रत्नपार्क बन्यो शंखधर पार्क

रत्नपार्क उपत्यकाको केन्द्र । रत्नपार्कलाई नै केन्द्र बनाएर उपत्यकाका सवारी सञ्चालन हुन्छन । रत्नपार्क क्षेत्रमा एउटा बगैंचा पनि छ । रंगिविरंगी फूल, हरियो चौर, ठूला रुख र बच्चाहरु खेल्न सक्ने गरि प्रशस्तै स्थान बनाईएको यही पार्कलाई रत्नपार्क भनिन्छ । यही पार्कको नामबाट यो क्षेत्रको नाम पनि रत्नपार्क नै रह्यो । बाहिरबाट हेर्दै पनि मोहक देखिन्छ बगैँचा । रत्नपार्कको बाटो भएर हिड्ने जो कोहीका आँखा एकपटक बगैँचामा पुग्छन नै ।

केही वर्ष पहिलो यो बगैँचा अहिले जस्तो मोहक थिएन ।

वि.सं.२०१८ अगाडि अहिले पार्क भएको स्थानको छुट्टै नाम थिएन । रानीपोखरी, टुँडिखेल, विर अस्पताल, बागबजार, घण्टाघर जस्ता नामले यो क्षेत्र परिचित थियो । तर, २०१८ सालमा उपत्यकाको केन्द्रमा पार्क बनाउने प्रस्ताव भयो र रत्नराज्य लक्ष्मीदेवि शाहको नामबाट यो पार्कको नाम रत्नपार्क राखिएपछि अहिले यो क्षेत्र रत्नपार्कका नामले परिचित छ ।

२०१८ सालमा तत्कालिन उपत्यका निर्माण समितिले रत्नपार्क, बालाजु पार्क र भृकुटीमण्डप निर्माण गरेको थियो । २०१८ सालमा निर्माण शुरु भएर २०२१ सालमा रत्नपार्क निर्माण सम्पन्न भएको थियो । पार्क निर्माण भएपछि सर्वसाधारणलाई निशुल्क रुपमा पार्क प्रवेश गर्ने व्यवस्था थियो ।

यसपछि शुरु भयो रत्नपार्कको स्वामित्व हस्तान्तरणको खेल । वि.स २०३३ रत्नपार्कको स्वामित्व पहिलोपटक सर्यो । विकास समिति ऐन २०१३ अन्र्तगत ‘सार्वजनिक उद्यान तथा सभागृह विकास समिति’ गठन भयो । यो समितिले रत्नपार्क सहित उपत्यकाका भृकुटिमण्डप, सभागृह, रानीपोखरी, बालाजु पार्ककोे व्यवस्थापन र रेखदेख गर्ने जिम्मेवारी पायो ।

२०४६ सालपछि फेरी रत्नपार्कको स्वामित्व परिवर्तन भयो । २०४६ को नयाँ व्ययवस्थापछि ‘सार्वजनिक उद्यान तथा सभागृह विकास समिति’ लाई स्थानीय विकास मन्त्रालय मातहत ल्याईयो ।  यस अघि यो समिति गृह पञ्चायत मातहत रहने गथ्र्यो ।



वि.स २०५८ सालमा रत्नपार्क, बालाजु पार्क, रानीपोखरी, भृकुटीमण्डपलाई काठमडौं महानगरपालिकाको जिम्मा लगाईयो । महानगरले जिम्मा लिएका यी पार्कको व्यवस्थापनको लागि २०५९ सालदेखि कर्मचारी समेत महानगरपालिकाले व्यवस्थापन गर्न थाल्यो ।
तर, रत्नपार्कको अवस्था दिनप्रतिदिन खस्किदै गयो । पार्कभित्र बनाईएका संरचना भत्किन थाले । बगैँचाको रेखदेख हुन छाड्यो । २०३६, २०४६ का ठूला आन्दोलन र  विभिन्न समयमा हुने आन्दोलनको केन्द्र पनि रत्नपार्क नै बन्यो । 

टुँडीखेल, सैनिक मञ्च, खुला मञ्च र रत्नपार्कमा फलामे बार लगाउने निर्णय भएपछि रत्नपार्कले आफ्नो अस्तित्व नै गुमायो । बार लगाउने समयमा रत्नपार्क जताततै भत्कियो । 



