दुर्व्यसनीको अड्डा बन्दै भण्डारखाल बगैंचा

काठमाडौं– गौशाला चोकभन्दा केही पर छ भण्डारखाल बगैंचा । गौशालाको सडकमा चल्ने सवारीसाधनको चर्को ध्वनि र सडकबाट उड्ने धूलोधूवाँबाट मुक्ति पाउन मानिस यो बगैंचामा आउने गर्छन् ।

त्यसो त यो बगैंचाको आफ्नै इतिहास पनि छ । ‘भण्डारखाल पार्क’को नामले परिचित यो बगैंचामा नेपाली इतिहासको त्रूmर घटना भएको भन्ने धेरैलाई थाहा छैन । अर्थात् यहाँ जंगबहादुरलाई शक्तिमा ल्याउने ‘भण्डारखाल पर्व’ भएको थियो । वि.सं. १९०३ कात्तिक १२ गतेको भण्डारखाल पर्वपछि तत्कालीन रानी राज्यलक्ष्मीलाई देशनिकाला गरी बनारस धपाइएको थियो ।

राणाहरूको कब्जामा रहेको यो क्षेत्र अहिले पशुपति विकास कोषको मातहतमा छ । गिर्वाणविक्रम शाहले गोरखनाथ, विश्वरूप, किरातेश्वर, गुह्यश्वरी र भण्डारखालसहितको दुई हजार रोपनी जमिन पशुपतिनाथ मन्दिर लाई दान दिएका थिए । 

पशुपति विकास कोषको नियन्त्रणमा आएको यो भण्डारखाल बगैंचा अहिले भग्न अवस्थामा पुगेको छ । बगैंचाको वरिपरि लगाइएको पर्खाल भत्किएको छ । यति मात्रै होइन, बगैंचाभित्रका रूख ढलेका छन् । 

यो बगैंचाको दक्षिण–पश्चिम किनारबाट काठमाडौं उपत्यकामा सूर्यास्त भएको मनोरम दृश्य देख्न सकिन्छ । र, काठमाडौंको दृश्यावलोकनका लागि पनि यो बगैंचा उपयुक्त हुने देखिन्छ । तर मानिसहरू बगैंचामा टहल्न जानै डराउँछन् । पछिल्लो समय यो बगैंचा लागूपदार्थ दुव्र्यसनीको अड्डा बनेको छ । 

बगैंचाको दुरवस्था देखेर विकास कोषले २०७२ सालमा बगैंचा सुधार गर्ने योजना पनि बनाएको थियो । २०७२ को बगैंचा सुधार कार्यक्रम कोषले मर्निङ वाकका लागि बाटो बनाउनेबाहेक अरू केही काम गर्न सकेन । दुई वर्षको बगैंचा सुधार कार्यक्रममा कोषले सामान्य बाटो बनाउनेबाहेक अरू केही काम गर्न सकेन । तीन करोड लागतको यो परियोजनाले मात्र एउटा बाटो बनायो । 



कोषले बगैंचा सुधार कोष कार्यक्रमअन्तर्गत रहेर बाटो बनाउने बताए पनि कोषकै योजना विभाग निर्देशक भने बगैंचा सुधार कार्यक्रमप्रति बेखबर छन् । ‘बगैंचामा देखिएका सानातिना समस्या हामी नै समाधान गर्ने गर्छौं । तर, बगैंचा सुधारकै लागि भनेर कुनै कार्यक्रम आएको मलाई जानकारी छैन,’ योजना विभागका निर्देशक भरत मरासिनीले भने ।

निर्देशक मरासिनीका अनुसार भण्डारखालमा बाटो बनाउने काम पनि कोषका सदस्यसचिव प्रदीप ढकालको निर्देशनमा भएको हो । बगैंचाका भौतिक संरचना मात्रै ध्वस्त भएका छैनन् । बगैंचा फोहोर फाल्ने डम्पिङ साइट बनेको छ । 



बगैंचाको सुरक्षा गर्न नसक्दा बगैंचा फोहोर फाल्ने थलो बनेको हो । बगैंचामा रहेको फोहोरको विषयमा फरकधारले कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीसँग जिज्ञासा राख्दा उनले भने, ‘फोहोर व्यवस्थापनको काम हाम्रो होइन । फोहोर व्यस्थापनको काम महानगरको हो ।’

कोषले दुई वर्षअघि बगैंचा सुधार कार्यक्रमअन्तर्गत बनाएको मर्निङ वाक ट्रेलमा एउटा पनि शौचालय छैन । ट्रेलमा मात्रै होइन, भण्डारखाल बगैंचाभरि शौचालय छैन । बगैंचामा टहलिन आउने र मर्निङ वाकमा आउनेहरू बाटो बनाउँदा कामदारले प्रयोग गर्न बनाएको अस्थायी शौचालय प्रयोग गर्छन् ।

विकास कोषको अनुमतिबिना बगैंचाभित्र कुनै प्रकारका संरचना निर्माण गर्न पाइँदैन । तर, भण्डारखाल बगैंचाको जमिन नै लामो दूरीका सवारीसाधनको पार्किङ गर्ने स्थल बनेको छ । यसरी पार्किङ गरेर उठेको पैसा पनि कोषको खातामा जाँदैन । यसबाहेक बगैंचा अहिले गाई पाल्ने स्थल भएको छ । 

बगैंचाभित्र लिच्छविकालदेखिका संरचनाका अवशेष भेटिएका थिए । यसरी भेटिएका वस्तु पुरातत्त्व विभागमा राखिएको कोषले बताएको छ । ऐतिहासिक घटना सम्झाउने अवशेषहरूको संरक्षणमा कोषले ध्यान दिएको छैन ।
 

  • प्रकाशित मिति : असोज २४, २०७५ बुधबार १४:४९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया