बलात्कारका घटनामा पाेर्न साइट कति जिम्मेवार ?

एउटी आमाले आफ्नै छोरामाथि बलात्कार गरेको आरोप लगाएकी छिन् । सुन्दा पनि आङ जिरिङ्ग हुने यो घटना भारत गुजरातको पाटनको हो । पाटनस्थित पालनपुरमा बस्ने लिला (काल्पनिक नाम)ले आफ्नो २२ वर्षे छोराविरुद्ध बलात्कारको मुद्दा दर्ता गराएकी छिन् । लिलाका अनुसार १९ अप्रिलको रात उनी घरबाहिर सुतिरहेकी थिइन् ।

मध्यरातमा उठेर उनी पानी पिउन घरभित्र छिर्दा छोराले घरको ढोका बन्द गरेर उनीसँग जबर्जस्ती गर्यो । लिलाले पुलिसलाई बताइन् कि, उनको छोरालाई पोर्न हेर्ने नशा थियो । ऊ आमा र बहिनीसामु पनि यस्तो प्रकारको व्यवहार देखाइरहन्थ्यो । हाड नातामा बलात्कारका मामला पहिले पनि नआएका होइनन् । भाइको बहिनीसँग र पिताको छोरीसँग हुने बलात्कारका घटना धेरैजसो समाचार बनेर आइरहन्छन् । तर, पहिलो पटकमै यस्तो घटना पनि घट्छ भनेर विश्वास गर्न गाह्रो पर्छ । यहीँबाट यो प्रश्न उठ्छ कि, आखिर किन हाड नातामा पनि यस्ता जघन्य अपराध हुन्छन् ?

के यो मानसिक रोग हो ? 

मनोवैज्ञानिक डा. अरुणा ब्रुटाका अनुसार, यस्तो अपराध गर्ने व्यक्ति सामान्य हुन सक्दैन । जरुर ऊ कुुनै मनोरोगबाट ग्रसित हुन्छ । तर, परिवारले यो कुरालाई अस्वीकार गर्छन् । यसैकारण यसको उपचार पनि हुन सक्दैन । कथम् यस्ता घटना घटिहाले पनि लज्जाका कारण ती बाहिर आउन सक्दैनन् । मनोचिकिस्तक डा. प्रवीण त्रिपाठी भने यस्ता व्यक्तिले नातागोताको मर्यादालाई ख्याल नगर्ने बताउँछन् । यस्ता मान्छेको मानसिकता स्वस्थ नहुने र दिमागमा विचार गडबड हुने त्रिपाठीको भनाइ छ । कैयौं पटक यस्ता समाचार पढ्ने मान्छे आवेशमा आउँदै भन्छन् कि, बच्चाहरु बिग्रँदै छन् । तर यस्तो भने होइन । डाक्टर मान्छन् कि, यस्ता घटनामा लिप्त मान्छेलाई कुनै न कुनै प्रकारको मेन्टल डिजिज हुन्छ ।

डा. अरुणाको भनाइमा मनोरोग दुई प्रकारका हुन्छ । एक बाइपोलर डिप्रेसिव डिसअर्डर र अर्को स्कित्जोफ्रिनिया । बाइपोलर डिसअर्डरको एक चरण मेनिया हुन्छ । जसमा कुनै व्यक्तिको मानसिक स्थिति पागलपनसम्म पुग्छ । यस्तो रोगमा व्यक्तिको बारम्बार स्वभाव परिवर्तन हुन्छ । मूड डिसअर्डर हुन्छ । सोचाइमा वाधा आउँछ । यही अवस्थामा उसले यस्ता अपराधसम्म गर्न सक्छ । यस्ता मान्छे कतिपय अवस्थामा समाजबाटै मेटिने बताउँछन्, डा. ब्रुटा । यस्ता मान्छेले सामान्य व्यवहार कस्तो हुन्छ र सामाजिक नियमले कसरी काम गर्छन् भन्ने कुरा नै बिर्सिदिन्छन् ।

वंशाणुगत कारण



जानकारहरू भन्छन्, यस्ता मनोरोगीका पछाडि वंशाणुगत कारण पनि हुनसक्छन् । डा. ब्रुटा भन्छन्– ‘यदि परिवारमा वा कुनै अन्य नजिकका नातेदारमा यस्तो समस्या छ भने आउने पुस्तामा पनि त्यो देखिन सक्छ । आफ्नो छोराको बढ्दो सेक्सुअल एक्टिभिटीलाई लिएर उपचार गराउन आएकी एक महिलाले डा. ब्रुटालाई बताएकी थिइन् कि, जब उनी विवाह गरेर आइन् उनलाई उनकै ससुराले असभ्य व्यवहार गर्थे ।

पोर्न एडिक्शन कति जिम्मेबार ?



गुजरातमा भएको आमासँगको बलात्कारको विषयमा छोरा पोर्नको नशामा डुबिसकेको पाइयो । आजभोलि मोबाइल, टिभी, इन्टरनेटद्वारा यी कुरासम्म पुग्न पनि सहज भएको छ । पोर्न हेर्ने बानी लागेका मान्छेको यस्ता खालका अपराधमा के भूमिका हुन्छ ? के यो बानीले व्यक्तिलाई अपराधोन्मुख बनाउँछ ? यसमा सेक्सोलोजिस्ट डा. प्रकाश कोठारी भन्छन्– ‘लगातार पोर्न हेर्दा र सेक्सुअल गेम खेल्दा व्यक्तिको उत्तेजना बढेर आउँछ । साथै उनीहरूमा सेक्सुअल फ्रस्ट्रेशन भरिन्छ ।

यस्तो अवस्थामा यिनीहरू पूर्ण तरिकाले अपराधको जिम्मेबार त हुँदैनन् तर आपराधिक भावनालाई बढाउने काम भने गर्छन् ।’ डा. ब्रुटाका अनुसार पोर्न हेर्ने केटा वा केटी दुवैमा यस्तो समस्या देखापर्छ । जब कोही लगातार पोर्नमा लिप्त रहन्छ भने उसको मानसिक स्थिति बिग्रने सम्भावना प्रवल रहन्छ । यस्तो उत्तेजनाको समयमा त्यहाँ भइरहेको गतिविधिलाई पोर्न हेरिरहेको व्यक्तिले वास्तविकतामा उतार्ने दुष्प्रयास गर्छ । जसकारण यस्ता घटना घट्छन् । एकपटक १५/१६ वर्षकी युवतीले पोर्न हेर्दाहेर्दै आफ्नो अर्धनग्न फोटो सामाजिक संजालमा राखेको पनि ब्रुटा बताउँछिन् ।

के हो त समाधान ?

यस्तो अवस्थामा व्यक्तिमाथि निगरानी राख्नुपर्ने बताउँछन्, डा. प्रवीण । यदि कोही पहिलो पटक यस्तो क्रियाकलाप गर्दैगर्दा समातिन्छ भने त्यसमाथि गम्भीर भएर सोच्नुपर्ने प्रवीणको भनाइ छ । रगतको नाताबीच भइरहने व्यवहारमा पनि ध्यान दिनुपर्ने सुझाव डा. अरुणाको छ । जस्तो भाइ–बहिनी लड्नु सामान्य कुरा हो । तर यो लडाइ बारम्बार भइरहन्छ भने यसमाथि नजर राखिरहनुपर्ने हुन्छ । सानासाना कुरा जस्तोः कोही कसैले कसैलाई कुन नजरबाट हेर्दैछ ? उसँग कस्तो सम्बन्ध छ ?

यी कुराले पनि ठूलो अर्थ राखिरहेको हुन्छ । यदि कसैलाई उस व्यक्तिबारे शंका लाग्छ भने कुराकानी गर्नुपर्छ । डाक्टरसँग सल्लाह पनि लिनुपर्ने हुन्छ । यो एउटा मनोरोग हो जुन औषधि र काउन्सेलिङ गर्दा ठिक हुन्छ । तर, यदि यस्ता जघन्य क्रियाकलाप हुँदैछन् भने हाडनाता नै किन नहोस्, आवाज उठाइहाल्नुपर्छ ।   

– एजेन्सीहरुको सहयोगमा

  • प्रकाशित मिति : असोज १३, २०७५ शनिबार १८:१९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया