हाम्रो समाजमा पुँजीवाद र विवाहको समाजशास्त्र
मनिषा पौडेल  |  असोज १३, २०७५

इतिहासलाई हेर्दा विवाहका अनेक रुप बाहिर आउँछन् । इजरायलका सबैभन्दा बुद्धिमान राजा मानिएका सोलोमोनले गरेका एक हजार विवाहको प्रसङ्गदेखि अहिलेको समाजसम्म आइपुग्दा विवाहका मान्यता, परिभाषा र प्रचलन फरक फरक छन् । एउटै समानता भनेको विवाह नगर्ने समाज अहिलेसम्म भेटिएको छैन । बरु धर्म, सँस्कृति, जातजाति, स्थान, परिवेश, अवस्था र सामाजिक प्रचलन अनुसार विवाहका तौरतरिका फरक होलान् । 

सतही रुपमा बुझ्ने हो भने विवाहको एउटै उद्देश्य छ, वंशलाई निरन्तरता दिनु । तर, यसको गाम्भिर्यमाथि ध्यान दिन जरुरी भइसकेको छ । किनकि अब विवाहको सोलोडोलो उद्देश्य श्रीमान्–श्रीमती वा दुई व्यक्तिबीचको सम्बन्ध जोडिनु मात्र रहेन । समाजशास्त्रीय परिभाषामा भनिएअनुसार विवाह अब जैविकीय आवश्यता पूरा गर्ने र सृष्टिलाई निरन्तरता दिने एउटा माध्यममात्र पनि रहेन ।

अब त विवाह दुई समाजको आयाममाथि बहस सिर्जना गरेर समुन्नत समाज निर्माणको पहिलो खुड्किलो भएको छ । यो खुड्किलाले परिवार र पारिवारिक सोचसहतिको वातावरण मात्र निर्माण गर्दैन, समाजका आर्थिक, सामाजिक, साँस्कृतिक मूल्य तथा मान्यताहरुप्रति गम्भीर बहसको थालनी पनि गर्छ ।

हाम्रो समाजमा यो बहसको टड्कारो आवश्यकता अब झन् महसुस हुन थालेको छ । किनकि हामीले विवाहलाई अहिलेसम्म दुई व्यक्तिको सम्बन्ध स्थापना गर्ने र परिवारको निरन्तरता दिने संयन्त्रका रुपमा मात्र बुझ्दै आएका छौँ । विवाहपछिका अन्य आयामहरुबारे हाम्रो समाज पहिलेदेखि नै चुपचाप बसिरहेको छ ।

त्यसो त, समाजशास्त्री हर्टन एण्ड हन्टले विवाह परिवारको सिर्जना गर्ने सामाजिक मान्यता प्राप्त संस्था भएको बताएका छन् । उनले योसँगै समाज निर्माणको आधार स्तम्भका रुपमा विवाहलाई जोडेका छन् । विवाहको प्रचलन आदिमकाल देखि नै रहेको मानवशास्त्री तथा समाजशास्त्रीहरुको तर्क पनि छ । अमेरिकी मानवशास्त्री तथा उद्विकासवादी एलएच मोर्गन भन्छन्, ‘सुरुमा विवाह नामको कुनै संस्था थिएन, महिला–पुरुष स्वतन्त्र रुपमा यौन सम्बन्ध राख्थे । सामाजिक संरचना मातृसत्तात्मक थियो, सन्तान आमाका नामबाट चिनिन्थे, पुरुषको कुनै विशेष स्थान थिएन । जंगली युगको अन्तिम समयमा विवाहको विकास भयो । यौन सम्बन्धका सीमाहरु तोकिए । परिवारको निर्माण र विकास भयो ।’

अर्कोतिर पूर्वीय दर्शनअनुसार पनि सृष्टिलाई निरन्तता दिन विवाह गरिन्छ । हिन्दु दर्शनलाई सारमा बुझ्दा विवाहमा श्रीमान्–श्रीमतीको सम्बन्ध यस लोकदेखि परलोकसम्म अक्षुण रहन्छ जसलाई सम्बन्धविच्छेद गर्न सकिँदैन र हुँदैन पनि भनिएको छ । हाम्रो परम्परादेखिको बुझाइमा विवाहलाई सन्तान जन्माउने, वंश वृद्धि गर्ने पैतृक सम्पत्ति भोगचलन गर्ने अर्थमा लिइयो । 

तर, यी सबै परिभाषा पछिल्लो समयमा फेरिँदै छन् । पश्चिमी शैलीको प्रभाव, देशविदेशको अनुभव र आधुनिकताको दौडमा विवाहको स्वरुप फेरिँदै गएको छ । विवाहको शैली, आकार र प्रकार नै परिवर्तन भएको आभास हुन थालेको छ । यो परिवर्तनलाई ‘आधुनिक’ शब्द प्रयोग गरेर परिभाषित गर्न थालिएको छ, तर यसले स्थापित सामाजिक मान्यतालाई ध्वंसको पथमा अगाडि बढाइरहेको पनि छ ।

यो सब हुनुमा विश्वमा हुँदै गएको पुँजीवादको चरम विकास र यसको आधारमा फैलिएको साम्राज्यवादलाई आधार मान्न सकिन्छ । जसका कारण नेपाल जस्तो अतिकम विकसित देशका सामाजिक तथा साँस्कृतिक अभ्यासमा नकारात्मक प्रभाव स्पष्ट रुपमा देखिन थालेको छ ।

सन् १९५० को दशकपछि युरोप तथा अमेरिकी राष्ट्रहरुबाट फैलिएको आर्थिक भूमण्डलीकरणको प्रक्रिया र उदारीकरणको नीति अवलम्बन गर्न थालेपछि हाम्रो समाजका विविध आयामहरुमाथि पनि प्रहार भएको र यसले हाम्रो सँस्कृतिलाई विखण्डन गर्दै लगेको कुरामा कसैको द्विमत नहोला ।

आर्थिक साम्राज्यवादले कमजोर राष्ट्रको अर्थतन्त्रलाई आफ्नो नियन्त्रणमा लिएर एकाधिकार जमाएको छ । विश्वका शक्ति राष्ट्रहरु संसारभर आफ्नो सत्ता स्थापना गर्नमा उद्दत छन् । उनीहरुले एउटै धर्मको एकाधिकार जमाएर एकै किसिमका साँस्कृतिक चिन्तन, पद्धति र मोडललाई निर्माण गर्ने, एउटै किसिमको जीवनशैली बनाउने र नयाँ एवं कृत्रिम एकल संस्कृतिको विकास गर्ने प्रक्रियालाई अगाडि बढाएका छन् । राजनीतिक, आर्थिक तथा अन्य प्रभावबाट यसलाई निर्देशन गर्दै साँस्कृतिक विश्वव्यापीकरणलाई प्राथमिकता दिएकाले अहिले तेस्रो विश्वका देशहरुमा व्यापक साँस्कृतिक विचलन देखिन थालिसकेको छ । नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन ।

साँस्कृतिक र धार्मिक व्यवस्था पुँजीवादको प्रभावमा परेका छन् । यसले वर्गीय दुरी झन् बढाउँदै लगेको छ । यो दुरीले नेपाली समाजमा पनि वर्गहरुबीच  ठूलो खाडल सिर्जना गरेको छ, फलस्वरुपः सबैका लागि समान महत्वको विषय हुँदाहुँदै एउटा वर्गको विवाह अर्को वर्गको व्यक्तिसँग असम्भव जस्तै हुन थालेको छ । अनि विवाहलाई एउटा परिवारको हैसियतसँग जोडेर हेर्न थालिएको छ । विवाह व्यक्ति–व्यक्तिबीच वा दुई परिवारबीच वा दुई समाजबीच सम्बन्ध स्थापित गर्ने भन्दा पनि आर्थिक हैसियत र आडम्बर देखाउने शैलीमा परिणत हुँदै गएको छ । विवाहलाई प्रदर्शनको विषय बनाउने परम्पराहरु आधुनिक समयमा अझ फैलिँदै र कतिपय अवस्थामा विकृत रुप लिँदै गएको उदाहरणहरु भेटिन्छन् । 

हाम्रो समाजमा विवाह ठूलो खर्च गर्ने र हैसियत प्रदर्शन गर्ने परम्परा बनेर स्थापित भएको छ । विवाह एउटा सानो घर, मन्दिरबाट बाहिरिएर ठूला–ठूला तारे होटेल र पार्टी प्यालेसमा गर्न थालिएको छ । गरगहना, श्रृङ्गारपटार, लत्ताकपडा, खानपान, नाचगानको व्यापार र बजार फस्टाउन थालेको छ । विवाहको बजार र व्यापार निकै फराकिलो बनेको छ । एउटा संस्कृति र संस्कार हुनु पर्ने विवाह हाम्रो समाजमा कमोडिटीका रुपमा विकास हुँदै गएको छ ।

हिजोे विवाहले जोड्ने सम्बन्धहरु बलिया थिए । प्रेमपूर्ण, विश्वासिला, हार्दिकतायुक्त र भावनात्मक थिए । जोडिएपछि छुट्दैनथे, टुट्दैनथे । अहिलेको अवस्था फेरिएकाे छ । विवाह जति सहज बन्दै गएको छ, विवाहले जोड्ने सम्बन्धहरु जटिल बन्दै गएका छन् । सम्बन्धहरु व्यवसायिक भएका छन् । विवाहमा पनि नाफा र नोक्सानको गणितीय जोड घटाउ र अर्थशास्त्रको वस्तु, सेवा, गुणस्तर र  विनिमय, बजारजस्ता विषयहरु प्रवेश गरेका छन् । विवाह आर्थिक लेनदेन, कारोबार र हिसाबकिताबसँग जोडिएको छ । अदालतमा सम्बन्धविच्छेदका घटनाहरुको सुची लामो बन्दै छ । 

अहिले नेपाली समाजले व्यक्तिगत अधिकारको अभ्यासलाई प्राथमिकता दिएको छ, परम्परागत र अविकसित मुल्य मान्यताको घेराबाट निस्किएर आधुनिक र सभ्य बन्ने दौडमा छ र विवाहका मान्यता, शैली, प्रचलन र संस्कारहरुलाई फरक शैलीबाट आत्मसात् गर्दै गईरहेको छ ।



मनिषा पौडेल

पूर्वीय दर्शन अध्ययन गर्न विशेष रुची राख्ने मनिषा पाैडेल फरक धारमा सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

यो पनि नछुटाउनुहोस्