सौर्य ऊर्जाले खानेपानीको सुविधा

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–११ तार्केन्टारका बासिन्दाले सोचेका पनि थिएनन्, करिब १०० मिटर तलको पानी गाउँका घरघरमा आउला भनेर । तर, प्रविधिले वर्षौंदेखि खानेपानीको दुःख झैल्दै आएका उनीहरूले नसोचेको काम सफल भएपछि निकै खुसी छन् । 

त्यसो त, सोलार (सौर्य ऊर्जा) लिफ्टिङ प्रविधिबाट खानेपानी योजना सम्पन्न भएपछि अहिले यहाँका बासिन्दाको दैनिकी फेरिएको छ । पिउन, घरधन्दा तथा नुहाइधुवाइ गर्न दिनभरजसो एक घन्टाको उकालोमा पानी बोक्नुपर्ने बाध्यता हटेको छ भने ट्यांकीबाट ‘ओभर–फ्लो’ पानीले घरबारीमा तरकारी उब्जनी गर्न मद्दत पुगेको छ । 

गाउँका सबैको घरमा पानी उपलब्ध भएपछि बिहान सबेरै उठेर पानी लिन खोला धाउनुपर्ने बाध्यता हटेको छ । अरनिको राजमार्गबाट नजिकै देखिने तार्केन्टार गाउँका १७ परिवारले अहिले वर्षौंँदेखिको खानेपानीको समस्या समाधान भएको छ । 

नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले भने, ‘सौर्य ऊर्जाले विकट गाउँमा खानेपानी व्यवस्थापन सम्भव भयो, अब यस्तो प्रविधिबाट अन्य गाउँमा विस्तार गर्छौं ।’ यहाँ खानेपानी व्यवस्थापनका लागि गाउँभन्दा ९१ मिटर तल इनार बनाई सौर्य ऊर्जाबाट लिफ्टिङ गरी दैनिक नौ हजार ८५० लिटर पानी जम्मा गरिएको छ । 

खोनेपानी आयोजनाका लागि नगरपालिका कार्यालयको रु पाँच लाख, सोलार कार्यक्रमको रु पाँच लाख १५ हजार, रिमरेकको रु एक लाख ४४ हजार र समुदायको दुई लाख ६४ हजार जनश्रमदान तथा ६० हजार नगदबाट निर्माण सम्पन्न भएको हो । 

उनका अनुसार समुदायले १५ रोपनी जमीनमा थोपा सिँचाइ प्रविधि प्रयोग गरी तरकारी खेती गर्न सक्नेछन् । खानेपानी योजनाको मर्मत–सम्भारका लागि प्रतियुनिट १५ रुपैयाँका दरले कोष जम्मा गर्ने नीति बनाइएको छ । 





  • प्रकाशित मिति : असोज २२, २०७५ साेमबार १८:२४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया