आज घटस्थापना, घरघरमा जमरा राखिँदै

काठमाडाै‌ं–नेपालीहरुको महानपर्व विजयादशमीको पहिलो दिन आज घटस्थापना । यस दिन घर तथा मन्दिरहरुमा जमरा राख्नुका साथै कलश स्थापना गरिन्छ ।

आजैबाट नवरात्री सुरु हुन्छ । बिहानै शरीर शुद्ध गरी नदी, खोलाको छेउबाट चोखो बालुवा वा पञ्चमाटो ल्याई घरको पूजाकोठा वेदी बनाएर त्यसमा जौको जमरा उमारिन्छ । 

यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । दुर्गादेवीले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजा आराधना गर्ने शास्त्रीय नियम छ । 

‘दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण छैन, यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाइन्छ’–धर्मशास्त्रविद्हरु बताउँछन् । 

देवीलाई जौ(यव) को जमरा सबैभन्दा मनपर्ने वनस्पती भएको विश्वासमा दशैंमा टिकासँगै जमरा लगाइन्छ । जमरालाई शितलताको प्रतीकका रुपमा लिइन्छ । शिरमा लगाइएको जमराले मानसिक शान्ति समेत मिल्ने विश्वास छ ।

घटस्थापनाको साइत बिहान ७ : १५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापनाको उपलक्ष्यमा काठमाडौंको हनुमानढोका दरबारमा रहेको दशैंघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वती लगायत नवदुर्गा र अन्य देवीदेवताहरुको पूजा गरिन्छ । 

घटस्थापनाको दिनदेखि नवमीसम्म नवदुर्गाको पूजा तथा साधना गरिन्छ, शङ्ख, डमरु, घण्टी आदि बजाएर दुर्गासप्तशती, स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत आदि पाठ गरिन्छ । पूजा गरिसकिएपछि प्रत्येक दिन बलि दिनु अनिवार्य रहेको शास्त्रीय विधानमा उल्लेख गरिएको छ । 





  • प्रकाशित मिति : असोज २४, २०७५ बुधबार ७:३६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया