जसलाई लाग्छ: प्रचण्डले अाफ्नाे नामबाट ‘प्रचण्ड’ हटाउनुपर्छ
तस्विर: सागर चन्द / फरकधार

उमेरले ७ दशक पार गरिसक्यो । आँखाले टाढाको मात्रै होइन नजिकको पनि देख्न छाडिसके । हिँडदा पनि लौरीको साहारा चाहिन थालिसक्यो । कपाल फुलेर सेतै भईसके, दाँत झरीसके । तर, भरतलाल अग्रवालको जोस र जाँगर भने २५ वर्षे युवाको भन्दा कम छैन । 

बत्तिसपुतलीको कोठामा भरतलाल अग्रवाल बिहानै ५ बजे बिउँझन्छन । भान्सामा गएर आफैं चिया पकाउँछन । परिवारका अन्य सदस्य बिउँझने समयसम्म उनी दुई कप चिया खाईसक्छन् । पत्रिका पढिसक्छन् ।

धेरैजसो उनी द्धारिकाज होटल अगाडीको चियासपसलमा बसेर पत्रिका पढ्छन् । पत्रिकामा मन परेका समाचार कटिङ गरेर पनि ल्याउँछन । कहिलेकाँही पत्रिका पनि किनेर ल्याउँछन् ।

पत्रिका र टेलिभिजन अग्रवालका बुढेसकालका साथी हुन् । यीनैको सहारामा उनी दिन बिताउँछन् ।

भारतको दरभंगका र कोलकत्ताबाट आईएस्सी गरेका अग्रवालको विशेष रुची वनस्पती विज्ञानमा छ । त्यसैले होला उनी दिनभर पशुपति, गौशाला क्षेत्रका रुखका पात संकलन गरिबस्छन् । कतिपय रुखका पात उनी गोजीमै बोकेर हिँड्छन । ‘अब त बुढो भईगएँ धेरै हिँड्न सक्दिन् ।’ अग्रवालले सर्टको गोजीबाट अम्बाको पात निकाल्दै भने । अम्बा र रुद्राक्षको पातमा चुना मिसाएर चपाउँदा ग्याँस्टिक निको हुने अग्रवालको ठहर छ ।



बत्तिसपुतलीमा परिवारसहित बस्दै आएका अग्रवालकी श्रीमती सुलोचना श्रीमानको व्यवहारले चिन्तित हुन्छिन् । ‘बुढो भइसक्नुभयो, कता–कता हिँड्नुहुन्छ । घर फर्किदा चोट लगाएर फर्किनुहुन्छ ।’ सुलोचनाले भनिन् । सुलोचनाले भनेको कुरा धेरै हदसम्म सत्य पनि हो । सोमबार मात्रै पनि उनी गौशाला हुलाक कार्यालय अगाडीको बाटोमा लडेका थिए । उनको हातमा सामान्य चोट पनि लागेको छ ।

‘आँखा कम देख्छु, हिँड्दा खुट्टा पनि काम्छन । अनि बाहिर निस्कदा मन हलुंगो हुन्छ । तर, जिउ हलुंगो हुँदैन ।’ अग्रवालले हाँस्दै सुनाए । अग्रवालका बुहारी र श्रीमती उनलाई घरबाट धेरै बाहिर ननिस्कन आग्रह गर्छन् । तर, अग्रवाल ठान्छन उनको शरिर मात्रै ७० वर्ष पुगेको हो । ‘मेरो मन र मस्तिष्क त अझै ४० वर्षको छ ।’ अग्रवाल भन्छन् ।



रातभर अक्सफोर्ड डिक्सनरी पढेर बस्ने उनको बानीले आजित भएकी सुलोचनाले डिक्सनरी नै लुकाईदिइन् । ‘रातभर किताब पढ्नुहुन्छ । आफ्नो मात्रै होइन मेरो पनि निन्द्रा बिग्रन्छ ।’ सुलोचनाले डिक्सनरी लुकाउनुको कारण सुनाइन् ।  

अग्रवाल भने डिक्सनरीमा वनस्पती शास्त्रसँग सम्बन्धित शब्दको अर्थ खोज्छन । युवा छँदा अग्रवाल लाहानमा जडीबुटी व्यापार गर्थे । त्यसैले पनि उनी धेरै प्रकारका जडिबुटिसँग परिचित छन् । श्रीमतीले डिक्सनरी लुकाईदिएपछि अग्रवालले सानो डिक्सनरी किनेका छन् । तर, त्यो डिक्सनरी उनका लागि पर्याप्त भने छैन ।

बिहान ५ बजेदेखि सक्रिय रहने अग्रवाल साँझ ८ बजे ओच्छ्यानमा जान्छन । अनि महिना दिनमा गौशाला हुलाक पनि पुग्छन् । हुलाक पुगेर उनी महिनैपिच्छे १० रुपैयाँ खर्च गर्छन् । २ रुपैयाँ खामको र ८ रुपैयाँ साधारण डाँकको । अग्रवालले यसरी महिनैपिच्छे पत्र पठाउनुपर्ने मान्छे त कोही छैन । उनका परिवारका सबै सदस्य यतै छन् । तर, पनि उनी महिनैपिच्छे हुलाकबाट विभिन्न ठेगानामा पत्र पठाईरहन्छन् । खासमा उनी देश विदेशमा रहेका मान्छे र कम्पनीको नाममा पत्र लेख्छन् । 

अग्रवाल बिहानदेखि नै पत्रिका र टेलिभिजनमा समाचार पढ्छन, हेर्छन् । अग्रवाल समाचार मात्रै होइन, विज्ञापन पनि उत्तिकै मिहिन तवरमा पढ्छन । समाचार र विज्ञापनले नै अग्रवाललाई पत्र लेख्न बाध्य बनाउँछ । समाचार तथा विज्ञापनमा आउने विषयले उनलाई पत्र लेख्न लगाउछन् ।

‘समाचारले मलाई दुःखी बनाउँछ । अनि विज्ञापनले त हामी जस्ता मान्छेलाई ढाँट्छ’ अग्रवालले सुनाए‘ अलि अगाडी युनिलिभर कम्पनीले आफ्नो साबुन मात्रै संसारको उत्कृष्ट साबुन भन्दै प्रचार गर्यो । अब उसलाई हाम्रो रखानी र रिठ्ठाको बारेमा थाहा छैन ।’ यसरी समाचार र विज्ञापनले मानिसलाई दुःखी बनाएको ढाँटेको देखेपछि उनी पत्र लेख्न तम्सिन्छन । 

अहिले भारतमा चर्चा कमाईरहेको पतञ्जलीलाई उनले आर्युवेदको विषयमा पत्र लेखेका थिए । पतञ्जलीले उनको पत्रको जवाफ नदिएपनि युनिलिभरले भने उनको पत्रको जवाफ दिएको थियो ।

अग्रवालले मोबाईलबाट आउने किरणको असर कम गर्न सनपाटको खोल प्रयोग उचित हुने ठहर गर्दै एउटा नेपाली टेलिभिजनलाई पत्र लेखे । सिरिया तथा अरब देशमा हुने गरेको हिंसाले अग्रवालको मन छुन्छ । अनि उनी संसारभरका मानवलाई सम्बोधन गर्दै पत्रिकाको लागि पत्र लेख्छन् । मानवता जोगाउन अपिल गर्दै उनी मानवलाई सम्बोधन गर्दै पत्र लेख्छन् ।

यति मात्रै कहाँ हो र, उनले गत वर्ष भएको निर्वाचनमा निर्वाचन आयोगका तत्कालिन प्रमुख निर्वाचन आयुक्तलाई समेत पत्र लेखे । निर्वाचन आयोगलाई लेखिएको उनको पत्रमा नेताहरुका अभिव्यक्तिले निर्वाचन विथोलिने डर देखिएकाले निर्वाचन आयोगलाई कडा रुपमा प्रस्तुत हुन आग्रह गरेका छन् ।

उनले खाद्य गुण तथा प्रविधि नियन्त्रण विभागको नाममा पनि पत्र लेखेका छन् । विभागलाई लेखिएको पत्रमा उनले विभागले बजारमा रहेका खाद्यान्नमा अखाद्य वस्तु रहेको र अनुसन्धान गर्न विभागलाई आग्रह गरेका छन् । पत्रमा उनले विभागले पाउडर दुध आयातमा लगाएको प्रतिबन्ध राम्रो भएको पनि लेखेका छन् । 

सोमबार मात्रै उनले उप–प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई एउटा पत्र लेखेका छन् । उनी गौशाला यादवलाई पत्र पठाउन नै गएका थिए । यादवसँग उनका केही गुनासा छन् । र, केही माग पनि । गुनासो यो छ कि यादव मधेसकै नेता भएर पनि मधेसी जनतको लागि केही गर्न सकेनन् । बरु उल्टै मधेस र पहाडबिच फाटो ल्याउने काम भयो । 

नेपाल भारत डाँक शुल्क घटाउनु पर्ने उनको माग हो । विज्ञान प्रविधिको यो द्रुत युगमा अग्रवालको माग सान्र्दभिक नदेखिएपनि उनले युनिलिभर र पतञ्जलीलाई नेपालबाट पत्र पठाउँदा एउटा पत्रको ३५ रुपैयाँ तिर्नुपर्यो । उनलाई लाग्छ तराई मधेसका धेरै मान्छे अझै पनि भारतमा रहेका आफन्तसँग पत्र व्यवहार गर्छन । त्यसैले प्रतिपत्र ३५ रुपैयाँ शुल्क घटाउनुपर्छ । ‘हाम्रो समयमा भारतमा एउटा डाँक पठाएको पाँच पैसा तिर्नु पथ्र्यो ।’ अग्रवालले ३० वर्ष अगाडीको कुरा सम्झिए ।

उनले यादवलाई पत्र लेख्नुको अर्को कारण पनि छ । त्यो कारण हो प्रधानमन्त्री केपी शर्मा ओली अमेरीका भ्रमणमा जाँदा यादवलाई कार्यवाहक प्रधानमन्त्री नतोक्नु । अग्रवालाई लाग्छ ओली अझै मधेसीमाथि विश्वास गर्दैनन् । यदि विश्वास गर्दा हुन त यादवलाई कार्यवाहक प्रधानमन्त्री बनाउँदा हुन् । उपेन्द्र यादव, इश्वर पोखरेल दुवै उपप्रधानमन्त्री हुन् । ओली अमेरीका भ्रमणमा गएको समयमा इश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा दिएर गएका थिए ।

यस्तै एउटा अर्को पत्र छ अग्रवालले प्रचण्डको नाममा लेखेको । गत वर्ष कार्तिक ७ गते लेखिएको यो पत्रमा उनले पुष्पकमल दाहाल, ‘प्रचण्ड’ लाई आफ्नो नामबाट ’प्रचण्ड‘ हटाउन आग्रह गरेका छन् । उनको नाममा रहेको प्रचण्ड शब्दले उनको असली नाम पुष्पकमलको भाव अर्थ मरेको अग्रवालको ठम्याई छ । पुष्पकमलको अर्थ हुन्छ हिलोमा फुल्ने सुन्दर फूल । ‘अब यस्तो राम्रो नाम (पुष्पकमल) मातापिताले दिएकै छन् भने किन त्यो उग्रभावको ‘प्रचण्ड’ नाम राख्नु,’ अग्रवालले भन्छन ।

अग्रवालले एक राष्ट्रिय दैनिकमार्फत प्रचण्डलाई आफनो नाम फेर्न सुझाएका थिए । तर, दुर्भाग्य उक्त पत्रिकाले अग्रवालको पत्रलाई स्थान दिएन । अग्रवाल यसरी पत्र लेखिसकेपछि गौशाला हुलाका कार्यालयमा गएर पठाउँछन् । उनी जान्दैनन उनले यसरी पठाएका पत्र सम्बन्धित व्यक्तिसम्म पुग्छन की पुग्दैनन । किनभने उनले आजसम्म कसैबाट जवाफ पाएका छ्रैनन् । 

उनका पत्रको कसैले जवाफ दिएपनि नदिएपनि उनलाई कुनै गुनासो छैन । किनभने पत्रिका पढ्नु, टेलिभिजनमा समाचार हेर्नु र चित्त नबुझेका तथा बुझेका विषयमा सम्बन्धितलाई सम्बोधन गर्दै पत्र लेख्नु उनको दैनिकी बनेको छ । ‘बुढेसकालमा अरु काम पनि केही छैन । मेरो काम नै पत्र लेख्नु हो ।’ अग्रवालले सुनाए ।

उनको पत्रको अर्को विशेषता पनि छ । उनी पत्रको शिरमा ‘श्री गणेशाय नमः’ लेख्छन । र त्यसैको किनारमा ‘७८६’ पनि लेख्छन । किन लेख्छन त यस्तो ? 
अग्रवालको जवाफ छ – ‘७८६ मुस्लिमहरुको पवित्र अंक हो । अनि केही कुरा सुरु गर्दा गणेशलाई सम्झिनु हिन्दुको संस्कार हो ।’

  • प्रकाशित मिति : असोज २३, २०७५ मंगलबार १२:४४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया