२०७५ सालभित्र बजारमा आउँदै छन्, यी लेखकका पुस्तक

काठमाडाै‌– नेपाली साहित्य बजारमा हरेक हप्ता पुस्तक प्रकाशित भइरहेका हुन्छन् । केही पुस्तकले राम्रै चर्चा कमाउँछन् भने कतिपय पुस्तक आशा गरिएजस्तो नहुँदा पाठकको मनमा बस्न सक्दैनन् । 

गुणात्मक रूपमा आशाअनुरूप नआए पनि संख्यात्मक हिसाबले निरन्तर रूपमा पुस्तक प्रकाशित भइरहेका छन् । स्थापित लेखकहरूकै पनि कतिपय कृति आशा गरेअनुसार नहुँदा पाठक निराश भएको पाइन्छ । 
२०७५ सालभित्रै वर्ष आउने घोषणा गरिएका केही स्थापित लेखकका कृतिबारे जानकारी :

१. गुलाबी उमेर : अमर न्यौपाने

सामाजिक विषयमा केन्द्रित रहेर साहित्य सिर्जना गर्ने अमर न्यौपाने यस वर्ष आफ्नो चौथो कृतिसहित आउँदै छन् ।  ‘सेतो धर्ती’, ‘करौडौँ कस्तुरी’ र ‘पानीको घाम’जस्ता कृति लेखिसकेका न्यौपाने यस वर्ष ‘गुलाबी उमेर’ लिएर पाठकमाझ आउँदै छन् । 

१३ देखि १९ वर्षको युवा–युवतीको कथालाई यस उपन्यासमा समेटिएको न्यौपानेले जानकारी दिए । लेखकका अनुसार यो उमेर गुलाबजस्तै चाँडै फक्रिने, सुन्दर हुने तर छिट्टै ओइलाउने भएकाले नाम पनि गुलाबी उमेर नै राखिएको हो । फाइन प्रिन्टको प्रकाशनमा बजारमा आउन लागेको गुलाबी उमेर मंसिरमा प्रकाशित हुने अमरले बताएका छन् । अघिल्ला पुस्तकभन्दा फरक शैलीमा पुस्तक लेखिएको र मनोविज्ञानमा आधारित भएको न्यौपानेले फरकधारलाई जानकारी दिए । 

२. मुक्तिका सपनाहरू :  कृष्ण धरावासी



नेपाली साहित्यमा थुप्रै कृति योगदान गरेका साहित्यकार कृष्ण धरावासीले पनि यसै वर्ष नयाँ पुस्तक प्रकाशन गर्दै छन् । २०६२ सालमा ‘राधा’ उपन्यासका लागि मदन पुरस्कार पाएका लेखक धरावासीको निबन्ध संग्रह ‘मुक्तिका सपनाहरू’ यसै वर्ष प्रकाशन हुँदै छ । साझा प्रकाशनबाट प्रकाशित हुने पुस्तकमा २७ वटा निबन्ध संगृहीत हुनेछन् । सामाजिक, भावनात्मक, प्रेम तथा राजनीतिक व्यंग्यमाथि लेखिएका निबन्ध यस संग्रहमा संगृहीत रहेको उनले बताएका छन् । 

३. प्रतिद्वन्द्व : सरुभक्त



‘पागल बस्ती’ उपन्यासका लागि मदन पुरस्कार पाएका साहित्यकार सरुभक्तको नयाँ उपन्यास पनि यसै वर्ष आउँदै छ । परदेशमा रहेका नेपालीको संघर्षमाथि लेखिएको उपन्यास ‘प्रतिद्वन्द्व’ यस वर्षको मंसिरतिर प्रकाशित हुने उनले बताए । विभिन्न प्रकाशनगृहबाट प्रकाशित उनका कृतिलाई बुक हिलले यसै वर्ष पुनः प्रकाशन पनि गर्दै छ । उपन्यास ‘प्रतिद्वन्द्व’बाहेक केही बालसाहित्यका पुस्तक पनि यसै वर्ष प्रकाशित हुने सरुभक्तले फरकधारलाई जानकारी गराए । 

४. जोकरको बन्दुक : विमल निभा

‘डाइनोसर जिउँदै छ’ निबन्धसंग्रह तथा ‘छेउको बधशाला’, ‘एउटा बाहुला नभएको बुसर्ट’जस्ता कवितासंग्रह निकालेका कवि तथा साहित्यकार विमल निभाको नयाँ कवितासंग्रह पनि यसै वर्ष निस्कँदै छ । ६० कविता संग्रह गरेर उनले ‘जोकरको बन्दुक’ कवितासंग्रह प्रकाशन गर्न लागेका हुन् । तर, कुन प्रकाशनबाट पुस्तक प्रकाशन गर्ने भन्ने टुंगोे नलगाएको उनले बताए । सो कवितासंग्रहमा ५० भन्दा बढी नयाँ कविता हुनेछन् भने केही पहिल्यै पत्रपत्रिकामा प्रकाशित भएका कविता हुने निभाले फरकधारलाई जानकारी दिए । 

५. लाहुरेनी फूल : सुष्मा रूपाबुङ राई 

विभिन्न पत्रपत्रिकामा फुटकर रूपमा आफ्ना रचना प्रकाशित गर्दै आएकी लेखक तथा साहित्यकार सुष्मा रूपाबुङ राईले आफ्नो पहिलो उपन्यास प्रकाशित गर्दै छिन् । यसै वर्षभित्र फिनिक्स बुक्सबाट उनको पहिलो उपन्यास ‘लाहुरेनी फूल’ प्रकाशित हुँदै छ । लाहुरे समाज, संस्कृति र जीवनको उतार–चढावलाई समेटेर लेखिएको उपन्यासले किरात संस्कृति र किरात समुदायको रहन–सहनलार्ई पनि समेट्ने राईले बताएकी छिन् । 

६. मैदारो  : भुपिन व्याकुल 

कवि तथा निबन्धकारका रूपमा परिचय बनाएका भुपिनले यस वर्षदेखि उपन्यासकारको परिचय थप्दैछन् । ‘हजार वर्षको निद्रा’, ‘सुप्लाको हवाईजहाज’जस्ता उत्कृष्ट पुस्तक प्रकाशन गरेका भुपिनको पहिलो उपन्यास ‘मैदारो’ यसै वर्ष प्रकाशन हुँदै छ । एउटा चित्रकारको कथालाई लिएर लेखिएको उपन्यासमा उनले सामाजिक यथार्थ र कल्पनाको सम्मिश्रण गरेको बताएका छन् । बुक हिलको प्रकाशनमा सो उपन्यास तिहारलगत्तै प्रकाशित हुँदै छ । 

७. अयोग्य : राजन मुकारुङ

प्हिचानवादी उपन्यास ‘दमिनी भिर’का लेखक तथा साहित्यकार राजन मुकारुङको तेस्रो उपन्यास पनि यसै वर्ष प्रकाशित हुँदै छ । उपन्यास ‘अयोग्य’मा राज्यले र समाजले अयोग्य दर्जा दिएकाहरूको कथालाई समेटेको मुकारुङले बताए । विश्वयुद्ध होस् वा जनयुद्ध हरेक समयमा प्रयोग गरेपछि अयोग्य कहलिएकाहरूको कथालाई पाठकले यस उपन्यासमा पाउने राजनले बताएका छन् । उपन्यास माघ महिनासम्ममा फिनिक्स बुक्सबाट प्रकाशित हुनेछ । 

७. हिउँमाझी : बिएस राई

बिएस राईले पनि नेपाली साहित्यमा आफ्नो पहिलो कृति प्रकाशित गर्दै छन् । हिमाल चढ्ने र चढाउनेहरूको कथालाई समेटिएको कथासंग्रह ‘हिउँमाझी’ यसै वर्ष प्रकाशित हुँदै छ । कथासंग्रहमा १४ वटा कथा संगृहीत छन् । यो पुस्तक पनि फिनिक्स बुक्सले नै प्रकाशन गर्न लागेको हो । 
 

  • प्रकाशित मिति : असोज १३, २०७५ शनिबार ११:३१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया