सिक्का निकाल्दा राष्ट्र बैंकलाई १५० प्रतिशतसम्म घाटा

काठमाडौं– एक र दुई रुपैयाँको सिक्का जारी गर्दा १५० प्रतिशतसम्म घाटा भएकाले नेपाल राष्ट्र बैंकले सिक्का निकाल्न छाडेको छ । तर, यसको आधिकारिक घोषणा भइसकेको छैन ।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार एक रुपैयाँको सिक्का निकाल्दा यसको लागत नै एक रुपैयाँ ५० पैसाभन्दा धेरै हुन आउँछ । त्यस्तै, दुई रुपैयाँको सिक्काका लागि नेपाल राष्ट्र बैंकले एक रुपैयाँ ९८ पैसा तिर्नु पर्ने हुन्छ । बजारमा सिक्काको प्रयोग खासै नहुने र लागत नै बढी हुने भएपछि नौ वर्षयता सिक्का प्रकाशन गरिएको छैन ।

नेपाली मुद्राको क्रयशक्ति घट्दै गएकाले नेपाल राष्ट्र बैंकले एक र दुई रुपैयाँको नोट छाप्नुको साटो सिक्का प्रकाशन गर्न सुरु गरेको थियो । तर, त्यही सिक्काबाट पनि राष्ट्र बैंकलाई घाटा भइरहेको छ ।

नेपाल सरकारले ९ वर्ष अगाडि पहिलो पटक अहिले प्रचलनमा रहेको एक रुपैयाँको सिक्का छाप्नकै लागि एक रुपैयाँ भन्दा बढी खर्च गरेको थियो । त्यस्तै, दुई रुपैयाँको सिक्का छाप्न राष्ट्र बैंकले एक रुपैयाँ ९८ पैसा लगानी गथ्र्यो । तुलानात्मक रुपमा एक र दुई रुपैयाँका नोटभन्दा सिक्का टिकाउ हुने भएकाले राष्ट्र बैंकले सिक्का प्रकाशन गर्न सुरु गरेको हो । 


किन महङ्गो पर्छ नेपाली सिक्का ?

नेपाल राष्ट्र बैंकले जारी गरेका सिक्का स्टिलका सिक्का हुन् । स्टिलबाट बने पनि माथिबाट ब्रोन्जको जलप लगाउने भएकाले सिक्का स्टिलका जस्ता देख्न सकिँदैन ।



त्यसैले सिक्का प्रकाशनका स्टिलको मूल्यसँग प्रत्यक्ष जोडिन्छ । एक दशकयता अन्तर्राष्ट्रिय बजारमा स्टिलको मूल्य निकै बढेको छ । त्यसैले राष्ट्र बैंकले अहिले सिक्का छाप्नु पर्दा झन् धेरै महङ्गो हुने अनुमान गरेको छ । यही कारणले पनि नौ वर्षयता नेपाल राष्ट्र बैंकले नयाँ सिक्का निकालेको छैन ।

अर्कोतिर अहिले नेपालमा सिक्काको माग पनि खासै छैन । सिक्काको सर्कुलेसन कम हुने भएकाले पनि राष्ट्र बैंकले सिक्का प्रकाशनलाई खासै महत्व दिएको छैन ।



 

किन कम प्रयोग भएको छ सिक्का ?

सिक्काको प्रयोग कम हुनु चाहिँ हामी सचेत नभएकाले हो । जस्तो कि कुनै पसलमा हामीले कुनै सामान किन्यौँ भने एक–दुई रुपैयाँ फिर्ता लिँदैनौँ । अहिले सार्वजनिक गाडीमा हिँडडूल गर्दा पनि हामीले एक रुपैयाँ वा दुई रुपैयाँ फिर्ता लिन खासै महत्वको कुरा ठान्दैनौँ । 

एक व्यक्तिका लागि यो सानो कुरा हुनसक्छ, तर हजारौंले यसरी सिक्का प्रयोग नगरिदिँदा र सिक्काको प्रयोग गलत ठाउँमा हुँदा अर्बौ रुपैयाँ खर्च भइरहेको छ । 

मानिसहरु सिक्का नबोक्ने, विभिन्न धार्मिक प्रयोजनको लागि नदीमा फाल्ने भएकाले पनि नेपाली सिक्का अल्पायुमा नै नष्ट भइरहेका छन् । र, यसले देशको अर्बौ रकम नोक्सान गरिरहेको छ ।

 

नयाँ पाइलट प्रोजेक्टको तयारीमा राष्ट्र बैंक

नेपाली सिक्काको प्रयोगमा असामनता अत्यन्त बढ्दै गएकाले नेपाल राष्ट्र बैंकले पाइलट प्रोजेक्ट नाम दिएर एउटा प्रोजेक्टको तयारी गरिरहेको छ । यो प्रोजेक्ट अन्तर्गत राष्ट्र बैंकले केन्द्रीय कार्यालय तथा अन्य विभिन्न ६ कार्यालयमा भेन्डिङ मेसिन राख्दै छ ।

त्यो भेन्डिङ मेसिनमा आवश्यक परेमा सिक्का झिक्न मिल्ने वा सिक्का राखेर नोट झिक्न मिल्नेछ ।

  • प्रकाशित मिति : असोज १७, २०७५ बुधबार १४:४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया