अफगानिस्तान– तालिवान लडाकुहरुको आक्रमणमा परी पूर्वी वारदाक प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित ६ जना प्रहरी अधिकारीको मृत्यु भएको छ । स्थानीय अधिकारीले अफगानिस्तानको पूर्वी प्रान्त वारदाकको जिल्ला प्रहरी कार्यालयमा तालिवान लडाकुले रातभरि भीषण आक्रमण गरेका थिए ।
हजारौँ तालिवान लडाकुले साइद अबाड जिल्लामा शनिबार अबेर राति आक्रमण गरेको समाचारमा जनाइएको छ । ‘जिल्ला प्रहरी प्रमुख साइद मेजराबशाह हाशेमीसहित ६ जना प्रहरी अधिकारी मारिएका छन्,’ प्रान्तीय सरकारका प्रवक्ता अब्दुर रहमान मन्गलले बताए ।
उनले तालिवान लडाकुतर्फका पनि धेरैजना मारिएको र केही घाइते भएको दाबी गरे । यसैबीच, राजधानी काबुलदेखि ३५ किलोमिटर पश्चिमतर्फ रहेको यस जिल्लालाई विद्रोहीले कब्जामा लिएको प्रान्तीय परिषद्का एकजना अधिकारी हुसेन अलि बालिगले बताए ।
बालिगका अनुसार लडाकुको आक्रमणका कारण काबुलदेखि कान्दाहारसम्मको राजमार्ग समेत अवरुद्ध भएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा अफगानिस्तानमा हिंसात्मक घटना थप बढ्दै गएका छन् ।
अफगानिस्तान यही अक्टोबर २० तारिखका दिन संसद् र स्थानीय तहको निर्वाचन हुन लागेको छ । अफगानिस्तानमा करिब ९० लाख मतदाता रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।