कलंकी-नागढुंगा सडकमा स्थानीयको अवरोध

काठमाडौं– स्थानीयवासीको अवरोधका कारण कलंकी नागढुंगा सडक अवरुद्ध भएको छ । लामो समयसम्म सडक निर्माण कार्य सम्पन्न नहुँदा धूलो, धुवाँ र हिलोको मारमा परेका स्थानीयले सडक अवरुद्ध गरेका हुन् । 

नागढुंगा ट्राफिक प्रहरी प्रमुख हरि भट्टराईका अनुसार स्थानीयवासीले सडक अवरुद्ध गरेपछि सडक जाम भएको छ । नागढुंगा कलंकी सडकमा अवरोध हुँदा पृथ्वी राजमार्गमा समेत सवारी आवागमनमा समस्या देखिएको छ । 

सडक निर्माणमा ढिलाइ हुँदा आफूहरूले सास्ती भोग्नुपरेको भन्दै स्थानीयवासी आक्रोशित भएका हुन् । दैनिक १५ हजारभन्दा धेरै सवारी चल्ने यो सडकमा धुलो उडेर दिउँसै अँध्यारो हुन्छ । ‘धुलो उडेर पाँच मिटर अगाडिको दृश्य पनि देख्न सकिँदैन,’ भट्टराईले भने ।

बर्खामा हिलो र अन्य समयमा धुलो उड्दा त्यस क्षेत्रका स्थानीयवासीको दैनिकीमा समेत असर परेको छ । कच्ची सडक भएकै कारण अन्य समयमा पनि जामको समस्या बढेको बताउँछन भट्टराई ।

ट्राफिक प्रहरी प्रवक्ता राजकुमार लम्साल पनि सडकको दुरवस्थाका कारण ट्राफिक जाम बढेको बताउँछन् । दसैं नजिकिँदै गर्दा सवारी र यात्रुको चाप बढी हुने भएकाले अब झन् समस्या हुने उनले बताए ।

राजधानी भित्रिने प्रमुख नाकाको रूपमा रहेको नागढुंगा सडक समयमै निर्माण सम्पन्न नहुँदा उपत्यका बाहिरिने र भित्रिने सबै सवारीसाधन जाममा पर्ने गरेका छन् । १२ मिटर चौडाइसहित ४ लेनको सडक निर्माण गर्ने भनिए पनि अहिले दुईतर्फी सवारीसाधन नै एउटै लेनबाट सञ्चालन गर्नुपर्ने अवस्था छ ।



त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकअन्तर्गत करिब साढे १२ किलोमिटर सडक निर्माण कार्यमा हालसम्म १ अर्ब ६३ करोड ८८ लाख ९४ हजार खर्च भइसकेको छ । २०७१ सालबाट निर्माण सुरु गरिएको कलंकी–नागढुंगा सडक साढे दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य थियो । तर, ठेकेदारको लापरवाहीका कारण चार वर्ष बितिसक्दा पनि सडक निर्माण हुन सकेको छैन ।
 



  • प्रकाशित मिति : असोज १२, २०७५ शुक्रबार १२:२३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया