यो साता नेप्सेमा हरियो बत्ती बल्ने संकेत

काठमाडाै– लामो समयदेखि उतारचढाव देखिएको नेप्से अझै पनि स्थिर हुने संकेत देखिएको छैन । गत हप्ता १२६७ अंकबाट लगातार ओरालो लागेर बिहीबार १२२७ अंकमा पुगेको नेप्सेमा हप्ताभरिमा मंगलबार मात्रै हरियो बत्ती बल्यो । एक हप्तामा ४० अंकले घटेको नेप्से मंगलबार ३ अंकले मात्रै बढेको थियो ।

ठीक एक महिनाअघि नेप्से, १२१८ अंकमा थियो । गत भदौको अन्तिम हप्ता नेप्से १२१० बाट बढ्न सुरु भएको थियो । तर, यो वृद्धि लामो समय कायम हुन सकेन । 

निरन्तर बढेको नेप्से असोज ९ गते महिनाको सबैभन्दा उच्च १२८० अंकमा पुग्यो । दुई हप्तामा ६२ अंकले सेयर कारोबार बढ्दा लगानीकर्ता पनि निकै उत्साहित भएका थिए । तर, असोज ९ गतेदेखि नेप्से पुनः ओरालो लागेर पछिल्लो दुई हप्तामा १२२७ अंकमा पुगेको हो । 

के होला त यो हप्ताको नेप्से ?

‘जति ओरालो लाग्छ, आइतबार र सोमबार मात्रै ओरालो लाग्ने हो,’ सेयरविज्ञ अतीतलाल श्रेष्ठ भन्छन्, ‘अहिले ब्याजदरका कारण नेप्से घटिरहेको थियो । बैंकहरूले ल्यान्डिङ बढी र डिपोजिट कम भएको हुनाले मानिहरूको मनमा फेरि ब्याजदर बढ्छ कि भन्ने आशाले नेप्से घटेको हो ।’

सामान्यतया सेयर बजारमा पहिले रियाक्सन र यसको असर पछि देखिन्छ । श्रेष्ठका अनुसार यो हप्ता आइतबार र सोमबार नेप्से झरेर बजार स्थिर हुने देखिन्छ । 



‘प्राविधिक रूपमा भन्ने हो भने, नेप्सेको इतिहास १२ सय को बेस निकै बलियो मानिन्छ । १२००, १२१०, १२१८ पहिले पनि यीे निकै महत्वपूर्ण सपोर्टहरू हुन्,’ श्रेष्ठ भन्छन्, ‘त्यसैले, योभन्दा तल झर्नका लागि निकै ठूलो कारण चाहिन्छ । जुन अहिले बजारमा देखिएको छैन ।’ 

पछिल्लो समय सेयर बजारमा बैंकिङ क्षेत्र नै निकै बलियो देखिन्छ । तर, अहिले विकास बैंक र बैंकिङ क्षेत्र नै अन्य क्षेत्रको तुलनामा केही बलियो देखिन्छ । 



पहिले दसैँअघि नै धेरै बैंकको बोनस बाँडिसकेको हुन्थ्यो । यो वर्ष नेपाल राष्ट्रबैंकको नीतिको समस्याका कारण बाँडिएको छैन । त्यसैले यो वर्षको दसैँले नेप्सेलाई असर नपार्ने श्रेष्ठ बताउँछन् । उनी नेप्से इन्डेक्स बढ्यो वा घट्यो भनेर लगानी गर्ने काम नगर्न नयाँ लगानीकर्तालाई उनले सुझाब दिएका छन् । 

‘यदि लगानी गर्ने हो भने कम्पनीको आधारभूत र प्राविधिक पक्षलाई अध्ययन गरेर किनबेच गर्नुपर्छ । यदि कोही नयाँ लगानीकर्ता सेयर बजारमा आउँदै छ भने, त्यसले कम्पनीले भविष्यमा कस्तो कारोबार गर्ला भनेर मात्रै लगानी गर्नुपर्छ, ‘श्रेष्ठ भन्छन्, ‘कति बोनस दिन सक्ला भनेर अध्ययन गर्नुपर्छ ।’ 

अहिलेको बजारमा कुन क्षेत्र ओभर भ्यालु र अन्डर भ्यालु छ भन्ने छुट्याएर अन्डर भ्यालु स्टकसमा नियमित लगानी गर्दै जानुपर्ने उनको सुझाब छ ।


 

  • प्रकाशित मिति : असोज २१, २०७५ आइतबार १७:१३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया