लहान- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले संसदमा टेबुल गरेको विधेयकहरू पारित भएपछि प्रदेशमा विकास र निर्माणले गति लिने बताएका छन् ।
सिरहाको कल्याणपुर नगरपालिकास्थित चिकना बजारमा मङ्गलबार आयोजित पार्टी प्रवेश एवं शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारले संसदमा करार विधेयक, प्रहरी विधेयकलगायतका विधेयक ल्याएको बताए ।
सङ्घीय सरकारले आवश्यक कर्मचारी नपठाउँदा विकास निर्माणको काम प्रभावकारी हुन नसकेको बताउँदै सङ्घीय सरकारले प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण नगरे प्रदेशले आफ्नै प्रहरी प्रशासन स्थापना गर्ने बताए ।
प्रहरी ऐनमाथि सदनमा छलफल सुरु भइसकेकाले यसै साता पारित हुने उल्लेख गर्दै मुख्यमन्त्री राउतले ऐन पारित भएलगत्तै प्रदेश प्रहरी गठनको औपचारिक प्रक्रिया सुरु हुने उनले उल्लेख गरे ।
कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, पार्टीका उपमहासचिव प्रकाश अधिकारी, केन्द्रीय सदस्य एवं पूर्वसभासद डा वीरेन्द्र महतो, केन्द्रीय सदस्य अशेश्वर यादवसहितको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा नेकपा, काङ्ग्रेस र राजपालगायतका विभिन्न पार्टीबाट सङ्घीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकालाई मुख्यमन्त्री राउतले फूलमाला लगाई पार्टीमा स्वागत गरेका थिए ।
नगरप्रमुख सवार गाडीमा ढुङ्गामुढा
सिरहाको कर्जन्हा नगरपालिकाका प्रमुख गङ्गा पासवान सवार गाडीमा अज्ञात समूहले हिजो साँझ ढुङ्गामुढा गरी तोडफोड गरेकाे छ। नगरपालिकाको परिषद्को बैठक सकिएपछि नगरप्रमुख पासवान बाहिर जान लाग्दा उनी सवार ना१झ १६३९ नम्बरकाे स्कारपियोमा एक समूहले ढुङ्गामुढा गरी सिसा फुटाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
ज्यान मार्ने उद्देश्यले योजनाबद्ध रूपमा आफूमाथि आक्रमण गर्न खोजिएको नगरप्रमुख पासवानको भनाइ छ । ढुङ्गामुढा गर्ने समूहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।