सालकको खपटासहित पक्राउ

चरिकोट- संरक्षित वन्यजन्तु सालकको खपटासहित दोलखा प्रहरीले दुईजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्ला कमलामाई नगरपालिका–३ बस्ने २३ वर्षीय अर्जुन देवकोटा र १९ वर्षीय सौरभ गोले रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । उनीहरुको साथबाट दुई केजी ९ सय ग्राम संरक्षित वन्यजन्तु सालकको खपटा प्रहरीले बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटेको टोलीले भीमेश्वर नगरपालिका–३ स्थित लामाचौर आसपासको महादेव मन्दिरबाट उनीहरूलाई पक्राउ गरेको थियो । अर्जुन देवकोटाले भिरेको झोला प्रहरीलाई शङ्कास्पद भई रीतपूर्वक खानतलासी गर्दा झोलाभित्र निलो प्लास्टिकमा पोको पारी राखेको अवस्थामा दुई केजी ९ सय ग्राम सालकको खपटा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई डिभिजन वन कार्यालयमा बुझाइने प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताए । 

जिल्ला प्रहरी कार्यालय दोलखाले मात्र २०७१ असोज २२ गतेदेखि हालसम्म विभिन्न मिति तथा स्थानबाट १० केजी ८ सय ग्राम सालकको खपटा बरामद गरेको छ । गत साउन २५ गतेमात्र भीमेश्वर नगरपालिका–७ निवासी होमबहादुर थापालाई ३८० ग्राम सालकको खपटासहित पक्राउ गरेको थियो । 

दोलखामा सालकको खपटा ओसारपसार तथा बेचबिखन गर्ने गिरोहको समूह बढ्दै गएको र त्यसको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले बताए ।





  • प्रकाशित मिति : असोज २३, २०७५ मंगलबार १३:५१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया