सामाजिक सञ्जाल : वामदेव भर्सेस ‘मुकुन्द दाइ’

‘मुकुन्दल्यान्डको सपना साकार पारौँ,
काठमाडौं–७ को उपनिर्वाचनमा युवा उम्मेदवार मुकुन्देलाई जिताऔँ ।
श्री मुकुन्द घिमिरे, स्वतन्त्र उम्मेदवार ।’ 

मंगलबारदेखि सामाजिक सञ्जालमा यो स्लोगन भाइरल बनिरहेको छ । मान्छेहरू सामाजिक सञ्जालमा मुकुन्द घिमिरेका लागि भोट मागिरहेका छन् ।

तर थाहा छैन, चुनाव कहिले हुने हो । धेरै मान्छे अच्चमित पनि भएका छन् । एक वर्षअगाडि मात्रै चुनाव भएको थियो, फेरि चुनाव ?

हो, अब फेरि एकपटक निर्वाचन हुने भएको छ । बर्दिया–१ बाट पराजित नेकपा नेता वामदेव गौतमलाई संसद्मा ल्याउने भन्दै उपनिर्वाचन गर्ने हल्लाले अहिले राजनीति गर्माएको छ ।

नेकपाले काठमाडौं–७ बाट प्रतिनिधिसभाका लागि निर्वाचित सांसद रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर उनको स्थानमा वामदेव गौतमलाई उम्मेदवार बनाउने तयारी थालेको छ ।

नेकपाले यस्तो तयारी थालेपछि सामाजिक सञ्जालमा वामदेवको प्रतिद्वन्द्वीको रूपमा मुकुन्द घिमिरे उर्फ ‘मुकुन्द दाइ’को चर्चा चलेको छ ।



सामाजिक सञ्जालमा वसन्त घिमिरे लेख्छन्, ‘काठमाडौं–७ को चुनावी नारा, वामदेवलाई जितायौँ पटक–पटक, मुकुन्दलाई जिताऔँ यसपटक ।’ 
घिमिरे रमेश लेख्छन्, ‘वामदेव काका आफैँ बल्ड्यांग हान्छन्, मुकुन्दे त रिङमा आउनै पर्दैन ।’

आकृष नामक टिव्टर प्रयोगकर्ता लेख्छन्, ‘कस्ले देला भोट, कस्ले देला भोट, वामदेवजस्तो घन्चक्करलाई कस्ले देला भोट, मुकुन्द दाइलाई भोट हाम्रो ।’



काजीको छोरो नामका ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘स्वतन्त्र उम्मेदवार बौद्धिक व्यक्ति मुकुन्द दाइलाई जिताएर काठमाडौं–७ का जनताले परिवर्तित हतिहास रच्नुपर्छ । वामदेवभन्दा मुकुन्दे दाइ नै क्षमतावान् हुन् ।’ 

अर्याल एलिया आफ्नो ट्विटरमा लेख्छिन, ‘गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई बलिको बोको बनाएझैँ ओली–प्रचण्डले वामदेव गौतमलाई नबनाउलान् भन्न यसै सकिँदैन । अहिले वामदेवको भन्दा मुकुन्देको क्रेज बढी छ, उसले गरेका भविष्यवाणी धेरै पुगेका छन् ।’

ट्विटरमा ‘आइपासा७’ नाम लेखेका एक प्रयोगकर्ता लेख्छन्, ‘वामदेव लड्ने रे ! नलडे नि हुनी, फेरि नाकैमा घाउ होला, जिन्दगीभर दाग बस्ने गरी !’

दिलिप सापकोटा लेख्छन्, ‘दसैंमा नयाँ लुगा किन्नुको साटो ठूलो कालो कपडा किनेर मुख छोपेर बाटोमा हिड्नुपर्ने अवस्था बनायो पार्टीले !!’

रामेश्वर खनाल पनि उपनिर्वाचनमा वामदेव गौतमलाई उठाउने प्रयासको विपक्षमा देखिएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘पार्टीले मागेकाले राजीनामा दिन लागेको ! ५ वर्ष सेवा गर्छु भनेर भोट जनतासँग माग्ने, राजीनामा पार्टीलाई दिने ? ग्वाँच !’

यस्तै, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्विट गर्दै लेखेका छन्, ‘काठमाडौं–७ का निर्वाचित सांसदलाई राजीनामा गराएर बर्दियाबाट हारेका वामदेव गौतमलाई संसद्मा पुर्याउन अर्काे खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टीकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत हो । वेलैमा माथि उठेर लोकतन्त्रको रक्षा र समृद्धीकरण गरौँ !’

यता, राजनीतिक विश्लेषक तथा लेखक खगेन्द्र संग्रौला टिव्टरमा लेख्छन्, ‘न बुद्धिको सीप छ, न हातको सीप छ । न इलम छ, न सिर्जनशीलता । न इमान छ, न शरम । देखिँन, चिनिँन, दम्भ प्रदर्शन गर्न र दौलत थुपार्न सत्ताको पदै चाहिने । कनिष्ठ जितुवाको पद हरण गरी वलिष्ठ ठालु सत्तारोहण गर्ने । राजनीति र राजनीतिको नाइके भ्रष्ट हुनाको एक गाँठी कारण । बाहुबली वामदेव निर्लज्ज उदाहरण ।’


 

  • प्रकाशित मिति : असोज २४, २०७५ बुधबार १९:४५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया