कृषि मन्त्रालयका अाचार्य दाइ
राेशन सिग्देल  |  असोज ११, २०७५

रसुवाका बुद्धि आचार्यलाई अहिले कमै मानिसहरुले मात्र बुद्धि भनेर चिन्छन् । उनलाई बोलाउन उनको नामभन्दा बढी थर प्रचलित भएको छ, आचार्य । अनि यसको पछाडि सम्बोधनको अर्को फुर्को जोडिएको छ– दाइ । आफूभन्दा ठूला हुन् या साना सबैले बुद्धिलाई आचार्य दाइ भन्छन् ।

‘आचार्य दाइ, यसो गरिदेउ त ।’

‘आचार्य दाइ, त्यो काम गरिदिनुस् त ।’

‘आचार्य दाइ, त्यो फाइल यता ल्याइदेउ त ।’

बुद्धिलाई अफिसभरका कर्मचारीले यस्तै अर्डर गर्छन्, यस्तै आदेश दिन्छन् । उनलाई तपाईं, तिमी, तँ जे भने पनि उनको नाम चाहिँ सबैले एउटै लिन्छन्– आचार्य दाइ ।

यो नाम उनको कार्यालयमा यसरी फैलिएको छ कि उनको खास नामले त्यहाँ उनलाई कसैले पनि चिन्दैन । र, आचार्य दाइको अफिस हो– कृषि मन्त्रालय ।

कृषिमन्त्रालयमा राज्यमन्त्री छिन्, रामकुमारी चौधरी । चौधरीको कार्यालय छिर्ने ढोकाको ठ्याक्कै अगाडि अर्को एउटा ढोका छ । आचार्य दाइ त्यही ढोकाभित्रको कोठामा धेरै भेटिन्छन् । वास्तवमा भन्ने हो भने त आचार्य दाइको कृषि मन्त्रालयमा कुनै निश्चित कोठा छैन, निश्चित टेबल र कुर्ची छैन ।

किनकि उनको काम नै ‘दौडने’ हो । 

त्यसैले केही दिनअघि मन्त्रालय पुगेर त्यहाँका एक कर्मचारीलाई हामीले सोध्यौँ, ‘आचार्य दाइलाई कहाँ भेट्न सकिएला ?’

‘थाहा छैन, यता कतै होलान्,’ ती कर्मचारीले जवाफ दिए । 

सँगैको अर्को कोठाबाट कसैले बोलाएको सुनियो, ‘आचार्य दाइ ।’

हामीले पल्याकपुलुक यताउती हेर्यौँ । तर, देखिएनन् आचार्य दाइ । 

कृषि मन्त्रालयको भवनको दोस्रो तलामा दैनिक आचार्य दाइलाई दर्जनौँ पटक बोलाइन्छ, तर उनी कतिबेला कहाँ हुन्छन्, कसैलाई पत्तो हुँदैन । 

‘आचार्य दाइ भर्खर फाइल लिएर तल जानुभएको छ, एकै छिनमा आउनुहुन्छ,’ एक कर्मचारीले भने । 

केहीबेरमा आचार्य दाइ त्यहाँ आइपुगे । 

हामीले प्रस्ताव राख्यौँ, ‘अब एकैछिन कुरा गर्न मिल्थ्यो कि ?’

आचार्य दाइ आवाज ननिकाली फिसिक्क हाँसे । माथिल्लो लहरो बीचको दाँत झरेको रहेछ आचार्य दाइको, उनको हाँसोमा इनोसेन्सनेस देखियो । 

‘हस्,’ आचार्य दाइले भने । खासमा यो हाँसो र हस आचार्य दाइका ट्रेडमार्क रहेछन्, उनले कसैलाई पनि हुँदैन भन्दा रहेनछन् र सबै प्रश्नको जवाफ हाँसेरै दिने रहेछन् ।

कुरा गर्न राजी भए आचार्य दाइ । तर, कहाँ बसेर कुरा गर्ने ? कुरा गर्ने स्थान मिलाउन आचार्य दाइलाई हम्मेहम्मे पर्यो, यसै पनि उनको आफ्नो कोठा थिएन, अरु कोठामा काम भइरहेको थियो । केहीबेर सोचेपछि आचार्य दाइले विकल्प निकाले । कृषि मन्त्रालयको भर्याङको रेलिङमा आड लगाएर हामीले कुरा गर्ने भयौँ ।

आचार्य दाइलाई हाम्रो पहिलो प्रश्न थियो, ‘कहिलेदेखि सुरु गर्नुभयो यहाँ काम गर्न ?’

आचार्य दाइ केही बोलेनन् । फिस्स हाँसे । एकछिन चुपचाप लागे । केहीबेर पछि उनले भने, ‘०५४ सालदेखि होला ।’ हामी अर्को प्रश्न गर्ने तयारीमा थियौँ, आचार्य दाइ फेरि बोलिहाले, ‘त्यो चाहिँ यहाँ होइन, कृषि अनुसन्धान केन्द्र मत्स्य विभाग त्रिशुलीमा हो ।’

त्यही त्रिशुली पनि आचार्य दाइको घर रसुवाबाट ८ किलोमिटर टाढा पथ्र्यो । उनी दैनिक हिँडेर अफिस पुग्थे, हिँडेरै घर फर्किन्थेँ ।

‘बस्ने व्यवस्था त अफिसमा पनि थियो, कहिलेकांही निकै ढिलो हुँदा अफिसमा बस्थेँ,’ उनी फेरि हाँसे, ‘तर, घरको माया लागिहाल्थ्यो, सकेसम्म सधैंजसो घर नै जान्थेँ ।’

आचार्य दाइ नोस्टाल्जिक हुँदै थिए, नुवाकोटमा काम गर्दाका दिनमा फर्किँदै थिए । 

‘आचार्य दाइ,’ एकजना महिला कर्मचारीले नजिकै आएर बोलाइन् । उनको स्वर यति चर्को थियो कि आचार्य दाइ यसपटक हाँसेनन्, झस्किए मात्र । 

उनीहरुबीच केही बेर कुरा भयो । ती महिला फर्किइन् । अनि आचार्य दाइ हामीतिर फर्किएर फेरि एकपटक आफ्नो ब्रान्ड छोडिदिए, फिस्स हाँसो । 

अनि भने, ‘यहाँ कुराकानी गर्न नमिल्दो रैछ, जाऔँ एउटा कोठामा ।’ उनी सरासर अगाडि लागे, हामी पछि लाग्यौँ । आचार्य दाइ त्यहाँको करिडरमा हिँड्दा पनि हाँसिरहेका थिए । सायद, यो पहिलो पटक थियो जब उनले आफ्नो मनको पोयो फुकाउन पाएका थिए ।

उनले हामीलाई सोझै राज्यमन्त्रीको स्वकीय सचिवका लागि छुट्ट्याइएको कोठामा लिएर गए । कोठामा पस्नुभन्दा अगाडि उनले विस्तारै ढोका धकेले । भित्र कोही रहेनछ, हामीतिर फर्किएर उनी हाँसे अनि ढोका उघारे ।

ढोकाको सिधै अगाडि एउटा टेबल थियो, टेबल पछाडि एउटा कुर्ची । टेबलअगाडि भएका दुई सेतो खोल लगाइएकामध्ये एउटा सोफामा बसे आचार्य दाइ । अनि हाँसे र हामीलाई आगाडिको सोफामा बस्न त्यही हाँसोबाट नै संकेत गरे ।

कोठाको ढोका लागिसकेकै थिएन । विस्तारै ढोका लाग्दै थियो, बाहिरबाट कसैले बोलाएको सुनियो, ‘आचार्य दाइ, ख्वै त त्यो काम ?’ 

‘हस् म्याम,’ हामीलाई पुलुक्क हेरेर आचार्य दाइले जवाफ दिए, ‘म गइसकेँ ।’

उनी त्यो कोठाबाट बाहिर कतै जानु पर्ने थियो सायद । तर, उनी अब बल्ल सिंहदरबारभित्र छिरे ।

‘६४ सालमा हुनुपर्छ, मैले सिंहदरबारमा काम गर्न थालेको,’ उनले सम्झिए, ‘काममात्र यहाँ हो, अहिलेसम्म तलब चाहिँ खुमलटारमा लिन्छु ।’

खासमा आचार्य दाइको सरुवा खुमलटारको पशु प्रजनन केन्द्रमा भएको थियो । त्यहाँबाट उनी काजमा मन्त्रालय आइपुगे । 

त्यतिबेला कृषिमन्त्री थिए, छविलाल विश्वकर्मा । 

त्यसपछि सुरु भयो आचार्य दाइको काम । ‘यताको कागज उता लैजाने, उताको कागज यता लैजाने, यताको उता, उताको यता,’ अब चाहिँ खित्का छोडेर हाँसे आचार्य दाइ, ‘अरु त खास काम के हुनु र ?’

तर, मन्त्रालय गएको पहिलो दिनमा नै आचार्य दाइले मन्त्रीलाई चिया सर्भ गरेका थिए । 

‘ख्वै को आएको थियो, चिया पुर्याउन गएको थिएँ,’ आचार्य दाइले सम्झिए, ‘कहिलेकांही भित्र मन्त्री हुँदा बाहिरबाट चिट लिएर जानु पर्ने हुन्थ्यो, मलाई मनै पर्दैनथ्यो ।’ आचार्य दाइले यो कुरालाई अझ लम्ब्याउन खोज्दै थिए, तर उनी बीचमा रोकिए र लामो हाँसो हाँसे ।

आचार्य दाइले यतिका वर्षसम्म काम गर्दा मन्त्रीहरुले एक्लै कोठामा चिया अर्डर गरेको थाहा पाएका छैनन् ।

त्यसो त आचार्य दाइ मन्त्रीहरुका कुरा छिटो बिर्सने रहेछन् । ‘कामले होला,’ उनी हाँसे, ‘छविलाल धेरै समय यहाँ बस्नु भएन क्यारे, त्यसपछि मृगेन्द्र यादव आउनु भयो होला ।’ 

यति भनिसकेपछि हामीले गरेको दुई घन्टा लामो कुराकानीमा पहिलो र एकपटकमात्र आचार्य दाइको अनुहारमा कुनै भाव देखिएन । उनले लगाएको कालो ‘विन्डसिटर’को चेन समाते, निकैबेर घोत्लिए । तर, त्यसपछिका मन्त्रीको नाम ठ्याक्कै सम्झिन सकेनन् ।

त्यसपछि उनले जयप्रकाश गुप्ता, मिनेन्द्र रिजाल, हरि पराजुली, हरिबोल गजुरेललगायतको नाम लिए । अनि अन्तिममा अहिलेका मन्त्री चक्रपाणी खनालको ।

‘हाम्रा लागि त मन्त्री फेरिनु भनेको नाममात्र फेरिनु हो,’ उनले भने, ‘को सजिलो, को असजिलो भन्ने पनि हुँदैन, नयाँ नाम आउँदैमा हाम्रो जीवन तथा काममा कुनै परिवर्तन पनि आउँदैन ।’

तर, यही कुरा उति मन परेको छैन आचार्य दाइलाई । ‘मन्त्री मात्र फेरिए त केही थिएन,’ उनले भने, ‘स्वकीयदेखि अरु सबै कर्मचारी फेरिन्छन्, अनि घुलमिल नहुँदै अर्कोसँग काम गर्नपर्छ । अप्ठ्यारो हुने ।’ अबको सरकार भनेको चाहिँ केही लामो समय टिक्ने सरकार हो भन्ने पनि बुझेका छन्, आचार्य दाइले । 

एकातिर मन्त्रालयमा यताको फाइल उता, उताको यता गरिरहेका छन् आचार्य दाइ भने अर्कोतिर उताबाट परिवार नै यता ल्याएर राखेका छन् । अनि चाडवाडमा उता जान्छन् पनि । ‘जीवन नै यता र उता,’ आचार्य दाइले अलिक अप्ठ्यारो गरि यो वाक्य भने, ‘४ वर्षजति भयो बसाइँ सरेको ।’

आचार्य दाइ श्रीमती, तीन छोरी र एक छोरासहित अहिले नेपालटारमा बस्छन् । 

आचार्य दाइ अब विस्तारै आफ्नो परिवारतिरको कुरा सुनाउने मुडमा थिए । तर, बाहिरबाट कसैले फेरि बोलायो, ‘आचार्य दाइ ।’

यसपटक उनी जुरुक्क उठे । र, बाहिर निस्किए । 

केही सेकेन्डमा हामी बसिरहेको कोठाको भित्र भएको अर्को कोठाबाट दुई जना बाहिर निस्किए । आफ्नै तालमा कुराकानी गर्दै उनीहरु पनि बाहिर निस्किए ।

त्यसपछि कोठा शान्त भयो, झन्डै ४५ मिनेट । आचार्य दाइ पनि फर्किएर आएनन् । तर, उनले वाचा गरेका थिए, फर्किएर आउने ।

हामी कुरिरह्यौँ ।

४५ मिनेट भएको हुँदो हो, ढोको घरक्क खुल्यो । आचार्य दाइ आएका रहेछन् । उनी कोठामा पस्नेवित्तिकै कोठाको माहोल नै परिवर्तन भयो, उनी खुलेर हाँस्न थाले । 

अनि हामीले प्रश्न सोध्न नपाईकन उनले भने, ‘छोरीहरु सबै स्कुल पढिरहेका छन् ।’ अनि उनले गर्व गरे, ‘माइली अहिले नेपालटारको ग्रामीण कलेजमा कम्प्युटर साइन्स पढ्छे, उसको त चिन्ता छैन । खै कताबाट स्कलरसिप पाइछे, पैसा तिर्नु पनि पर्दैन ।’ 

अरु छोराछोरीको पढाइबाट पनि सन्तुष्ट छन्, आचार्य दाइ ।

तर, आचार्य दाइलाई यतिका वर्ष मन्त्रालयमा काम गरेपछि एउटा कुराले भने दुखी बनाएको छ– मन्त्रालयमा बारम्बार धाइरहने मानिसहरुको बानी । 

‘कति त एउटै काम लिएर बारम्बार आउँछन्, हैरानै पार्छन्,’ उनले भने, ‘खासमा मन्त्रालय आएर केही हुने होइन । तर, उनीहरु के सोच्छन् कुन्नी ?’

अर्को कुनै एउटा कुरा पनि भन्न खोज्दै थिए, आचार्य दाइ । तर, बाहिरबाट कसैले बोलायो– आचार्य दाइ । 

यसपटक आचार्य दाइले आज यति नै कुरा गरौँ न त भने, उनी फर्किएर आउने मुडमा भएनन् । हामीसँग नम्बर मागे, साँझ फोन गर्छु भने । हामीले उनको नम्बर मोबाइलमा सेभ गर्यौँ, नाम राख्यौँ– आचार्य दाइ । 

आखिर रसुवाका बुद्धि आचार्यको पहिचान उनको थरले मात्र बोक्न थालिसकेको छ । त्यो थरको पछाडि एउटा फुर्को जोडिएर बनेको छ– आचार्य दाइ । 

यसअघि सिंहदरबार अन्डरडग्स सिरिजकाे अर्काे एउटा कथा

 

जसले ९ प्रधानमन्त्रीका गाडी चलाए

 

(सिंहदरबार अन्डरडग्स हाम्राे नयाँ सिरिज हाे । सिंहदरबार मन्त्री र सचिवकाे मात्र कार्यथलाे हाेइन, हामीजस्तै सामन्य नागरिक पनि सिंहदरबारमा छन् जाे हामीजस्तै सामान्य काम गर्छन् । याे सिरिजमा उनीहरुकाे कथा समावेश हुनेछ– सम्पादक ।)



राेशन सिग्देल

राेशन सिग्देल इकाेनाेमिक्सका विद्यार्थी हुन् । उनी फरकधारमा पनि अर्थतन्त्रसँग सम्बन्धित विषयमा रिपाेर्टिङ गर्छन् ।

यो पनि नछुटाउनुहोस्