अब रत्नपार्क पार्क कम, नांग्लो व्यापारीको अखडा बन्न थाल्यो । २०७१ अगाडिसम्म रत्नपार्कमा सर्वसाधारणको किनमेल केन्द्र बन्न पुग्यो । यति मात्रै होइन विस्तारै रत्नपार्क राजधानीको यौन अखडाको रुपमा समेत बद्नाम हुन थाल्यो । प्रहरी प्रशासन र महानगरलाई समेत रत्नपार्कको सुरक्षा र व्यवस्थापन हम्मे हम्मे हुन थाल्यो ।

तर, १८ औँ सार्क शिखर सम्मेलनले रत्नपार्कलाई पुनः जीवित बनायो । वि.स २०७१ मा नेपालमा आयोजित सार्क सम्मेलनका लागि सरकारको निर्देशनमा महानगरले रत्नपार्कको पुन निर्माण सुरु गर्यो । १ वर्ष लगाएर पुनः निर्माण गरिएको रत्नपार्क पुनः निर्माणमा ८४ लाख रुपैयाँ खर्च भएको थियो ।
विदेशी राष्ट्रप्रमुख र विदेशी पाहुनलाई देखाउनका लागि पुनः निर्माण गरिएको रत्नपार्क अहिले काठमाडौंबासीको विसौनी बनेको छ । सार्क शिखर सम्मेलनको एक वर्षसम्म रत्नपार्क सर्वसाधारणका लागि खुल्ला गरिएको थिएन । 

२०७२ असार १५ गतेदेखि रत्नपार्क सर्वसाधारणलाई पैसा तिरेर पार्क प्रवेश गर्न पाउने व्यवस्था गरियो । निःशुल्क प्रवेश पाउनेगरि सुरु गरिएको रत्नपार्क स्थापनाको ५१ वर्षपछि आफ्नै पुरानो स्वरुपमा फर्किएको छ । 

तर, अब रत्नपार्कको नाम भने फेरिएको छ । गत वर्ष भएको स्थानीय तहको निर्वाचन पछि मेयर भएका विद्यासुन्दर शाक्यले करिब १ वर्षपछि रत्नपार्कको नाम परिवर्तन गरेर ‘शंखधर उद्यान’ राखे । २०१८ सालमा रत्नको नाममा राखिएको रत्नपार्क अब जनबोलीमा मात्रै सिमित हुने भएको छ ।
पार्कको नाम फेरिएपनि रत्नपार्क सुधार भएकोमा भने नगरवासी खुसी छन् । १५ रुपैयाँ र २५ रुपैयाँ टिकट शुल्क राखिएको पार्कले गत वर्ष १ करोड २७ लाख रुपैयाँ संकलन गरेको बताउँछन पार्क व्यवस्थापक हरिशरण केसी ।

पार्क भित्र रहेका फूल तथा बोट विरुवाकोलागि आवश्यक पर्ने मल पनि पार्कले नै बनाउने गरेको केसीले जानकारी दिए । रुखका पातहरु कुहाएर पार्कले कम्पोष्ट मल बनाउँछ । त्यही मल पार्कमा प्रयोग गर्ने गरिएको केसी बताउँछन ।

पार्कमा अहिले निःशुल्क वाईफाईको व्यवस्था पनि छ । पानी पर्दा ओत लाग्नको लागि   सेड हाउसको व्यवस्था छ । बालकालिका खेल्नको लागि पिङ र अरु साना खेलौना पनि पार्कमा छन् । 

पार्क व्यवस्थापनको लागि अहिले महानगरपालिकाले १६ जना कर्मचारी खटाएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको पार्कले सहरी सौन्र्दय बढाउन महत्वपूर्ण काम गरेको ठान्छन केसी । पार्क व्यवस्थित हुँदै गएपछि बद्नाम रत्नपार्क अहिले शनिबार र विदाको दिन घुम्न जाने थलो बनेको छ । दिनभरीको कामको थकान मार्ने थलो बनेको छ । गृहणीलाई बालबच्चासँग दिन बिताउने स्थल बनेको छ । प्रेमिल जोडीलाई प्रेम व्यक्त गर्ने थलो बनेको छ, रत्नपार्क उर्फ शंखधर पार्क ।
 

  • प्रकाशित मिति : असोज १२, २०७५ शुक्रबार १७:५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया