नेपालमा १५ वर्षयता देखिएका डरलाग्दा राेग चन्दिपुरा भाइरसदेखि वेस्ट नाइल भाइरससम्म
डा. शेरबहादुर पुन  |  असोज १९, २०७५

नेपालमा सामान्यतया नयाँ रोग पहिचान गर्ने गरिएको छैन । तर, विभिन्न स्वतन्त्र अनुसन्धानकर्ताहरूले भने आफैं विदेशी विश्वविद्यालय वा अनुसन्धान संस्थानहरूसँग मिलेर गरेको देखिन्छ । तीमध्ये केही रोग यसप्रकार छन्– 

 

चिकुनगुनिया भाइरस 

नेपालमा सन् २०१३ सालमा चिकुनगुनिया भाइरस देखिएको थियो । यस रोगको लक्षण सर्वप्रथम धादिङमा देखिएको थियो । तर, चिकुनगुनिया रोग आज पनि देखिँदै आएको छ । चिकुनगुनिया भाइरस लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो डेंगु सार्ने एडिस अजिपटाइ र अल्बोपिकटसु नामक लामखुट्टेले नै सार्ने गर्दछ । खासगरी मनसुन वर्षायाम सकिनेबित्तिकै बढी देखिने गर्दछ । अचानक ज्वरो आउनु र अत्यधिक जोर्नी दुख्नु यसको मुख्य लक्षण हुन् । मांसपेशी दुख्नु, आलस्य हुनु, टाउको दुख्नु, वाकवाक लगनु र शरीरमा बिबिराहरू देखिनु यसको अरू लक्षण हुन् । लामखुट्टेको टोकाइबाट बच्नु नै यसबाट बच्ने मुख्य उपाय हो । यसका लागि घर वरिपरि पानी जम्न दिनु हुँदैन । यसबाट जोगिन शरीर पूरा ढाक्ने लुगा लगाउनुपर्दछ । 

 

डेंगु भाइरस 

सन् २००४ मा नेपालमा डेंगु भाइरस देखिएको थियो । सर्वप्रथम नेपालम विदेशी नागरिकमा यो रोग देखा परेको थियो । यो भाइरस एडिस अजिपटाइ र अल्बोपिकटसु नामक लामखुट्टेले सार्ने गर्दछ । यो काठमाडौंलगायत नेपालको विभिन्न भागमा प्रशस्त मात्रामा देखिने गरेको छ । अचानक ज्वरो आउनु, आँखाको गेडी दुख्नु, आँखा रातो हुनु, शरीरमा बिबिरा आउनु, जोर्नी दुख्नु, मांसपेशी दुख्नु यसका मुख्य लक्षण हुन् । संक्रमण कडा भएमा रक्ताश्राव हुने गर्दछ र यसलाई डेंगु हेमोरेजिक फिबर भन्ने गरिन्छ र अत्यधिक मात्रामा रक्ताश्राव भएमा बिरामी बेहोस पनि हुने गर्दछ जसलाई ‘डेंगु शक सिन्ड्रोम’ भन्ने गरिन्छ । लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोग लाग्नुबाट बच्ने उत्तम उपाय हो । 

त्यसैगरी, शरीरमा डन्डिफोरजस्ता डाबर देखा पर्दछन् । केही बिरामीलाई नाक तथा गिजाबाट रगत बग्ने र छालामुनि रक्तस्रावसमेत हुने गर्छ । 
चितवन, पर्सा, कैलाली, कञ्चनपुर, झापा, सप्तरी, रूपन्देही, सुनसरी र नगरपरासीलगायतका तराईका जिल्लाहरू डेंगु रोगबाट बढी प्रभावित छन् । 

 

वेस्ट नाइल भाइरस 

सन् २००९ मा वेस्ट नाइल भाइरस रोग देखा परेको थियो । यो रोग काठमाडौं र भरतपुरमा सर्वप्रथम देखा परेको थियो । तर, हालसम्म यो रोगबाट कति मानिसहरू संक्रमणमा परेका छन् भन्ने यकिन तंथ्याक संकलन भएको छैन । यो क्युलेक्स जातको संक्रमित लामखुट्टेको टोकाइको कारणले हुने गर्छ । 

यसले हात्तीपाइले संक्रमण पनि सार्ने भएको र नेपालमा यो रोग वर्षौंदेखि देखिँदै आएकाले वेस्ट नाइल भाइरस नेपालमा पहिलेदेखि ने फैलिरहेको हुन सक्छ । यद्यपि ८० प्रतिशतभन्दा बढीमा यसको लक्षणहरू नदेखिने भएकाले प्रकोप वा महामारी नदेखिएको हुन सक्दछ । यसको संक्रमणले मानिसमा स्नायु प्रणालीमा असर गर्छ र मान्छेको मृत्युसमेत हुन सक्छ । यो भाइरस चराबाट लामखुट्टेको माध्यम हुँदै मानिसमा सर्ने गर्छ । 
यसले २० प्रतिशत संक्रमितहरूमा मात्र लक्षण देखाउने गर्दछ। ज्वरो आउनु, टाउको दुख्नु, आलस्य हुनु, जिउ दुख्नु, वाकवाक लग्नु वा बान्ता हुनु र कसैकसैलाई शरीरमा बिबिरा देखिनु यसका लक्षण हुन् । लक्षण कडा भएमा स्नायुप्रणालीमा असर पर्ने गर्दछ र त्यस्तै उच्च ज्वरो आउने, घाँटी कडा हुने, हात काम्ने, पहिचान गर्ने क्षमता कमजोर हुने, कोमामा जाने आदि वेस्टनाइल मेनिनजाइटिस वा एनसिफलाइटिसले गर्दा हुने गर्दछ । यसबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो । यसको खोप हालसम्म विकास भएको छैन । 

डा. शेरबहादुर पुन

 

चन्दिपुरा भाइरस

सर्वप्रथम २०१५ मा चन्दिपुरा भाइरसको पहिचान भएको थियो । नेपालका मोरङ, सप्तरी, मकवानपुरमा यो भाइरसको लक्षण देखा परेको थियो । तर, हालसम्म यो रोगको नियमित जाँच नभएकाले तंथ्याक फेला परको छैन । यो भाइरस सन् १९६५ मा भारतको महाराष्ट्रको, चन्दिपुरा भन्ने गाउँमा देखा परेकाले यो भाइरसको नाम चन्दिपुरा भाइरस रहन गएको हो । यसले विशेषगरी स्नायु प्रणालीमा असर पार्ने गर्दछ । अचानक उच्च ज्वरो आउनु, होस राम्रो नहुनु, सिजर आउनु, अचानक चालचलन र व्यवहारमा परिवर्तन आउनु, पखाला लाग्नु र बान्ता भएर संक्रमित व्यक्तिको मृत्यु हुने गर्दछ । यो रोगको लक्षण देखिएको चौबिस घण्टाभित्र मान्छेको मृत्यु हुने गर्दछ । 

यसको मृत्युदर झन्डै पचहत्तर प्रतिशतसम्म भएको अनुसन्धानहरूले देखाएका छन् । यो सेन्दीफलाई नामक भुसुनाको टोकाइबाट सर्ने गर्दछ। नेपालमा खासगरी तराईमा प्रशस्त कालाज्वरोका बिरामी हुने र त्यो पनि भुसुनाको टोकाइबाट सर्ने भएकाले यसको उच्च जोखिम तराईमा अत्यधिक मात्रामा देखिन्छ ।

 

स्वाइन फ्लु 

यो रोगको लक्षण सन् २००९ मा सर्वप्रथम काठमाडौंमा देखिएको थियो । यसलाई एच वान एन वान पिडिएम २००९ को नामले चिन्ने गरिन्छ । सन् २००९ देखि नेपालमा लगातार यो रोगका संक्रमित भेटिने गरेका छन् । 
अचानक ज्वरो आउनु, टाउको दुख्नु, घाँटी दुख्नु, नाकबाट पानी बग्नु, सुक्खा खोकी लग्नु, शरीर दुख्नु, श्वासप्रश्वासमा अवरोध आउनु यसका मुख्य लक्षण हुन् । खासगरी ६५ वर्षमाथिका, दमका बिरामी, पाँच वर्षमुनिका बालबालिकामा यसको संक्रमण बढी जोखिमपूर्ण हुन्छ । 

प्रकोप फैलिएको अवस्थामा सकेसम्म सार्वजनिक स्थानमा नजाने, गयो भने हातलाई बारम्बार नाक, मुख, आँखामा नलाने, संक्रमित व्यक्तिसँग एक मिटरको दूरी कायम राखी कुरा गर्ने र आफू संक्रमित भएको अवस्थामा घरमा परिवारको अरू सदस्यभन्दा अलग्गै बसे अरूलाई सर्ने सम्भावना कम हुने गर्दछ । स्वाइन फ्लु हेरक मौसममा देखिने गर्दछ 

 

लाइम डिजिज 

सन् २०१७ मा पहिलोपटक लाइम डिजिज देखिएको हो । यो नेपालमा सबैभन्दा पछि पत्ता लागेको सरुवा रोग हो । यो इक्जोडिस नामक किर्नाको टोकाइबाट सर्ने गर्दछ । धेरै बिरामी लक्षण देखिनेबित्तिकै स्वास्थ्यकर्मीकहाँ नजाने कारणले पनि यो रोग ढिला गरेर पत्ता लागेको हुन सक्छ । सुरुमा ज्वरो आउने, शरीर जिरिंग हुने, टाउको दुख्ने, आलस्य हुने, जोर्नी दुख्ने आधी हुन सक्दछ । टोकेको तीनदेखि ३० दिनभित्र रातो गोलो घेरा भएको आकृति बीचमा खाली छालामा देखिने गर्दछ जुन ८० प्रतिशत संक्रमितमा देखिने गर्दछ र यो एउटा लाइम डिजिज हो भन्ने प्रमुख आधार पनि हो ।

(डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विभागीय प्रमुख हुन् ।)
 
 



यो पनि नछुटाउनुहोस्