विद्रोहको स्वर र सहरी नक्सल
युग पाठक  |  असोज १२, २०७५

‘भारतमा आज अल्पसंख्यक हुनु अपराध भएको छ । गरिब हुनु अपराध भएको छ । अनि गरिबको पक्षमा उभिनु नै सरकार फाल्ने षडयन्त्र भएको छ ।’ प्रसिद्ध भारतीय लेखक अरुन्धती रोयको भनाई हो यो । ‘म पनि सहरी नक्सल’ ह्यासट्याग चर्चित भैरहेको बेला रोयले पनि आफूलाई यसमा सामेल गरेकी छिन् ।

सहरी नक्सल को हुन् ? सुधा भारद्वाज कि गौतम नवलखा ? कवि वरवर राव कि अरुण फरेरा कि स्टिेफन स्वामी ? भारतीय सत्ताले भर्खरै गिरफ्तार गरेका यी लेखक, कवि तथा जनताका अधिकारका लागि आवाज उठाउने बौद्धिकहरुलाई भारतीय जनता पार्टीका नेताहरुले सहरी नक्सल भनेका छन् । नरेन्द्र मोदीको सत्ताले गरिब, अल्पसंख्यक, दलित, मुस्लिम लगायतको दमन जारी राखेको बेला, भाजपाको हिन्दुवादी संगठन आरएसएसले लेखक, पत्रकार, मानवअधिकारवादी तथा सर्वसाधरण प्रेमीहरु विरुद्ध भौतिक हमला जारी राखेको बेला, सहरी नक्सल ति सबैलाई भनिएको छ जो अत्याचारको विरुद्ध खडा उभिए ।

पश्चिम बंगालको नक्सलबाडीमा चारु मजुमदारको नेतृत्वमा सन् १९६७ मा सुरु भएको किसान विद्रोहलाई पहिलोपटक नक्सलवाडी आन्दोलन भनियो । कम्युनिष्ट पार्टीको नेतृत्वमा चलेको त्यो विद्रोह पछि सरकारी दमनमा परेर धरासायी भयो । तर त्यसैको एक हिस्सा अहिले भारतीय माओवादीको रुपमा सशस्त्र विद्रोहमा छ । छत्तिसगढ लगायत विभिन्न ग्रामिण क्षेत्रमा माओवादीको व्यापक प्रभाव छ । तिनै माओवादी लगायत सम्पूर्ण विद्रोही कम्युनिष्टलाई नक्सली, नक्सलवादी वा नक्सल भनेर भारतीय मिडियाले पुकार्ने गर्छ । नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले हिन्दुत्वको नारा दिँदै जब भारतभर गरिब, अल्पसंख्यक मुलसमान, विभिन्न जनजातिहरु प्रति जुन दमनकारी रवैया देखाइरहेको छ, बौद्धिक तप्काबाट त्यसको निरन्तर विरोध पनि भैरहेको छ ।

नरेन्द्र मोदीकै शासनकालमा पत्रकारहरु गौरी लंकेश, सुजात बुखारी, सान्तनु भौमिक र सुदिपदत्त भौमिक आदिको हत्या भैसकेको छ । मोदीको श्वेतआतंक विरुद्ध आवाज उठाउने लेखक तथा अभियन्ताहरुमाथि निरन्तर हमला पनि भैरहेको छ । आनन्द तेलतुमडे जस्ता दलित अभियन्ता तथा लेखकहरुको घरमा छापा मारिएको छ । पत्रकार रविश कुमारलाई निरन्तर हत्या गर्ने धम्की दिइएको छ । एबिपी न्यूज टेलिभिजनका पत्रकार पुण्यप्रसुन बाजपेयीलाई राजिनामा दिन बाध्य पारिएको छ । उनको कार्यक्रम प्रशारण हुने बेला राज्यकै निकायले स्याटेलाइट नै बन्द गरिदिने लगायत निरन्तर धम्की दिइएको थियो । मोदी सरकार र उनको पार्टीका भिजिलान्ते समूहले हत्या, आतंक मच्चाइरहँदा लेखक, पत्रकार, बौद्धिक, मानवअधिकारवादी कोही नछाडेर आक्रमण गरिरहेका छन् । वृद्ध उमेरका मानवअधिकारवादी स्वामी अग्निवेशमाथि राँची र दिल्लीमा भौतिक आक्रमण गरिएको छ ।

वास्तवमा मोदीको उदय नै हिन्दु नश्लीय राष्ट्रवादबाट भएको हो । गुजरातको मुख्यमन्त्री छँदा गुजरात दंगामा राज्यको अंग दुरुपयोग गरेर मुस्लिमको कत्लेआम गरेको आरोप पनि उनलाई छ । हिन्दु नश्लको शुद्धता र भारतलाई हिन्दु राष्ट्र बनाउने धार्मिक राजनीतिबाट मोदीको उदय भएको हो । त्यसैले मोदीका निम्ति दुईवटा कुरा प्यारा छन्– हिन्दुको सर्वोच्चता स्थापना गरेर अन्य धार्मिक अल्पसंख्यक, आदिवासी, दलित र गरिबहरुप्रति कहर बर्षाउनु र नवउदारवादको प्रयोग मार्फत आदिवासी र किसानलाई जमिनबाट बेदखल गर्दै धनाढ्यहरुको स्वर्ग निर्माण गर्नु । त्यसैले नर्वदा बचाओ आन्दोलन होस् वा आदिवासीहरुको आन्दोलन वा दलित अधिकारको आन्दोलन, मोदी र भाजपाका लागि सबै अधिकारको आवाज उठाउनेहरु नक्सली हुन् । भाजपाका भिजिलान्तेहरु कहिले रोमियो अपरेशन चलाएर प्रेमीहरुलाई आतंकित पार्छन्, प्रेम गर्नुलाई अपराध घोषित गर्छन् ।

कहिले बलात्कारीको पक्षमा जुलुस निकाल्छन् । मुस्लिम, दलित, विभिन्न आदिवासी र उत्तरी भारतका जनजातिलाई थप किनारामा धकेल्न चाहन्छन् र भारत केवल हिन्दू (भाजपा भर्सनको हिन्दू)को मात्र घर हो भन्ने घोर नश्लवादी घृणाको राजनीति गर्छन् । त्यसैले सत्तासँग विमति राख्ने लेखक, पत्रकार, विद्यार्थी, इतिहासकार, मानवअधिकारवादी, दलित अधिकारवादी, आदिवासी अधिकारवादी सबै, जो सहरमा बसेर आवाज उठाउँछन्, सबै सहरी नक्सल भएका छन् । मोदी सरकारले जब यो ट्याग दियो, अरुन्धती रोय लगायत सबैले म पनि सहरी नक्सल हुँ भन्ने सन्देशसहित सत्तालाई चुनौती दिएका छन् । मि टू अर्वान नक्सल ह्यासट्याग ट्विटरमा ट्रेन्ड भयो । लेखक, पत्रकार तथा अधिकारवादीहरुको हत्या र गिरफ्तारीको विरोधमा रोमिला थापर, रामचन्द्र गुहा जस्ता इतिहासकारले पनि आवाज उठाएका छन् ।

प्रसिद्ध इतिहासकार रोमिला थापरले त इतिहासका पाठ्यपुस्तक व्यापक मात्रामा परिवर्तन गर्दै हिन्दूको उच्चता मात्र पढाउने नयाँ पाठ्यक्रमकै पनि विरोध गरिरहेकी छन् । मोदी सरकारले आदिवासी र किसानका जमिन खोसेर कथित् विकासका परियोजना मात्र चलाउन खोजेको छैन, बालबच्चालाई पढाउन तयार गरिएको इतिहासको पाठ्यक्रमबाटै हिन्दू शुद्धता र धार्मिक घृणाको धारणा बच्चाबच्चीको दिमागमा हाल्ने काम पनि शुरु गरेको छ । यसको पनि विरोध भएको छ र विरोध गर्नेहरु सबै मोदी सरकारको नजरमा सहरी नक्सल हुन् । अघिल्लो चुनावमा मोदीले ‘अच्छे दिन आएँगे’ भन्ने नारा दिएका थिए । सन् २०१९ को निर्वाचन नजिकिँदै गर्दा मोदी शासनले स्वतन्त्र भारतको इतिहासमै खराब दिन ल्याएको विश्लेषण गरिएको छ । त्यसैले मोदी र भाजपाका निम्ति हरेक फरक मत राख्ने व्यक्ति सहरी नक्सल भएको छ ।

लेखक, कलाकार, इतिहासकार, पत्रकार, मानवअधिकारवादी, दलित अधिकारकर्मी जो जो मोदी सत्ताको दमनकारी रवैयाको विरोधमा हुन्छन्, ति सबै नक्सल करार गरिएका छन् । अभूतपूर्व कुरा के भने नक्सल वा नक्सली शब्दले अहिले भारतमा अन्याय र दमनको विरोध गर्ने सबैलाई जनाउन थालेको छ । अहिले भारतमा कुनै पनि विषय र मुद्धामा फरक दृष्टिकोण आउन नदिने वातावरण बनेको छ । राज्यसत्ता नै फरक मत दबाउन तर्फ अग्रसर भएको छ । सिनेमा, कला, लेख, पुस्तक आदि, जे जे फरक विचार र मत राखेर सिर्जना गरिन्छ, ति सबैमाथि प्रतिबन्ध लगाउने प्रयास भईरहेको छ । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि पहिलोपटक भारत एक असहिष्णु, नश्लवादी मुलुकका रुपमा चित्रित हुन पुगेको छ ।

भारतमा अहिले गरिब हुनु नै अपराध हो । मुस्लिम वा अल्पसंख्यक हुनु नै अपराध हो । अन्यायको विरोध गर्नु र विमती राख्नु पनि अपराध हो । दलित र आदिवासीको रुपमा जन्म लिनु त झन् ठूलो अपराध हो । अमेरिकामा डोनाल्ड ट्रम्प, बेलायतमा थेरसा मे जस्ता शासकको उदय हुनु, दक्षिण एसियामा मोदी, ओली र आङसाङ सुकी जस्ता अनुदार र नश्लीय राष्ट्रवादीको उदय हुनु एक्काइसौं शताब्दीको एक नयाँ चुनौती बनेको छ । जनताकै भोट लिएर जितेका मोदी र ओली जस्ता शासकहरु वास्तवमा जनताको प्रतिनिधि हुन् कि विजेता ? भारतमा मोदी र नेपालमा ओलीको रवैया हेर्दा यी शासकहरु जनताको प्रतिनिधि बनेका होइनन्, जनतालाई जितेका शासक हुन् भन्न सकिन्छ ।

शासकले जब चुनावकै माध्यामबाट किन नहोस्, जनतामाथि जित हासिल गर्छ, ऊ अनुदार र विरोधको स्वर दबाउन खोज्ने दमनकारी हुँदोरहेछ । नेपालमै प्रधानमन्त्री केपी ओलीलाई बुद्धिजीवी कोट काट्ने मुसा जस्ता किन लाग्छन् ? उनका कुरा खुरुखुरु मान्ने, उनले विभिन्न सरकारी निकायमा नियुक्ति दिएका र उनका चाकरीदारलाई त उनले त्यसो भनेका होइनन् होला । नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई धेरै पढेर बौद्धिकहरु पागल भए झैं किन लागेको होला ? यो सरकारले बजेटमार्फत संघियतालाई संकटमा पारेको छ भनेर हामीले भन्यौं । सरकारमै रहेका पार्टीका मूख्यमन्त्रीहरु यही कुरा भनिरहेका किन छन् ? किन मुख्यमन्त्रीहरु रुष्ट छन् ? र मूख्यमन्त्रीहरुसँग प्रधानमन्त्री रुष्ट किन छन् ? आम गरिब र श्रमजीवी जनतालाई टेक्ने समाउने ठाउँ नदिने, अनि रेल र पानीजहाजले समृद्धि आउँछ भन्ने कुरा झुठ हो ।

मैले यसो भन्दा म कसरी समृद्धि विरोधी भएँ ? यो सरकारको अर्थराजनीतिक सिद्धान्त नै समृद्धि विरोधी छ भनेर भन्न किन नहुने ? राज्य पुनसंरचना गर्दा १४ अञ्चल ७५ जिल्लाको पुरानो नक्सा मेटेर सबै समुदाय समेटने राजनीतिक नक्सा कोर्नुपथ्र्यो । तर त्यसो गरिएन । त्यसैले यो संविधानले राज्य पुनर्संरचनाको मार्गचित्र बिगारेको छ । तर राज्य पुनर्संरचना र संघियताको मर्ममा प्रहार गरेरै ओली सरकारको उदय भएको छ ।

त्यसैले दुई तिहाईको दम्भ र समृद्धिको गफ त यो सरकारसँग छ, तर समृद्धितिर हिँड्ने कुनै रचनात्मक बाटो नै छैन । त्यसैले दौरासुरुवाललाई राष्ट्रिय पोशाक घोषित गर्न ऊ आतुर छ, तर किसानका कुरा सुन्न उसलाई फुर्सद छैन । यस्तो सरकार असफल बन्न अभिसप्त हुन्छ । अनि उसँग दमन मात्र एउटा औजार बाँकी रहन्छ । जनताको पक्षमा कुनै दृष्टिकोण नभएको सरकार दुई तिहाईको दम्भ लिएर खडा भयो भने आफ्नो असफलतासँगै उसले दमनको बाटो लिँदोरहेछ ।

मोदीले सबैतिर नक्सल देखिरहेका छन्, ओलीले के देख्ने हुन् हेर्न बाँकी छ ।



यो पनि नछुटाउनुहोस्