चितवन– विगतका वर्षमा चाडपर्वका वेला यात्रुका लागि हैरानीको विषय भएको नारायणगढ–मुग्लिन सडकखण्ड यस वर्ष सहज हुने भएको छ । गएका तीन वर्ष सडक विस्तारका क्रममा रहेकाले दसैँ, तिहार, छठजस्ता पर्वमा राजधानी बाहिरिने यात्रुले दुःख पाएका थिए ।
त्यसअघिका वर्षमा साँघुरो र भत्किएको सडकका कारण यात्रुले सास्ती पाएका थिए । सडक विस्तारको काम सम्पन्न भएकाले अब यात्रुले सो सडक एक घन्टाभित्रमा पार गर्न सक्ने जनाइएको छ । सडक नौ मिटरदेखि ११ मिटर चौडा रहेको छ । सडकका १८ ठाउँमा ५.५ मिटरदेखि ६ मिटर चौडा पुल रहेका छन् । तीन ठाउँमा सडक भासिएको छ । ती ठाउँमा सडक साँघुरा भए पनि सवारी आवागमनमा खासै समस्या नभएको बताइएको छ ।
भदौ २६ गते करिब ११ घन्टा पहिराले सडक अवरुद्ध पारेको थियो । सडकका पुलको मुखमा गति रोक्ने संरचना बनाइएको छ । ती संरचना बनाएसँगै दुर्घटनामा समेत कमी आएको बताइएको छ ।
सो सडक ३९ महीनामा निर्माण सम्पन्न भएको हो । सुरुमा दुई अर्ब ९० करोड रुपैयाँमा ठेक्का दिइएको भए पनि पहिरो, समय थप, काम वृद्धिलगायतका कारण लागत रकम तीन अर्ब २७ करोड रुपैयाँ पुगेको छ । सो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी आवागमन गर्ने गर्दछन् । चाडपर्वका वेला यो संंख्या अझै बढ्ने गरेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।