर आफ्ना कार्यकर्तालाई निर्देशन दिनु भनेको एकदमै अनुचित अभिव्यक्ति हो । यतिवेला प्रधानमन्त्री ओली रातभरि नसुती काम गरिरहनुभएको छ भनेर हल्ला सुनिएको छ । उहाँले रातभरि बसेर गरेको काम के हो त ? भोलि नेपाली कांग्रेसलाई कसरी घोचपेच गर्ने भन्ने विषयमा तयारी गर्नुहुन्छजस्तो लाग्न थालेको छ ।
 
कांग्रेसलाई गाली गरेर, बुद्धिजीवीलाई वा पत्रकारलाई गाली गरेर के नेपालमा समृद्धि आउँछ ? प्रधानमन्त्री ओलीले बोकेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा त्यसैबाट प्राप्त हुन्छ ? उहाँका कार्यकर्ता नै उहाँसँग अलमलिएका छन् । कहिले अरिंगाल त कहिले मौरी बन भनेर उहाँले दिएको अभिव्यक्तिका कारण उहाँका कार्यकर्ता आफैँ अन्योलमा परेका छन् । विचरा कार्यकर्ता केचाहिँ बन्ने ? उहाँको कुन कुरा पत्याउने ?

त्यसकरण देशको कार्यकारी प्रमुखले यस्ता विवादास्पद कुरा बोल्नु भनेको लज्जास्पद कुरा हो । जनतालाई नै भान पर्न थालिसकेको छ कि, केपी ओली भनेको भाषण गर्ने मान्छे हो, काम गर्ने होइन । मेरो देशको प्रधानमन्त्रीले आफ्नो मर्यादा कायम गर्न नसक्दा म यो देशको नागरिकको हैसियतले मेरो पनि इज्जत रहँदैन । त्यसैले मेरो देशको प्रधानमन्त्री जिम्मेवार बनून्, देशलाई समृद्धितिर लैजाऊन्, आमएकता निर्माण गर्ने गरेर कसैलाई पनि चिढ्याउने वातावरण प्रधानमन्त्रीले नबनाऊन् । यो मैले मात्र होइन, हरेक नेपालीले चाहेको कुरा हो । तर, प्रधानमन्त्रीको कार्यशैली त्यो दिशामा रहेको छैन । अरूले निर्वाचन गर्ने वातावरण बनाएपछि त्यसमा निर्वाचित भएर उहाँले प्रधानमन्त्रीको कुर्सी पाउनुभएको हो । 

त्यसैले उहाँले नेपालमा एकता कायम गर्ने, समझदारीपूर्ण वातावरण कायम गर्ने, संविधानलाई कार्यान्वयन गर्नेतिर लाग्नुपर्ने देखिन्छ । प्रधानमन्त्रीको पद भनेको राष्ट्रिय अभिभावकको पद पनि हो । सबैले त्यो पदबाट सुरक्षित महसुस गर्नुपर्छ । तर, पदीय जिम्मेवारी नबोकी उहाँ एकदमै गैरजिम्मेवार बन्नुभएको छ । त्यसबाट उहाँ सच्चिनु जरुरी छ ।
 



यो पनि नछुटाउनुहोस्