कसरी व्यवस्थित गर्ने हाम्राे यातायात ?
शरद आचार्य  |  असोज २५, २०७५

काठमाडौंको सार्वजनिक यातायात कष्टकर छ । दैनिक प्रयोग गर्नुपर्ने सार्वजनिक यातायात सुविधाजनक छैन । अहिले काठमाडौं उपत्यकामा करिब सयवटा जति समिति तथा कम्पनीले सार्वजनिक यातायात सेवा दिने गर्छन् । यति धेरै सार्वजनिक यातायत सेवा दिने कम्पनी, समिति भए पनि उपत्यकाको सार्वजनिक यातायत भने सहज छैन ।

सार्वजनिक यातायात सहज नहुनुको पहिलो कारण अवैज्ञानिक रुट विभाजन हो । उपत्यकामा साना, मझौला र ठूला सबै प्रकारका सवारी एउटै रुटमा सञ्चालन हुने गर्छन् । रुट विभाजन र नम्बरिङ गर्नुपर्छ । यसका लागि तीन तहका रुट छनोट गर्नुपर्छ– प्राइमरी, सेकेन्डरी र टर्सियरी । प्राइमरी रुट भनेको मूल सडक । उदाहरणका लागि चक्रपथ । माइतीघरदेखि कोटेश्वर वा कोटेश्वरदेखि सूर्यविनायक । सेकेन्डरी रुटमा प्राइमरी रुटसँग जोडिने सडक र टर्सरी रुटमा प्राइमरी र सेकेन्डरी दुवै सडकसँग नजोडिने सडक राख्नुपर्छ । सार्वजनिक सवारी साधनको यात्रु क्षमताअनुसार सवारी साधनलाई निश्चित रुट तोक्नुपर्छ । 

प्राइमरी रुटमा ५० सिट क्षमता वा सोभन्दा धेरै सिट क्षमता भएका सवारी सञ्चालन गरिनुपर्छ । प्राइमरी रुटमा चल्ने ठूला सवारीसाधनले एकैपटकमा धेरै यात्रु ओसार्न सक्ने हुनुपर्छ । सेकन्डरी रुटमा २५ देखि ५० सिट क्षमताका सवारी सञ्चालन गरिनुपर्छ । सेकेन्डरी रुटमा सञ्चालन हुने सवारीसाधनले प्राइमेरी रुटसम्म यात्रुलाई पुर्याउने र प्राइमेरी रुटबाट लाने गर्छन् । यसैगरी, टर्सरी रुटमा २५ भन्दा कम सिट क्षमता भएका सवारीसाधन सञ्चालन गरिनुपर्छ । टर्सरी रुटले विशेषगरी आन्तरिक गल्लीमा मात्रै यात्रु ओसार्नेछन् । टर्सरी रुटमा सञ्चालन हुने सवारीसाधनले सेकेन्डरी रुटसम्म यात्रुलाई पु¥याउने र सेकन्डरी रुटबाट यात्रुलाई ल्याउनेछन् ।

टर्सरी रुटसँग जोडिएका सेकेन्डरी रुटले प्राइमेरी रुटसम्म यात्रु ओसार्छन् अनि प्राइमेरी रुटले मूल सडक र मूल सडकबाट सेकेन्डरी रुटसम्म पुग्ने यात्रु ओसार्छन् । यसरी सार्वजनिक यातायातलाई चेन सिस्टममा ल्याउन सकिन्छ । उपत्यकाको सार्वजनिक सवारी यात्रा सहज बनाउने यो पहिलो विकल्प हो । 

यसरी रुट विभाजन गर्दा मूल सडकमा हुने सवारी जाम पनि कम हुन्छ । अहिले कस्तो भएको छ भने चक्रपथमा माइक्रोबस, मिनिबस, ठूला बस, टेम्पोजस्ता सबै सवारीसाधन सञ्चालन हुन्छन् । यसले सडकमा सवारी चाप अत्यधिक बढाएको छ । मूल सडकमा सवारी चाप बढ्दा यसको असर अन्य सडकमा पनि पर्छ । अहिले ५० सिट क्षमताको बस र १० सिट क्षमताको टेम्पो एउटै रुटमा चल्छन् । अब यो परिवर्तन गर्नुपर्छ । यातायात व्यवस्था विभागले पुसबाट उपत्यका रुट विभाजन गर्ने काम सुरु गर्ने योजना पनि बनाएको छ ।

रुट विभाजन गरेर सवारी सञ्चालन गर्दा एकरुपता पनि हुन्छ । सवारीसाधनलाई रुट इजाजत दिने बेला पनि अब होस पु¥याउनुपर्छ । कुन रुटमा कति यात्रुको चाप हुन्छ त्यहीअनुसार उक्त रुटमा चल्ने सवारीसाधनको संख्या तोक्नुपर्छ । अहिले कस्तो छ भने कुनै रुटमा अत्यधिक सवारीसाधन छन्, कुनैमा थोरै छन् । यात्रुको चाप र कुन सडक हो त्यहीअनुसार रुटमा चल्ने सवारीसाधनको संख्या तय गर्नुपर्छ । यसरी रुट विभाजन गर्दा यात्रुलाई पनि सहज हुन्छ । गाडीमा लेखिएको रुट नम्बर हेरेरै यात्रुले सहजै थाहा पाउन सक्छन्, गाडी कता जाने हो भनेर । नभए अहिलेजस्तो सहचालक चिच्च्याइरहने हुन्छ । 

पहिलो चरणमा रुट निक्र्योल गरिसकेपछि दोस्रो प्राइमेरी रुटमा चल्ने सवारी साधनलाई प्रविधिमैत्री बनाउनुपर्छ । जिपिएस ट्रयाकिङ र डिजिटल डिस्प्ले राखिनुपर्छ । डिजिटल डिस्प्लेले सवारीसाधन कहाँ पुग्यो भनेर देखाउँछ, त्यसैमा जोडिएको स्पिकरले गाडी कहाँ पुग्यो भनेर पनि भन्छ । यसले यात्रु र सहचालक दुवैलाई सजिलो हुन्छ । अनि रह्यो जिपिएस ट्र्याकिङ । यो सिस्टममा रहेर ट्राफिक प्रहरीले सवारीसाधनको अवस्था र गति थाहा पाउन सक्छन् भने यात्रुले पनि एपको माध्यमबाट आपूm चढ्ने सवारी कहाँ पुग्यो र कतिखेर आइपुग्छ भन्ने कुरा सहजै थाह पाउन सक्छन् । सवारीसाधन एउटै सर्भरमा आए भने सवारीमाथि सरकारको नियन्त्रण रहन्छ ।

तेस्रो समस्या हो– बसपार्क । उपत्यकामा चल्ने सवारीसाधनका लागि पर्याप्त बसपार्क छैनन् । रत्नपार्क, भक्तपुर र लगनखेलमा ससाना बसपार्क छन् । यी बसपार्कहरू व्यवस्थित छैनन् । सार्वजनिक सवारीसाधन सुधार गर्न बसपार्क सुधार जरुरी छ । एउटा सवारीचालक र सहचालक बिहानैदेखि सवारी चलाउन खटिएको हुन्छ । उसका लागि खाने, बस्ने र आराम गर्ने सबै थलो गाडी नै हुन्छ । यसले सवारी चालक र सहचालकको मनोविज्ञान र आफ्नै पेसाप्रति हीनताबोध गराइरहेको हुन्छ । बसपार्कमा एउटा शौचालय, चालक र सहचालकका लागि आराम कक्ष बनाउनुपर्छ । 

सवारीसाधन दिनभर सडकमा गुड्छन तर राति कहाँ लगेर राख्ने भन्ने समस्या छ । अहिले पनि धेरैजसो सवारीसाधन राति सडक किनार तथा गल्लीमा पार्क गरिएको भेटिन्छ । यसरी सडकमा सवारी पार्क गर्दा सवारीसाधनको सुरक्षा मात्रै होइन सडक सुरक्षामा पनि खलल पर्छ । तसर्थ, सवारीसाधन पार्किङका लागि सवारी पार्किङ अनिवार्य व्यवस्था गरिनुपर्छ । बसपार्क भयो भने सवारी सञ्चालन प्रणाली पनि व्यवस्थित हुन्छ । निश्चित समयदेखि सवारी चलाउन सुरु गरेर निश्चित समयसम्म सवारी चलाउने भन्ने समयतालिका पनि बनाउन सकिन्छ । यातायात मजदुरको पनि रुटिन सहज बन्छ ।

अब रह्यो यात्रु पिकअप र ड्रप पोइन्टको समस्या । यात्रु पिकअप र ड्रप समस्या उपत्यकाका सबै सडकमा छ । दुर्भाग्य भन्नुपर्छ, सडक बनाउँदा हामीले पिक अप र ड्रप पोइन्ट बनाएनांै । एउटा सानो पोलमा बस स्टेसन लेखेर मात्रै टाँस्याैं । यति लेखेर टाँस्दैमा बस स्टेसन हुँदैन । अहिले उपत्यकामा हुने सवारी जामको एउटा प्रमुख कारण हो सडकमा पिक अप र ड्रप पोइन्ट नहुनु हो । 

यात्रु चढेपछि ओर्लिर्नैपर्छ र यात्रु चढ्नै पनि पर्छ । सडकमा यात्रु चढाउन गाडी रोक्यो पछाडि गाडीको लाम लाग्छ । अर्थात् मूल सडकमै यात्रु चढाउनुपर्छ र ओराल्नुपर्छ । यसले सवारी जाम मात्रै बढाएको छैन, सडक प्रयोगकर्तालाई असुरक्षित पनि बनाएको छ ।

तीनकुने–भक्तपुर सडकखण्डमा मूल सडकमै केही फराकिलो स्थान बनाएर यस्तो पिक अप ड्रप पोइन्ट बनाइएको छ । तर, यो पर्याप्त छैन । तीनकुने–माइतीघर सडक, सुनधारा, भद्रकाली टर्निङ, पुतलीसडक, त्रिपुरेश्वर, भृकुटीमण्डप, जोरपाटीजस्ता स्थल केही प्रमुख उदाहरण हुन् । अति व्यस्त रहने यी सडकमा सडक जाम गरेरै यात्रु चढनुपर्ने र ओर्लिनुपर्ने बाध्यता छ । 

यस्तो समस्या यातायात व्यवस्था विभाग एक्लैले समाधान गर्न सक्दैन । यसका लागि सडक विभाग र यातायात व्यवस्था विभागले सहकार्य गर्नुपर्छ । भोलिका दिनहरूमा सवारीसाधनको संख्या थपिँदै जान्छ । यसरी सडकमै यात्रु चढाउँदा र ओराल्दा सडक जामसँगै जोखिम पनि बढछ् । 

यसरी निश्चित स्थलमा पिक अप र ड्रप पोइन्ट नहुँदा यात्रु र सवारी चालक दुवै दोधारमा पर्छन् । यात्रु जहाँ पनि चढ्न सक्छ, जहाँ पनि ओर्लिन सक्छ । अनि सवारी चालकले पनि जहाँबाट पनि यात्रु चढाउन र ओराल्न सक्छ । त्यसपछि फुटपाथ सुधार गर्नुपर्छ । भएका फुटपाथ व्यवस्थित गर्ने र नभएका स्थलमा फुटपाथ बनाउनैपर्छ । फुटपाथ नभएका सडक जोखिमपूर्ण सडक हुन् ।

एउटा अर्को समस्या छ उपत्यकाको सार्वजनिक सवारी प्रणालीमा । त्यो समस्या हो केन्द्रीकृत प्रणाली । अर्थात् अहिले धेरैजसो सवारीसाधनको मुख्य केन्द्र हुन्छ रत्नपार्क । बनेपाबाट आउने गाडी पनि सिधै रत्नपार्क पुग्छ, कीर्तिपुरबाट आउने गाडी पनि, थानकोटबाट आउने गाडी पनि रत्नपार्क, बूढानीलकण्ठ, साँखु र गोदावरीबाट आउने गाडी पनि रत्नपार्क नै पुग्छन् । अब यसो गरिनुहुन्न । जस्तो बनेपाबाट आउने गाडी तीनकुनेबाट फर्कियोस्, गोदावरीबाट आउने गाडी सातदोबाटो वा लगनखेलबाट फर्कियोस् । अब लागू हुने रुट प्रणालीले यस्तै व्यवस्था गर्नुपर्छ । धेरै मान्छेले रोजगार पाउँछन, सार्वजनिक सवारी साधन व्यवस्थित हुन्छन् । 

(आचार्य यातायात व्यवस्था विभागका इन्जिनियर हुन् ।)
 



यो पनि नछुटाउनुहोस्