अलपत्र राजधानीका पत्र–मञ्जूषा

आधुनिकताले धेरै कुरा परिवर्तन गरेको छ । प्रविधिको विकासले परम्परागत विधि तथा सामग्रीहरू विस्थापित हुँदै गएका छन् । सञ्चार क्षेत्रमा आएको परिवर्तनले हुलाकलाई लगभग विस्थापित गरिसकेको छ ।

१९३५ सालमा स्थापना भएको हुलाक घर अहिले हुलाक सेवा कार्यालयका रूपमा अस्तित्वमा छ । हुलाक सञ्चारको पुरानो माध्यम हो ।

चिठीपत्रका विषयमा लेखिएका कतिपय गीत–गजल आज पनि थुप्रैका मुखमा झुन्डिएका छन् । नोबेल पुरस्कार प्राप्त लेखक रवीन्द्रनाथ टेगोरको ‘पोस्टमास्टर’ कृतिले पनि कुनै समय हुलाकको साख कति धेरै थियो भन्ने देखाउँछ ।

नेपालमा पनि कुनै समय डाँक बोक्ने हुलाकीले राजा–महाराजाको सवारीभन्दा बढी मान्यता पाउने गरेको कथा अझै सुन्न पाइन्छ ।

सञ्चार क्षेत्रमा प्रविधिको प्रयोग र विस्तारले हुलाक सेवालाई अहिले साँघुरो बनाएको छ । केही दशकअघि हुलाक सेवाको बढ्दो प्रभाव र उपयोगिता देखेर काठमाडौंका धेरै स्थानमा पत्र–मञ्जूषा राखिएका थिए ।



हुलाक टिकट लागाएर पत्र खसाल्ने ती मञ्जूषा सहरका आइकन थिए । पत्र–मञ्जूषाले सहरको सोभा बढाएका थिए । तर, अहिले प्रयोगहीन भएका तिनै पत्र–मञ्जूषाले सहर कुरूप बनाउन थालेका छन् ।

कमलपोखरी छेवैमा रहेको पत्र–मञ्जूषामा कुनै समय स्थानीयवासी आफन्तका लागि लेखिएका पत्र खसाउँथे । करिब १२ वर्षअघि राखिएको पत्र–मञ्जूषा अहिले भने फोहोर फाल्ने भाँडो बनेको छ ।



स्थानीय क्लब र हुलाक कार्यालयको समन्वयमा कमलपोखरीमा पत्र–मञ्जूषा राखिएको थियो । दुई वर्षअघिसम्म हुलाकका कर्मचारी पत्र–मञ्जूषा खोल्न आइरहन्थे । तर, अहिले कोही आउँदैन । 

गोश्वारा हुलाक कार्यालय सुन्धाराका अनुसार काठमडौंमा कुनै समय ६८ वटा पत्र–मञ्जूषा थिए । तर, हुलाक प्रयोगकर्ताको संख्या घट्दै गएपछि अहिले विभागले काठमाडौंमा १८ वटा मात्रै प्रत्र–मञ्जूषा सञ्चालन गरेको छ । यीमध्ये धेरैजसो गोश्वारा हुलाक परिसरमै छन् ।

विभागले अहिले पर्यटकीय स्थललाई केन्द्रित गरी पत्र–मञ्जूषा सञ्चालन गरिरहेको गोश्वारा हुलाक कार्यालयकी सूचना अधिकारी निर्मला थापा बताउँछिन् । थापाका अनुसार काठमाडौंमा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, वसन्तपुर, ठमेल र पानीपोखरीमा मात्रै पत्र–मञ्जूषा सञ्चालनमा छन् ।

यी पत्र–मञ्जूषामा पनि पहिलेजस्तो चिठी आउँदैनन् । थापाका अनुसार आजभोलि धेरै पत्र–मञ्जूषामा पोस्टकार्ड आउँछन् । १८ वटा मात्र पत्र–मञ्जूषा सञ्चालनमा भए पनि हुलाकाले अरू पत्र–मञ्जूषाको रेखदेख गर्ने या हटाउने काम भने अझै गरेको छैन ।

हिजो सञ्चारको निर्विकल्प माध्यम ठानिएको हुलाकको विकल्पमा फोन र अन्य सामाजिक सञ्जाल आए ।

टेलिफोन र इन्टरनेटको विकासले कम खर्चमै विश्वभर प्रत्यक्ष संवाद गर्न सकिने भयो । एकातिर हुलाक सेवा ढिलो हुने, आर्कोतर्फ हुलाकको दस्तुर पनि लाग्ने । त्यसैले यसको प्रयोग अहिले शून्यप्रायः छ । अहिले आन्तरिक हुलाक सेवामा २० ग्रामसम्मको चिठीका लागि ८ रुपैयाँ तिर्नुपर्छ । त्यस्तै, हवाई हुलाक पत्रको ५ रुपैयाँ तिर्नुपर्छ ।

पत्र–मञ्जूषाको शुल्क पनि महँगो छ । हुलाक विभागका अनुसार हुलाक मञ्जूषा र अनलाइन पोस्टबक्सका लागि वर्षको ७ सय ५० देखि १५ सय रुपैयाँसम्म तिर्नुपर्छ ।

द्रुत गति र प्रत्यक्ष संवाद गर्न मिल्ने सञ्चारको विकास भएपछि पत्र लेखन पनि अहिले विद्यालय शिक्षामा मात्रै सीमित भएको छ । 

आधुनिक बन्ला त हुलाक ?

विश्वभरका मानिसबीच सञ्चारको माध्यमबाट आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्ने उदेश्यसहित सन् १९७४ मा विश्व हुलाक संघ स्थापना भएको थियो । नेपालले पनि सन् १९५६ मा विश्व हुलाक संघको सदस्यता लियो ।

अहिले विश्वभर कतिपय देशमा हुलाक लोप भइसकेको छ भने कतिपय देशमा हुलाकलाई आधुनिक बनाइएको छ ।

हुलाक सेवालाई आधुनिक र प्रविधियुक्त बनाउन गत वर्ष सरकारले ५६ वर्ष पुरानो हुलाक ऐन २०१९ लाई विस्थापित गर्दै हुलाक ऐन २०७४ ल्याउने तयारी गरेको थियो । नयाँ हुलाक ऐनको मस्यौदा तयार गरेर कानुन मन्त्रालयमा पठाइएको थियो । तर, उक्त मस्यौदा अझै कानुन मन्त्रालयमै अड्किरहेको छ ।

प्रस्तावित नयाँ ऐनले सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको हुलाकलाई प्राधिकरणमा रूपान्तरण गर्ने व्यवस्था गरेको छ । गत वर्ष नै हुलाक विभागले उपत्यकामा सञ्चालन भइरहेको घुम्ती हुलाक सेवालाई देशभर लैजाने भने पनि अहिलेसम्म काम हुन सकेको छैन ।

सञ्चारको लामो इतिहास बोकेको हुलाकलाई लोप हुनबाट बचाउन यसलाई आधुनिक र परिष्कृत स्वरूपमा ढाल्नुपर्ने देखिन्छ । सरकारले पनि यसमा केही चासो त देखाएको छ, तर कार्यान्वयनमा देखिएको उदासीनताका कारण हुलाकले पुनर्जीवन पाउनेमा ढुक्क हुने अवस्था भने देखिन्न ।
 

  • प्रकाशित मिति : असोज २१, २०७५ आइतबार १९:३८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया