असफल हुन अभिशप्त ओली सरकार
युग पाठक  |  असोज १४, २०७५

दुई तिहाईको सरकार बनेको सात महिनापछि देशमा के कुरा भैराखेको छ ? निर्मलाका बलात्कारी र हत्यारा पक्रन नसकेको कुरा ? बलात्कारी र हत्यारा जोगाउन दिनदहाडै शव धोइपखाली गर्ने निर्लज्ज र असक्षम प्रहरी प्रशासनको कुरा ? त्यसो गर्ने प्रहरी अधिकारीहरु खुलै बाहिर घुमिरहेको कुरा ? बलात्कार र हत्याका अरु कैयौं दर्दनाक घटना दिनहुँ सार्वजनिक भैरहेको कुरा ? समाजमा व्यापक असुरक्षा बढेको कुरा ? सिन्डिकेट हटाउने सरकारी नाटक र अन्तमा सिन्डिकेटवाला व्यवसायीसँग सरकार झुकेको कुरा ?

आखिर चर्चाको शिखरमा कस्ता कुरा छन् ? प्रधानमन्त्रीले दर्शनभेटको शैलीमा अमेरिकी राष्ट्रपतिसँग भेट गर्दा पनि विकासको भिख मागेको कुरा ? भारत र चीनले रेल ल्याइदिने कुरा ? जनतालाई कर बढेको तर कर छल्ने वा नतिर्ने व्यापारीलाई हाइसन्चो भएको कुरा ? सुन तस्करी काण्ड यसै सेलाएको र फेक इन्काउन्टर गरेर तस्करी जोगाउन खोज्ने प्रहरी अधिकारी छुटेको कुरा ? विदेशी पाहुना आउँदा सडक टालटुल पार्ने र कमिसनको खेलमा ठेकदारहरु सरकारभन्दा बलियो बनिरहेको कुरा ?

कस्ता कुरा सुन्न अभिशप्त छौं हामी ? वाइड बडी हवाइजहाज किन्दा ठूलो कमिशनको चलखेल भएको कुरा ? पूर्वाधार विकासका नाममा ठूला परियोजनाको हल्लाको कुरा ? निजगढको ठूलो एयरपोर्टको आलिशान कुरा कि पूर्वतयारी बिनै वनविनाश गर्न हतारिएको सरकारको रमझमको कुरा ? उपत्यकामा गुड्ने मोनोरेलको कुरा कि घरघरमा गोबरग्यासको पाइप पुर्याउने सरकारी गफको कुरा ? सत्तारुढ दलका नेताहरु नै लाजले निहुरिनु परिरहेको कुरा ?

दुई तिहाईको सरकारले सात महिना काम गरिसक्दा हामी कस्ता कुरा गर्न बाध्य भैरहेका छौं ? जनतालाई किन कुनै कोणबाट फरक महसुस भैरहेको छैन ? किन प्रधानमन्त्रीका भाषणले जनतालाई दिक्क लगाउन थालेका छन् ? सरकारले टुँडिखेलमा संविधान दिवस मनाउँदा मधेसमा किन ‘कालो’ दिवस मनाइयो ? महिलाहरु किन यो संविधानसँग असन्तुष्ट छन् ? जनजाति र दलित किन परिवर्तनको बाटो छेकिएको कुरा गर्दैछन् ? गाउँसहरमा किन समृद्धिको सरकारी अभियानले उत्साहित मान्छे एउटै पनि भेटिँदैन ? किन औसत नेपाली आज पनि दुई छाक खाने, बालबच्चा पढाउने र उपचार पाउने कुरामा सरकार छ भन्ने महसुस गर्दैन ? दलालहरुसँग किन सरकार दिनहुँ हारिरहेछ, तैपनि समाजवादको गफ गरेर दिक्क पार्छ ?

यी सबै सवाल मात्र होइनन्, जवाफ पनि हुन् । यो सरकारले सात महिनामा दिएका उपहारहरु बडो निराशाजनक छन् । दुई तिहाईको सरकार असफल भैरहेको कुरा कमसेकम ति जनताका लागि दुःखद छ जसले परिवर्तनको आभास पाइएला भनेर खड्गप्रसाद ओलीका तिलस्मी गफ पत्याएका थिए । अनि तिनीहरु पनि दुःखी छन् जो ओलीको अभियानमा उत्साहका साथ लागेका थिए ।

तर यो पंक्तिकार कहिल्यै कुनै उत्साहको भ्रममा थिएन । यसका केही कारणहरु छन् । पहिलो कारण त ओली स्वयम् हुन् । ओली परिवर्तनका सबै आन्दोलनहरुका विरोधी थिए । माओवादी जनयुद्धका विरोधी, दोस्रो जनआन्दोलनका विरोधी, मधेस आन्दोलनका विरोधी, थारु आन्दोलनका विरोधी, जनजाति, दलित र महिला आन्दोलनका विरोधी । गणतन्त्रका र समावेशिताका विरोधी । समग्रमा जुन जुन आन्दोलनको बलमा गणतन्त्र आयो, न्यायपूर्ण समाजको परिकल्पना गरियो, राज्य पुनर्संरचनाको अवधारणा आयो, ति सबै आन्दोलनका एक कठोर विरोधी हुन् ओली । तर बिडम्बना, उनी नै नयाँ संविधान निर्माण र आन्दोलनहरुको परिणामस्वरुप बनेको नयाँ सरकारको नेतृत्वमा पुगे ।

निर्वाचनमा स्थायी सरकारको नारा दिएको बाम गठबन्धनले चुनाव जित्यो । स्थायी र बलियो सरकार बाम गठबन्धनले दिनसक्छ भन्ने विश्वास जनतामा परेकै हो । तर स्थायी सरकार नहुनु नै सबै समस्याको जड हो भनेर व्याख्या गर्नेहरु को थिए ? जवाफ स्पष्ट छ– राजनीतिक दलहरु स्वयम्, विभिन्न एनजिओ, आइएनजिओका प्रतिवेदन, विज्ञहरु, लेखक कलाकारहरु आदि आदि । कुनै विकास परियोजना समयमा बन्न सकेन वा एउटा सरकारले शुरु गरेको परियोजना अर्को सरकारले खारेज गरिदियो । विभिन्न निकायका हाकिम पटकपटक परिवर्तन भैरहे । कुनै सरकारले पुरा अवधि काम गर्न पाएन । नेपाली समाजले प्रगति गर्न नसकेको कारण यही हो भनिएको थियो ।

हजारौंपटक यही कुरा दोहोर्याएको भएर जनताले स्थिर सरकारको नारालाई पत्याए । तर स्थिर सरकार स्वयम् यति छिटै असफल किन हुँदैछ ? खासमा स्थिर सरकार नहुनु नै प्रगति रोक्ने जड कारण हो भन्ने तर्क नै गलत थियो र छ । ३० वर्षको स्थिर राजनीतिक व्यवस्था पञ्चायतकालमा चलेकै हो, तर विकासको सपना किन दिवास्वप्न बन्न पुग्यो ? विभिन्न आन्दोलनहरुका माध्यमबाट यसको जड कारण पत्ता लगाइयो र विभिन्न राजनीतिक एजेन्डा बने । संविधानसभामार्फत राज्यको पुनर्संरचना गर्ने ज्ञान यसरी नै प्राप्त भएको थियो ।

तर ओली यी सबै एजेन्डाका विरोधी । उनका लागि समावेशिता एउटा ठट्टा र समानुपातिक प्रतिनिधित्व उच्च जातका पुरुषहरुको भाग खोस्ने परियोजना बन्न पुग्यो । उनका लागि गणतन्त्र, धर्म निरपेक्षता जस्ता अवधारणा बेकारका थिए र छन् । उनी त निशंकोच महेन्द्रपथमा हिँड्न चाहने नेता परे । उनका लागि माक्र्सवाद भन्दा महेन्द्रीय राष्ट्रवाद प्यारो । किसान मजदुरभन्दा दलाल, ठेकदार प्यारा । कर्मशील जनताभन्दा मोदी र सि जिनफिङ प्यारा । खेतीपाती, जडिबुटी र उत्पादनभन्दा दौरासुरुवाल प्यारो । कर्मशील जनताभन्दा डोजर प्यारो ।

राजनीतिले समाजमा रहेका नकरात्मक अन्तरविरोध छिचोलेपछि मात्र भौतिक विकासको काम पनि सहज बन्छ । यो ज्ञान नेपाली बौद्धिक अभ्यासमा पटक्कै नभएको होइन । तर ओलीको समृद्धिको गफ पञ्चायतकालमा असफल भैसकेको विकासको त्यही अवधारणाबाट आउँछ जो २०४६ सालसम्ममै बदनाम भैसकेको हो । पञ्चायतकालमा पनि पूर्वाधार विकासका काम भएका हुन् । सडक, उद्योग बनेका हुन् । तर ति सडक अहिले थप विकास त भएनन् नै, मृत्युमार्ग जस्तो बन्नपुगे । उद्योगहरु मासिए । किन ? किनभने ति सबै विदेशीले बनाइदिएका थिए । त्यसमा नेपाली जनता र अर्थतन्त्रको लय मिलेको थिएन ।

विकासको यो अवधारणा अमेरिकाबाट २००७ सालपछि आयात गरिएको थियो । यो विकासले बाटोघाटो चिन्छ, विदेशी पैसा चिन्छ तर नेपाली जनता चिन्दैन, यहाँको उत्पादन चिन्दैन । त्यसैले विदेशी सहायताको बल, बुद्धि र पैसामा जति विकास आयो, त्यसले यहाँका कुलीन शासकहरुलाई मात्र फाइदा पु¥यायो । जनताको जीवनस्तर उकास्न तिसौं लाख युवाले विदेश गएर पैसा कमाउनुप¥यो । जग्गाजमिनको उत्पादकत्व ध्वस्त भयो । अन्नपात समेत भारतबाट आयात गर्नुपर्ने अवस्था आयो । आत्मनिर्भरता ध्वस्त भयो, परनिर्भरता बढ्दै गयो । सबैभन्दा डरलाग्दो कुरा के भने विकास हामी गर्न सक्दैनौं, विदेशीले ल्याइदिने कुरा हो भन्ने शासकिय विचार बन्न पुग्यो । यही महेन्द्रपथमा हिँड्ने ओली पनि समृद्धि ल्याउने कुरा गर्छन् बनाउने कुरा गर्दैनन् । समृद्धिका लागि उनी चीन, भारत, अमेरिका गुहारिरहेका छन्, तर जनता गुहार्न पुगेका छैनन् ।

समृद्धिको यो विचार पञ्चायतकालमै असफल भैसकेको हो । अहिले ओलीले त्यही दोहो¥याइरहेका छन् । अनि उनको सरकार असफल नभएर के हुन्छ ? उनी संघियताका विरोधी हुन् । तर संघियता विभिन्न उत्पीडित समुदायलाई राजनीतिक प्रणालीमा हिस्सेदार बनाएर जरैदेखि आत्मनिर्भर अर्थतन्त्र बनाउनका लागि परिकल्पना गरिएको थियो । जब ओलीको नेतृत्वमा संघियता डिजाइन गरियो, संघियता स्वयम् ध्वस्त भयो । अहिले उनकै पार्टीका मूख्यमन्त्रीहरु प्रदेश असफल पार्ने षडयन्त्र केन्द्र सरकारले गरेको आरोप लगाइरहेका छन् ।

ओलीसँग दुई तिहाईको शक्ति त छ, तर जनतासँग जोडिने पुल छैन । विदेशीसँग हारगुहार गर्ने कुटनीति छ, तर जनताको मनसम्म पुग्ने कुनै नीति छैन । स्थिरता छ, तर त्यो स्थिरतामा कुनै रचनात्मकता र जनताको मेहनतलाई कदर गर्ने कुनै गुण छैन । जसरी पञ्चायत स्थिर र बलियो हुँदाहुँदै भित्रभित्रै जर्जर थियो, अहिलेको सरकार र नेकपा पनि उसैगरी जर्जर हुँदैछ । यो अनिवार्य नियति हो ।

जनताले रगत बगाएर ल्याएका राजनीतिक एजेन्डाहरुको विपरित बाटो पक्रिएको संविधान होस् कि सरकार, असफल हुन अभिशप्त छ । महेन्द्रपथमा हिँडेको सरकार दौरासुरुवालमा आइरन टल्काउन सफल होला, तर समृद्धि ल्याउन सफल हुन सक्दैन । काशी जानु कुतिको बाटो भन्ने उखान नै छ । जता हिँड्यो, पुग्ने त्यतै हो । कुरा काशी जाने गर्ने, हिँड्ने कुतितिर । अनि कहाँ पुगिन्छ ? प्रष्टै छ, यो सरकार खुट्टाले कुतितिर गैरहेको छ, तर भाषणले काशी ।

yugnew@gmail.com



यो पनि नछुटाउनुहोस्