२४ वर्षे ठिटोकाे ‘ठेला मःमः पसल’ जसले कमाउँछ मासिक डेढ लाख
समिक्षा अधिकारी  |  असोज १४, २०७५

रमाइलो गरेरै भए पनि कुनै समय पशुपति शर्माको गीत ‘मलाई अमेरिका यै, मलाई जापान यै’ले बजारमा तहल्का पिट्यो । 

गीतमा गाइभैंसी पालेर भए पनि स्वदेशमै काम गर्ने कुरा उल्लेख गरिएको छ । 

धेरैका लागि यो गीतमात्र रह्यो, कतिका लागि यो मनमा बिझिरह्यो । 

तर, ठ्याक्कै यही गीतको पात्रजस्तै यसलाई अनुसरण गरेका छन् चितवनका २४ वर्षे कपिल पौडेलले । 

उनका लागि बानेश्वरको ‘गल्ली’ नै अमेरिकाको न्युयोर्क, जापानको टोकियो र दुबई बुर्ज खालिफा भएको छ, एउटा सानो ठेलाका कारण । यो सानो ठेला उनका लागि संसारमात्र होइन, भोकाएकाहरुलाई आफ्नो भोक मेट्ने ‘फाइभ स्टार’ होटल पनि हो । जे होस्, बानेश्वर चोकमा यो सानो ठेलामा मःम बेच्न कपिलले सानो दुःख चाहिँ गरेका छैनन् । 

यो ठेला बानेश्वरसम्म गुडेर आउन कपिलको जोश र अठोटले काम गरेको छ । कपिलको जोश हो– म नेपालमा नै केही गर्छु, मजदुर भएर विदेश जान्नँ ।

फेरि के चाहिँ सत्य होइन भने कपिलका लागि होटल व्यावसाय नै अन्तिम लक्ष्य हो । किनकि उनी होटल व्यापारभन्दा पनि बढी सङ्गीतका पारखी हुन् । तर, जीवनको स्टेयरिङले अहिले उनलाई ठेलाको व्यापारमा ल्याएर मोडिदिएको छ, यही आएर उनले ह्यान्डब्रेक लगाएका छन् ।

स्कुले जीवनमा त कपिललाई सबैले भन्थे– तँ गायक वा सङ्गीतकार हुन्छस् । कपिललाई पनि यस्तै लाग्थ्यो ।

‘सानैदेखि सङ्गीतका रागहरुमा आफूलाई भुलाउँथे म,’ केही दिनअघि बानेश्वरमा मःम बेच्दाबेच्दा फुर्सद निकालेर गफिन तयार भएका कपिलले भने, ‘सङ्गीत कै बाटोले मलाई आजको ठाउँसम्म ल्याइपुर्याएको हो ।’ 

कपिलले भनिरहेको यो ठाउँ हो, बानेश्वर चोकदेखि केही अगाडि देब्रेतिर संसद् भवनको पानी ट्याङ्की अगाडिको पिपलको रुखमुनि । त्यहाँ अहिले कपिल दैनिक साँझ ६ बजे आइपुग्छन्, विभिन्न परिकार बनाउँछन् र बेलुका १० बजेसम्म बेच्छन् ।

चितवनको मेघौलीमा सिर्जना जानकी कलेजबाट प्लस टु पास गरेर काठमाडौंका आएका कपिलका लागि सबैभन्दा पहिलो लक्ष्य थियो– विदेश । ०७० सालमा उनी दुबई जान खोजिरहेका थिए, परिवारलाई थोरै भए पनि सहयोग गरौँ भन्ने हेतुले । 

दुबई गएर काम गर्ने सोच्नुभन्दा पहिले कपिलले काठमाडौंमा सङ्गीत सिक्न थालिसकेका थिए । एउटा होटलमा पनि काम गर्थे उनी । तर, परिवार उनको आम्दानीबाट खुसी थिएन ।

‘सबका छोरा विदेश गएर कमाएका छन् बाबु,’ आमाबुबाको कुरा उनले सम्झिए, ‘तँ पनि जा, बरु कमाएर आएपछि केही गर्लास् भन्नुहुन्थ्यो ।’

कपिललाई यति ठूलो प्रेसर थियो कि, उनी पासपोर्ट बनाएर मेनपावरको ढोकासम्म पुगिसकेका थिए । अनि विमानस्थल जाने र दुबईको उडान भर्ने कल्पना गर्न थालिसकेका थिए । 

पहिलो पटक भिसाका लागि आवेदन दिए उनले, भिसा दुई महिनामा आउँछ भनियो । 

‘तर, भिसा आएन,’ अनुहार उज्यालो बनाए कपिलले, ‘म काठमाडौंमा नै बस्न पाउने भएँ ।’

अहिले यो कुरा गर्दा अनुहार उज्यालो हुनुको पछाडि अर्को पनि कारण छ । त्यति बेला जब उनी भिसा कुरिरहेका थिए, उनको पासपोर्ट हरायो । ‘होटलबाट पासपोर्ट हराएपछि मलाई विदेश जानै मन लागेन,’ कपिलले भने, ‘पहिले पनि जान मन थिएन, पछि त झन् मन नै मर्यो ।’

प्यासन भनौँ या अब्सेसन, विदेश जाने अन्तिम तयारी चलिरहँदा पनि कपिल सङ्गीतका कक्षा लिइरहेका थिए, मुर्छना सङ्गीतालयमा मनोजराज सिवाकोटीसँग ।

‘पासपोर्ट हराएपछि त्यही सङ्गीतलाई थप निरन्तरता दिएँ,’ उनले भने, ‘होटलहरुमा काम पनि गरिरहेको थिएँ, वेटरको काम गर्थेँ, किचनमा पनि जान थालेँ ।’

चार वर्ष लगातार होटलहरुमा काम गर्दै किचनमा केही न केही सिकिरहे कपिलले । 

फलस्वरुपः अहिले उनको आफ्नै व्यावसाय सुरु भएको छ । यो सानो होला, तर उनको आफ्नै हो । यसलाई धेरैले व्यापार वा व्यावसाय नसोच्लान्, तर यसमा उनको मेहनेत छ, भविष्य छ र यसैले उनको परिवारको पेट पालिरहेको छ । 

‘खासमा यो मेरो गुरुको सल्लाह हो,’ कपिलले भने, ‘उहाँले मलाई सङ्गीतमात्र सिकाउनु भएन, कुनै पनि काम सानो र ठूलो हुँदैन भन्ने शिक्षा पनि दिनुभयो ।’

सङ्गीतका सबै नोटहरुमा चुपचाप मान्ने कपिलले ठेलामा व्यापार सुरु गर्ने गुरुको सल्लाह एकैपटकमा मानेका थिएनन् । तर, मनोजराज सिवाकोटीले उनलाई कन्भिन्स गर्न छोडेनन् ।

‘अनि त मेरो लाज मर्यो,’ उनले भने, ‘मैले यस्ता ठेला पसलहरुमा कयौँपटक खाएको थिएँ, काठमाडौंका गल्लीगल्लीमा यस्ता पसल देखेको थिएँ । एकजना साथीसँग सल्लाह गरेँ, पसल सुरु गरेँ ।’ 

काम सफल भइन्छ भन्ने बुझेका छन् कपिलले । ‘पहिले पनि मलाई पसिना बगाएर गर्ने कामहरु मन पथ्र्यो,’ उनले भने, ‘कुन न कुनै दिन पक्कै ठूलो सफलता हात लाग्छ भन्नेमा म विश्वस्त छु ।’

यो ठूलो सफलताका लागि कपिलले समय र मिहनेत त धेरै लगानी गरेका छन्, तर पैसा चाहिँ थोरै । 

‘८० हजारमात्र लगानी भयो,’ उनले भने, ‘साथीभाइसँग सरसापट मागेँ, सुरु गरेँ । अहिले त ऋण तिरिसकेँ ।’

कपिल हाँसे । उनको यो हाँसोमा ठूलो सफलता लुकेको भेटिन्छ, आनन्द मन भेटिन्छ ।

अहिले पनि विहान मुर्छना सङ्गीतालयमा नै सङ्गीत सिक्न पुगेका हुन्छन्, कपिल । त्यसपछि दिउँसो केही समय आराम गर्छन् । अनि साँझ व्यापारको तयारी । 
साँझ छ बजे उनको यो ‘होटल’ खुलिसक्छ । त्यसपछि त उनको सबैभन्दा ठूलो ध्येय हुन्छ– ग्राहकको सन्तुष्टि । 

‘नियमित ग्राहक पनि हुनुहुन्छ,’ कपिलले हाँसेर भने, ‘क्वालिटी मेन्टेन गर्नुपर्छ भन्ने सोच्छु ।’

जब कपिलले यो ठेला व्यावसाय सुरु गरे, कपिलले के गर्न लाग्या होला भन्ने कमेन्ट परिवार र साथीभाइले पनि गरे । त्यति बेला सबैका प्रश्नको उत्तर दिएनन्, कपिलले । 

अहिले त उनीमाथि प्रश्न नै सोधिँदैनन् । सोध्नेहरु अब कपिलको सफलतामा रमाउन थालेका छन् । 

दैनिक पाँच हजार रुपैयाँ बराबरको व्यापार गर्छन् कपिल । तर, कहिलेकांही त उनी पैसा पनि गन्दैनन् । ‘किन गन्नु ?’ कपिलसँग आफ्नो प्रश्नको आफ्नै उत्तर छ, ‘परिवारलाई पाल्न सकेकै छु ।’

यही कारणले पनि अब कपिलले काम गर्नकै लागि विदेश जाने सोच त्यागेका छन् । ‘आफ्नै देशमा गर्ने हो,’ उनले भने, ‘यही ठेलाले मलाई सफलताको शिखरमा पुर्याउनेमा विश्वस्त छु ।’

सफलताको यो यात्रामा कपिलले सङ्गीतबाट पनि आफ्नो नाम बनाउने सोचिसकेका छन् । उनले अहिले नै गीत प्राक्टिस गर्न पनि सुरु गरिसकेका छन्–

आफ्नो भन्ने कोही छैन साला काठमाडौमा 

कसो गरी यो जीन्दगी जाला काठमाडौमा !


(हाम्रो नयाँ सिरिज हो, सानो लगानी, ठूलो सफलता । केही गर्नका लागि ठूलो लगानी नै चाहिन्छ भन्ने छैन, सानो लगानीले पनि मानिसलाई उद्यमशील बनाउन सक्छ र आफ्नो र देश विकासमा सहयोग गर्छ भन्ने उदाहरण प्रस्तुत गरिरहेका सानो लगानीमा काम गरिरहेका व्यावसायीहरु यो सिरिजमा समावेश हुनेछन् । – सम्पादक ।)



समिक्षा अधिकारी

नन–फिक्सनका पुस्तक अध्ययनमा विशेष रुची राख्ने समिक्षा अधिकारी फरक धारका लागि सामाजिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

यो पनि नछुटाउनुहोस्